हीरापाटाका एक सय ५० घरमा धारा जडान

हिमाल प्रेस २६ भदौ २०८१ ७:५२ | Wednesday, September 11, 2024
हीरापाटाका एक सय ५० घरमा धारा जडान

स्याङ्जा- पुतलीबजार नगरपालिका–१३ हीरापाटाका एक सय ५० घरमा ‘एक घर, एक धारा’ योजनाअन्तर्गत धारा जडान गरिएका छन्।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाका अनुसार लामो समयदेखि खोल्सा तथा कुवाको पानी प्रयोग गर्दै आएका स्थानीयका घरमा गरिएको हो। दरौँखोला किनारको मूलबाट पानी तानेर वितरण गरिएको हो।

‘संघीय सरकारअन्तर्गत आव २०७४/७५ मा निर्माण सुरु भएको उक्त आयोजना कार्यान्वयनका लागि गण्डकी प्रदेशमा हस्तान्तरण भई आएको थियो’, उनले भने, ‘निर्माण सुरु भएदेखि क्रमिक रूपमा निर्माण सम्पन्न हुँदाको समयसम्म झण्डै चार करोड खर्च भएको छ।’

संघीय सरकारबाट विनियोजन भएको तीन करोड ५४ लाख रुपैयाँ र स्थानीयको जनश्रमदान ४१ लाख रुपैयाँ गरी तीन करोड ९५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। ‘सञ्चालनमा आएको खानेपानी आयोजना गुणस्तर तथा शुद्धीकरणको नमूनाका रूपमा रहेको छ’, उनले भने, ‘पानी शुद्धीकरणका लागि फिल्टरलगायत उपकरण जडान गरिएको छ।’

निर्माण सुरु भएको सात वर्षपछि धारामा पानी आउँदा स्थानीयमा खुसी छाएको छ। योजना सम्पन्न भई सञ्चालनमा आएसँगै हीरापाटा, न्यौपाने थर, जामुने, देउराली, लौके, बगैँचा, मान्केस्वाँरा, भैरवथानका एक सय ५० घरका सात सय ९५ जना प्रत्यक्ष लाभान्वित भएका छन्।

प्रकाशित: २६ भदौ २०८१ ७:५२ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast