काठमाडौँ- सैनिक श्रीमती संघ (नेपाली सेना) को नवनियुक्त अध्यक्षको जिम्मेवारी निता सिग्देल क्षेत्रीले सम्हालेकी छन्। उनले बिहीबारबाट कार्यभार सम्हालेकी हुन्। सैनिक श्रीमती संघको कार्यालय भद्रकालीमा उनले विधिवत् रूपमा पूजा अर्चनासहित आफ्नो कार्यभार सम्हालेकी हुन्।
कार्यभार सम्हाल्ने क्रममा उनले पुराना कार्यसमितिलाई धन्यवाद दिइन्। उनलाई पुराना कार्यसमितिले स्वागत गर्दै पदबहाली गराएका थिए। त्यहाँ उनले आफ्नो निर्वातमान अध्यक्ष सुनिता शर्मालाई बिदाइ गरिन्। बिदाइ गर्दा शर्माको कार्यकालमा भएका कार्यहरू स्मरण गरिन् र आफ्नो कार्यकाल दुईअर्थी व्यक्तिहरूको चंगुलबाट बाहिर रहने घोषणा गरिन्।

प्रधानसेनापतिको मार्गनिर्देशनमा नै संस्था हिँड्ने हो भन्दै उनले भनिन्, ‘हामी यहाँ नेपाली सेनालाई कसरी बलियो बनाउने भन्नेमा नै चिन्तन गर्ने हो। सेनालाई प्रविधिमैत्री र आधुनिकीकरण गर्ने हो। को कसलाई कहाँ पठाउने भनेर चिन्तन गर्ने होइन।’
यो संस्थालाई सेवामुखी संस्थाको रूपमा नै स्थापित गर्दै त्यही अनुरुपको संस्था बनाउन पर्ने उनले बताएको कार्यक्रममा उपस्थित एक सदस्यले जानकारी दिइन्। संघमार्फत् बिचौलियागिरी गर्ने भर्याङ बनाउने कार्य गर्न नहुने पनि उनले स्पष्ट पारिन्।

उक्त विशेष समारोहमा संघका पूर्व अध्यक्षहरू, पूर्व पदाधिकारी तथा संघका सल्लाहकार, कार्यकारिणी, उपसमितिका पदाधिकारी र साधारण सदस्यहरूको उपस्थिति थियो। अधिकांशले संघको विषयमा बाहिर नराम्रा कुरा सुन्न नपरोस् भन्ने चाहना सबैको रहेको बताए।
कतिपयले पैसाको लालचमा संघलाई बदनाम गरेको विषय बाहिर आइरहँदा वर्तमान अध्यक्षले यसलाई राम्रो बनाउँदै लैजाने प्रतिज्ञासहित कार्यभार लिएकी हुन्।
साधारण जीवनमा चासो राख्ने, पाठपूजा गर्ने, सम्पत्ति र शक्तिको आशक्ति नराख्ने व्यक्तिको छवि बनाएकी निताले संघको नेतृत्व गरिरहँदा अधिकलाई पसिना आइरहेको एक सहभागी बताउँछन्।
 
 
 
 
 
 

                                             
                                             
                                             
                                             

