 सूर्य थापा
                             सूर्य थापा 
                                            काठमाडौँ- प्रतिनिधिसभाको सोमबारको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन पेस भएको छ।
समितिका संयोजक सूर्य थापाले समितिको प्रतिवेदन पेस गरे। आजै बसेको समितिको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएकाे थियाे।
प्रतिवेदन पेस गर्दै सभापति थापाले सहकारी क्षेत्र नक्कली कामहरूले प्रताडित रहेको बताए। उनले सहकारीमा देखिएको संकट समाधानका लागि समितिमा रहेका सबै दलका सदस्यहरूले एकमत भएर प्रतिवेदन तयार पारेको बताए।
लगत्तै सभामुख घिमिरेले प्रतिवेदन सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिएका हुन्। ‘सभामा प्रस्तुत सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन २०८१ आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन म सचिवालयलाई निर्देश गर्दछु,’ सभामुख घिमिरेले भने।
प्रतिनिधि सभाको जेठ १५ गते बसेको बैठकले उक्त समिति गठन गरेको हो। समितिलाई तीन महिनाको समयावधि दिएकामा १५ दिन थप गरिएको थियो।
समितिमा नेपाली कांग्रेसबाट दिलेन्द्र बडू (बद्री पाण्डे रहेकामा उनी मन्त्री बनेपछि बडूलाई बनाइएको), ईश्वरी न्यौपाने, नेकपा (एमाले)बाट सावित्रा भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल (राजन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन्।
समितिले ६६ वटा बैठक बसेको थियो। त्यसक्रममा सहकारीका बचत अपचलनबाट मर्कामा परेकाहरू, अपचलनमा संलग्नहरू, सरोकारवाला, विषय विज्ञसँग समेत समितिले छलफल गरेको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 