कक्षा ११ : सामुदायिक विद्यालयमा घट्न थाल्यो आकर्षण

रमेश दवाडी १७ भदौ २०८१ १७:०२
306
SHARES
कक्षा ११ : सामुदायिक विद्यालयमा घट्न थाल्यो आकर्षण सांकेतिक तस्बिर।

काठमाडौँ- सामुदायिक विद्यालयको कक्षा ११ मा विद्यार्थीको आकर्षण घट्न थालेको छ। सरकारको अपर्याप्त लगानी, शिक्षकको जागिरे मानसिकता, विषयगत शिक्षक अभाव, राम्रो विषय अध्ययन गर्न अन्यत्र जानुपर्ने स्थिति र आफू पढिरहेको भन्दा अन्य विद्यालयमा पढ्ने विद्यार्थीको रुचिले ११ मा विद्यार्थी भर्नादर घट्न थालेको सम्बद्ध विद्यालयका प्रधानाध्यापकहरू बताउँछन्।

राजधानीकै सामुदायिक विद्यालयमा पनि कक्षा ११ को भर्नामा विगतमा जस्तो चाप देखिन छाडेको छ। पद्मोदय, विजय स्मारक, पद्मकन्या मावि, मदनस्मारक माविमा विगतमा खचाखच विद्यार्थी भए पनि अहिले घट्न थालेका छन्। ती विद्यालयका प्रधानाध्यापकहरू माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धिको नतिजा पर्खेर बसेका छन्। त्रिपुरेश्वरको विश्व निकेतन मावि, बाफलको ज्ञानोदय माविमा भने विद्यार्थी खचाखच भएपछि पठनपाठन सञ्चालन भइसकेको छ।

राष्ट्रिय परीक्षा बोर्डको वार्षिक कार्यतालिकाअनुसार कक्षा ११ को पढाइ सुरु भएको एक महिना भएको छ। कतिपय सामुदायिक विद्यालयमा औपचारिक रूपमा पठपाठन हुन थालेकाे छैन। कक्षा ११ व्यवस्थापन, शिक्षा, विज्ञान, मानविकी, कानुन, संस्कृतलगायतका संकायमा पढाइ हुँदै आएको छ।

काठमाडौँको चाबहिलमा रहेकाे पशुपति मित्र माविमा कक्षा ११ मा गत वर्ष ११९ जना भर्ना भएका थिए। प्रधानाध्यापक चन्द्रकान्त पण्डितले यस वर्ष भने ४५ जना भर्ना भएकाे जानकारी दिए।उनले भने, ‘एसईईकाे ग्रेड वृद्धिको नतिजा आउनै बाँकी हुँदा त्यसपछि केही विद्यार्थी भर्ना हुन आउने अपेक्षा छ।’ पशुपति मित्र माविमा कक्षा ११ मा व्यवस्थापन, मानविकी, शिक्षा स‌ंकायमा पढाइ हुन्छ। प्राविधिकतर्फ सिभिल इन्जिनियरिङको पठनपाठन हुन्छ। पण्डितले उक्त विषयका लागि काठमाडाैँ महानगरले दुईजना शिक्षक दिएकाे बताए।

डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयमा गत वर्षकाे तुलनामा कक्षा ११ मा विद्यार्थी संख्या घटेकाे छ। प्रधानाध्यापक रीता तिवारीले गत वर्ष कक्षा ११ मा  १८६ जना विद्यार्थी भर्ना भएकाेमा अहिले १०० जना पनि नपुगेकाे जानकारी दिइन्।

एसईईमा न्यून विद्यार्थी उत्तीर्ण र काठमाडाैँ महानगरले दिएकाे छात्रवृत्तिका कारण सामुदायिक विद्यालयको कक्षा ११ मा थोरै विद्यार्थी भर्ना भएको उनको बुझाइ छ। काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयबाट एसईईमा राम्रो नतिजा ल्याएका बालबालिकालाई योग्यताका आधारमा छात्रवृत्ति दिँदै आएको छ। ती विद्यार्थी सामुदायिकमा नपढेर राजधानीकै निजी स्कुलमा पढ्न थालेका छन्।

विद्यार्थीलाई महानगरपालिकाले नै निजीमा पढ्न उत्प्रेरित गरिरहेको प्रधानाध्यापकहरूको गुनासो छ। तिवारीले भनिन्, ‘हाम्रा पाँचजना विद्यार्थी काठमाडाैँ महानगरकाे छात्रवृत्ति काेटामा परेका छन्। उनीहरू आफ्नो रोजाइअनुसारको विद्यालयमा भर्ना हुने गरेका छन्।’ पद्मकन्यामा व्यवस्थापन, मानविकी, शिक्षा र सिभिल इन्जिनियरिङकाे पढाइ हुन्छ। एसईईकाे ग्रेड वृद्धिको नतिजा आएपछि पद्मकन्यामा विद्यार्थी संख्या बढ्ने उनकाे विश्वास छ।

राजधानी बाहिरका विद्यालयका प्राध्यापकहरू प्रारम्भिक बालविकासदेखि नै विद्यार्थी कम भर्ना हुन थालेपछि त्यसको प्रभाव कक्षा ११ मा परेको बताउँछन्। गोरखाको श्री ज्ञानज्योति माविमा ११ र १२ मा गरी १५० विद्यार्थी अध्ययनरत रहेकाे शिक्षक अनुषा धितालले बताइन्। उनकाे भनाइमा तल्लाे तहदेखि विद्यार्थी न्यून हुँदा त्यसकाे असर परेकाे हाे। विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थी सहर पढ्न जाने हुँदा गाउँका विद्यालयमा विद्यार्थी अभाव हुने गरेकाे शिक्षक धितालकाे तर्क छ।

धादिङकाे सल्यानटार माध्यमिक विद्यालयका प्रधानाध्यापक ठानप्रसाद बसौलाले ११ मा न्यून विद्यार्थी रहेकाे बताए। ११ मा व्यवस्थापन र शिक्षा संकायका कार्यक्रम चलाइरहेका उनको विद्यालयमा कक्षा ११ मा भर्ना जारी छ। उनले भने, ‘११ र ११ मा विषयगत शिक्षक अभाव छ। ९ र १० का शिक्षकले नै ११ र १२ मा अध्यापन गराउनुहुन्छ।’ बसौलाकाे भनाइमा ११ र १२ विद्यार्थी नियमित पनि छैनन्।

धादिङकै मछिन्द्र माविका प्रधानाध्यापक केशव पौडेल कक्षा ११ र १२ मा विद्यार्थी थोरै रहेकाे बताउँछन्। उनका अनुसार मछिन्द्रकाे ११ र १२ कक्षामा  ९८ जना विद्यार्थी अध्ययनरत छन्। मछिन्द्रमा व्यवस्थापन र शिक्षा संकायमा पढाइ हुन्छ। कम शुल्कमा प्रभावकारी शिक्षण सिकाइ र विद्यालयको वातावरण राम्रो हुँदा विद्यार्थी आकर्षित हुने गरेका छन्।

काठमाडाैँकाे लैनचाैरमा रहेकाे शान्ति विद्या गृहमा ११ र १२ कक्षामा गरी ३५० जना विद्यार्थी अध्ययनरत छन्। प्रधानाध्यापक शिवकुमारी घिमिरेले भनिन्, ‘हाम्रो विद्यालयमा व्यवस्थापन, मानविकी र शिक्षा संकायका कार्यक्रम सञ्चालित छन्। विज्ञान र प्राविधिक विषय पढ्नेहरू अर्को कलेजमा जान्छन्।’

काठमाडाैँकाे नन्दी रात्रि माविमा मानविकी संकायका मात्र कार्यक्रम छन्। यसकार्यक्रमअन्तर्गत कक्षा ११ र १२ गरी ६५ जना विद्यार्थी रहेको शिक्षक राजेश हुमागाँई बताए। संविधानले नै विद्यालय तहको शिक्षा कक्षा १२ सम्म भनेको छ। १० कक्षासम्म सञ्चालित कतिपय विद्यालय निम्न माध्यमिक तहमा झारिएको छ भने १० कक्षालाई विस्तार गर्दौ १२ सम्म पुर्‍याइएको छ। सामुदायिक विद्यालयकाे ११ र १२ मा व्यवस्थापन, कानुन, मानविकी, शिक्षा संकाय छन्। विज्ञान संकायचाहिँ बढी खर्चिलो हुँदा धान्न नकिएको प्रधानाध्यापकको भनाइ छ।

सामुदायिक विद्यालयका ११ र १२ मा विद्यार्थी संख्या कम हुनुकाे कारण बालबालिका कम जन्मनु र बसाइँसराइ बढ्नु रहेकाे बताउँछन् शिक्षाविद् प्रा.डा. बालचन्द्र लुइँटेल। उनले सामुदायिक विद्यालयमा मात्रै नभइ निजी स्कुलमा पनि विद्यार्थी घटेकाे बताए। ‘बालबालिका कम जन्मेका छन्। बसाइँसराइ बढेको छ। सामुदायिकमा मात्र होइन संस्थागत विद्यालयका ११ र १२ मा पनि विद्यार्थी कम छन्। प्रतिपरिवार बालबालिकाको संख्या पनि घटेका छन्। पर्याप्त स्रोत नभएका विद्यालया विद्यार्थी छैनन्’, लुइँटेलले भने।

विद्यार्थी वृद्धिका लागि सरकारले विद्यालयलाई टाक्स दिएर काम अह्राउनुपर्ने सुझाव लुइँटेलको छ।  उनले भने, ‘विद्यालयले यो यो कुरा नगर्ने हो भने म बजेट दिन्नँ, जति राम्रो गर्छाै‌ त्यति नै बजेट बढाइदिन्छु भन्ने हो प्रधानाध्यापक, शिक्षकहरूले काम गर्न सक्नुहुन्छ।’

शंकरदेव क्याम्पसका प्रमुख डा.कृष्णप्रसाद आचार्यले जनसंख्या वृद्धिदरमा गिरावट र बसाइँसराइले विद्यालय तह र उच्च तहमा विद्यार्थी संख्या घट्दै गएकाे बताए। आचार्यले भने, ‘सन् १९९५ देखि २००० को जुन सेन्सस पिरियड थियो त्यो सेन्सस पिरियडको वार्षिक जनसंख्या वृद्धिदर २.२५ थियो। एउटा परिवारका तीनवटा बच्चा हुँदा रहेछन्। २००१ देखि २०११ को सेन्सस पिरियडको वार्षिक जनसंख्या वृद्धिदर १.३५ थियो। एउटा परिवारको १.३५ बच्चा हुँदो रहेछ। २०११ देखि २०२१ को सेन्सस पिरियड जुन छ त्यसको वार्षिक औसत जनसंख्या वृद्धिदर ०.९२ छ। अहिले विद्यार्थी घटे भनेर हामीले भनेका छौँ त्यसको असर २०११ को सेन्सर पिरियडको असर हो। जसमा जनसंख्या वृद्धिदर १.३५ थियो। ०.९२ को असर अबको ७ वर्षपछि देखिन्छ।’

प्रकाशित: १७ भदौ २०८१ १७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast