बालशोषणको आरोप लागेकी एमाले सांसद शर्मालाई पक्राउ गर्न बालेनले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

हिमाल प्रेस १६ भदौ २०८१ १९:४५
30
SHARES
बालशोषणको आरोप लागेकी एमाले सांसद शर्मालाई पक्राउ गर्न बालेनले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण काठमाडौँ महानगरपालिकाका मेयर बालेन। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एमाले प्रदेश सांसद रेखाकुमारी शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन्। आज (आइतबार) फेसबुकमार्फत् उनले बालबालिकासम्बन्धी कसूर गरेको आरोप लागेकी शर्मालाई पक्राउ गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन्।

शर्मामाथि एक नाबालिकालाई विगत ८ वर्षदेखि बाल श्रमिक बनाएर राखेको आरोप लागेको छ। शर्मा लुम्बिनी प्रदेश सांसद हुन्। उनको काठमाडौँस्थित घरमा १४ वर्षीया बालिकालाई ८ वर्षदेखि बाल श्रमिकका रुपमा राखेको पाइएपछि महानगरपालिकाले उद्धार गरेको थियो।

मेयर शाहले शर्माको फोटो राख्दै फेसबुकमा लेखेका छन्, ‘वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, वहाँले विगत ८ वर्ष देखि बन्दी बनाएर एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनुभएको छ। काठमाडौं महानगरले विगत दुई महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन। अदालतले पनि मुद्दा चलाउ भनेर भनिसकेको छ।’ उनले ओलीलाई बाल श्रमशोषण गर्नेलाई कहिले समाउने कि नसमाउने भन्दै प्रश्न पनि गरेका छन्।

‘सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ,’ उनले लेखेका छन्, ‘सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला। कहिले समाउने? कि नसमाउने?’

सांसद शर्माविरुद्ध बालिकाका आफन्तले काठमाडौँ प्रहरीमा उजुरी दर्ता गरेको बताइएको छ।

प्रकाशित: १६ भदौ २०८१ १९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =