युट्युबमा रुचाइएका तीजका १५ गीत

सुस्मिता बजगाईं १७ भदौ २०८१ ११:१३
114
SHARES
युट्युबमा रुचाइएका तीजका १५ गीत

काठमाडौँ– यस वर्ष पनि तीजको अवसर पारेर बजारमा विभिन्न प्रकारका गीत सार्वजनिक भएका छन्। तीमध्ये केही गीतमात्रै दर्शकको रोजाइमा पर्न सफल भए। लोकदोहोरी शैलीका गीतले भन्दा बिहे गरेर गएकी छोरीले भोगेको जीवन, बुहार्तन, देशको समसामयिक अवस्थालाई चित्रण गरिएका गीत सफल देखिएका छन्। साथै तीजमा केही गीतले मात्र श्रोतादर्शकको प्यास मेटेको स्रष्टाहरूको मूल्यांकन छ।

युट्युब च्यानल तीज लक्षित गीतले भरिभराउ छन्। आधा दर्जनभन्दा बढी तीज गीत शीर्ष स्थानमा छन्। गीतसंगीतको बाढीमा केही ‘फोहोर’ पनि आएका छन्। त्यस्ता गीतले विकृति भित्र्याएको भनेर नाम चलेका गायकागायिका आलोचनाको सिकार बने। युट्युबमा यस्ता गीत पनि धेरै हेरिएका छन्। पछिल्लो समय युट्युबमा हेरिएको आधारमा गीतको लोकप्रियता मापन गर्ने गरिएको छ।

दर्शकको रोजाइमा नयाँ गायकगायिका आउन सकेनन्। कतिपय गायकागयिकाले धेरैवटा गीतमा स्वर दिएर पनि त्यति सफल देखिएनन्। सबैले रुचाउने गायिकामा यस वर्ष पनि विष्णु माझी देखिएकी छन्। उनको ‘आइन आमा यो तीजमा’ गीत उत्कृष्टमध्ये एकमा छ। युट्युबमा सोमबारसम्म उक्त गीत ९८ लाखभन्दा बढीले हेरेका छन्।

प्रस्तुत छ युट्युबमा धेरै रुचाइएका केही गीत :

१. आइन आमा यो तीजमा

विष्णु माझीको स्वरको ‘आइन आमा यो तीजमा’ पुतलीको भट्टी-२० यस वर्ष धेरैले मन पराएका छन्। छोटो समयमा सबैभन्दा बढी हेरिएको गीत करोड क्लबको नजिक पुगेको छ। गीत २४ अगस्टमा सार्वजनिक भएको हो।

सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतमा तीजमा माइत जान नपाइकी चेलीको वेदना समेटिएको छ। आमाको वचन मानेर घर सम्हालेर बसिरहेको भन्दै गाउँको सम्झनामा बालापनमा फर्किन चाहना भएको, आमाको आँगन टेक्ने मन भएकोजस्ता शब्द गीतमार्फत व्यक्त गरिएको छ। सुन्दरमणिकै निर्देशनमा बनेको गीतको भिडियोमा ललिता पौडेलको नृत्य छ।

२. काली पसम कि

जुलाई १९ मा सार्वजनिक ‘काली पसम कि’ युट्बयुमा दोस्रो रुचाइएको गीत हो। गीतलाई सोमबारसम्म युट्युबमा ५९ लाखभन्दा बढीले हेरेका छन्। शान्तिश्री परियारको स्वर रहेको गीतमा नारी वेदना समेटिएको छ। पति र परिवारबाट दुर्व्यवहार सहेर घर चलाइरहेकी छोरीले आमासँग वेदना पोखेकी छन्।

माइतीले दिएको घरमा परिवारले जस्तै दुःख दिए पनि सहेर बस्न बाध्य महिलाको पीडालाई गीतमार्फत व्यक्त गरिएको छ। गीत प्रेम सापकोटा ‘सोनु’ को शब्द र संगीत बनेको हो। गीतको भिडियोमा स्मारिका ढकाल र जोन बम ठकुरीको अभिनय छ।

३. बिस्ताराले पाल्यो

शान्तिश्री परियार र हरि गिरी विमर्शीको स्वरमा सार्वजनिक ‘बिस्ताराले पाल्यो’ युट्युबमा धेरै हेरिएको तेस्रो गीत हो। २६ जुलाईमा सार्वजनिक गीत ५६ लाखभन्दा बढीले हेरेका छन्। गोविन्द पौडेलको शब्द र संगीतमा बनेको गीतका शब्द दोहोरो अर्थ लाग्ने भएकोले निकै विवादित बन्यो।

गीतको भिडियो पनि परिवारका सबैसँग बसेर हेर्न नसकिने भनेर आलोचना भइरहेको छ। संस्कृतिका नाममा विकृति भित्रउन खोज्ने यस्ता गीतको बहिष्कार गर्नुपर्ने आवाज उठेको छ। गायिका शान्तिश्रीले माफी मागेकी थिइन्।

४. मै लुरी

१८ जुलाईमा सार्वजनिक गीत ५५ लाखभन्दा बढी पटक हेरिएको छ। पशुपति शर्मा र प्रिया भण्डारीको स्वर रहेको गीतमा शारीरिक र आर्थिक रूपमा सहरिया परिवेशमा भिज्न नसकेका सोझा र दुःख पाएका युवा पुस्ताको पीडा व्यक्त गरिएको छ। गीतको भिडियोमा गायक शर्मा र जुनु विश्वकर्माको अभिनय छ।

५. बरिलै

समीक्षा अधिकारी र मोहन खड्काको स्वर रहेको ‘बरिलै’ बोलको गीत १२ जुनमा सार्वजनिक भएको थियो। गीतलाई ५२ लाखभन्दा बढीले हेरेका छन्। विमल अधिकारीको शब्द र संगीत रहेको गीतमा पाउजु, चुरा, पोते लगाउन रहर भएकी चेलीले प्रमीसँग विवाह गर्न कहिले आउने भन्दै रोमान्टिक भाव प्रस्तुत गरिएको छ। गीतको भिडियोमा विमल अधिकारी र आश्मा विश्वकर्माले अभिनय गरेका छन्।

६. मन परेको मान्छे

एलिना चौहानको स्वर रहेको गीत ‘मन परेको मान्छे’ लाई पनि दर्शकले रुचाएका छन्। २० जुनमा सार्वजनिक गीत युट्युबमा झन्डै ५० लाखले हेरेका छन्। गीतमा नवविवाहित महिलाले आफूले रोजेजस्तै परिवार र जीवनसाथी पाएको भन्दै सुखी भाव व्यक्त गरिएको छ। भिडियोमा मोडल अञ्जली अधिकारीको अभिनय छ।

७. थोरै थोरै लाज

‘थोरै थोरै लाज’ बोलको गीत ३६ लाखभन्दा बढीले हेरेका छन्। शान्तिश्री परियारको स्वर रहेको गीतमा रमेश क्षेत्रीको शब्द छ। रोमान्टिक गीतको भिडियोमा विमल अधिकारी, अञ्जली अधिकारी र स्मारिका ढकालले अभिनय गरेका छन्।

८.बालेन

चन्द्रवती वाग्लेको शब्द, संगीत र स्वरमा सार्वजनिक ‘बालेन’ बोलको गीतको भाका मौलिक छ। १५ जुलाईमा सार्वजनिक गीतलाई युट्युबमा २८ लाखभन्दा बढीले हेरेका छन्। गीत काठमाडौँ महानगरपालिकामा मेयर बालेन शाहको चर्चामा आधारित छ। उनी मेयर बनेपछि काठमाडौँको मुहार फेरिएको भन्दै गीतमा उनले गरेका कामको बयान गरिएको छ। गीतको भिडियोमा कुमार गौतम, वसन्त चालिसे र दीपेन्द्र कार्कीले अभिनय गरेका छन्।

९. सीताका माइती

‘सीताको माइती’ २६ लाखभन्दा बढीले हेरेका छन्। सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतमा शिव अखेलीको शब्द र संगीत छ। गीतमा पतिपत्नीबीचको प्रेमभावलाई शब्दमार्फत उजागर गरिएको छ।

१०. दुनियाँलाई

प्रीति आलेको स्वर, शब्द र संगीतमा रहेको ‘दुनियाँलाई’ बोलको गीतलाई पनि दर्शकले रुचाएका छन्। गीत हालसम्म २६ लाखले हेरेका छन्। गीतमा सबैको शरीर एकै नहुने भन्दै गीतमा मोटी, काली, दुब्ली, होची हुँदा, खिसी गर्ने प्रवृत्तिका मानिसप्रति व्यंग्य गरिएको छ।

साथै शरीर पुरुषको जस्तो देखिने तर स्वभाव महिलाको हुँदा समाजले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न आग्रहसमेत गरिएको छ। भिडियोमा सम्झना बुढाथोकी, प्र्रीति आले, करिश्मा ढकाल, रुविना अधिकारी र निकिशा श्रेष्ठको अभिनय छ।

११. हरहर महादेव

‘हरहर महादेव’ बोलको गीत पनि युट्युबमा धेरै हेरिएको सूचीमा छ। १२ जुलाईमा सार्वजनिक गीतलाई हालसम्म २६ लाखभन्दा बढीले हेरेका छन्। गीतमा राजन कार्की, जीवन दाहाल, कमला सुनार र शान्ता बर्देवाको स्वर छ। गीत गायक राजनकै शब्द र संगीतमा बनेको हो।

१२. पीर कल्लाई छैन र

अस्मिता डल्लाकोटीको स्वर र शब्द रहेको ‘पीर कल्लाई छैन र’ धेरै हेरिएको गीतमा परेको छ। गीतको भ्युज १७ लाख ४८ हजार नाघेको छ। गीतमा जीवनमा दुःख छ भनेर रोएर बस्न नहुने सन्देश छ। साथै तीजमा संगीहरु भेला भएर रमाइलो गरिरहेको दृश्य हेर्न पाइन्छ।

१३. आफूलाई आफैँ राम्रो

‘आफूलाई आफैँ राम्रो’ बोलको गीत पनि धेरैले रुचाएका छन्। ३० जुलाईमा सार्वजनिक गीतले हालसम्म १६ लाखभन्दा पटक हेरिएको छ।

गीतमा खुमन अधिकारी, शर्मिला गुरुङ, जुना श्रीश, पूर्णकला बीसी, श्रीदेवी देवकोटा, माया गुरुङ, आशा बीसी, आयुशा गौतम, पूजा देवकोटा, इब्सु सञ्ज्यालसहित २६ जना गायकगायिकाको स्वर छ।

दुर्गा पौडेलको शब्द रहेको गीतमा गायक खुमन अधिकारीले संगीत भरेका छन्। यसमा गायकगायिकाकै अभिनय छ।

१४. मेरा बुढा मेरै भगवान

‘मेरो बुढा मेरो भगवान’ अर्को धेरै हेरिएको गीत हो।। १ अगस्टमा सार्वजनिक गीतको हालसम्मको भ्युज १५ लाख छ। श्रीकृष्ण बम मल्ल र लक्ष्मी मल्लको स्वर रहेको गीतमा मन्दिर नगई पतिलाई पुजेर घरमै तीज मनाइरहेकी चेलीको भावनालाई समावेश गरिएको छ।

गायक मल्लकै शब्द र संगीत रहेको गीतको भिडियोमा प्रियंका कार्की, सहिन प्रजापति, सुनिशा बजगाईं, कुशल बिष्ट, बालकृष्ण ओली र सामीया कार्कीको अभिनय छ।

१५. लौन नी भैया

शान्तिश्री परियारको स्वर रहेको गीत ‘लौन नी भैया’ १७ अगस्टमा सार्वजनिक भएको हो। गीतले हालसम्म १५ लाखभन्दा बढी भ्युज पाएको छ। सुनिल विकको कथा र निर्देशन रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र पल शाहले अभिनय गरेका छन्।

प्रकाशित: १७ भदौ २०८१ ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − five =