अतिक्रमण भएको बाल मन्दिरका जग्गा नियन्त्रणमा लिन प्रधानमन्त्री ओलीको निर्देशन

हिमाल प्रेस १६ भदौ २०८१ १७:०२
18
SHARES
अतिक्रमण भएको बाल मन्दिरका जग्गा नियन्त्रणमा लिन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल संगठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पतिको संरक्षण भए/नभएको हेरी आवश्यक कारबाही गर्न निर्देशन दिएका छन्। नेपाल बाल संगठनका पदाधिकारीसँग आज सिंहदरबारमा छलफल गर्दै ओलीले बाल संगठनका नाममा देशभर भएका जग्गा, संरचना र सम्पत्ति सबैको सुरक्षा गरी अतिक्रमण भएको भए नियन्त्रणमा लिन निर्देशन दिएका हुन्।

‘बाल मन्दिरका जग्गामा अरुले अतिक्रमण गरेको वा नियमबमोजिम भाडा सम्झौता नगरी बसेको छ भने कडाइ र तीव्रताका साथ तिनको नियन्त्रण र प्रयोग हुनुपर्छ,’ उनले भने, ‘धनी पूर्जा बिना लामो समयदेखि संगठनले भोगाधिकार लिँदै आएको छ भने पनि ती जग्गा संगठनकै नाममा ल्याइनुपर्छ।’

ओलीले संगठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषद्‌मा प्रस्ताव ल्याउन, संगठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया ममता दिन, गुणस्तरीय शिक्षा दिन पनि आग्रह गरे। ‘बाल संगठनका बालबालिकाले हुने खाने परिवारका बालबालिकाले पाए सरह सुविधा पाउनुपर्छ,’ उनले थपे, ‘उनीहरू स्वस्थ्य हुनुपर्छ। उचित शिक्षा र मायाा पाउनुपर्छ। त्यसका लागि सरकारले सक्दो सहयोग गर्छ।’

संगठनका अध्यक्ष विद्या न्यौपानेले विशिष्ट संगठनको स्पष्ट पहिचानसहित परिमार्जित र आधिकारिक विधान स्वीकृत गर्न, बजेटको व्यवस्था गर्न, जग्गा जमिनको संरक्षण गर्न, जन्मदार्ता र नागरिकता पाउन समस्या हुने बालबालिकाका लागि आवश्यक सहजीकरण गर्न सरकारसँग आग्रह गरिन्। हाल उक्त संगठनको आश्रयमा करिब तीन सय बालबालिका रहेका छन्। छलफलमा नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमलगायतका कर्मचारी थिए।

प्रकाशित: १६ भदौ २०८१ १७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =