समानता र समृद्धिको आगामी यात्रामा एकजुट भइ लाग्नुपर्छ : खिलराज रेग्मी

हिमाल प्रेस ३ असोज २०८१ ८:२५ | Thursday, September 19, 2024
समानता र समृद्धिको आगामी यात्रामा एकजुट भइ लाग्नुपर्छ : खिलराज रेग्मी

काठमाडौँ- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विगतका संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमीकमजोरीलाई केलाउँदै लोकतन्त्र, मानवअधिकार, समानता र समृद्धिको आगामी यात्रामा एकजुट भइ लाग्नुपर्नेमा जोड दिएका छन्।

दशौँ संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले स्थिरता, जनसहभागिता, हकअधिकारको संरक्षण र समृद्धि नै संवैधानिक मार्गचित्र भएको बताए।

‘हाल सरकार पक्षबाट संविधान संशोधनको विषय उठाइएको छ, यसमा सार्वजनिक चासो र बहस पनि भइरहेको छ । स्थिरता, जनसहभागिता, हकअधिकारको संरक्षण र समृद्धि नै संवैधानिक मार्गचित्र हो र यसलाई सम्वर्द्धन गर्नु नै आजको लोकतन्त्रको सारभूत विषय पनि हो। हाम्रा सबै क्रियाकलाप यसैतर्फ केन्द्रित हुनुपर्दछ भन्ने लाग्दछ। यसप्रति सबैलाई सत्प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्दछु’, शुभकामना सन्देशमा भनिएको छ।

विगतको लामो संघर्ष र जनआन्दोलनको कठिनतम् प्रयासबाट नेपालले संविधानसभाबाट लोकतान्त्रिक संविधान निर्माण गरेको स्मरण गर्दै पूर्वअध्यक्ष रेग्मीले वीर शहीदको बलिदान, घाइते, अपांगता भएकाहरूको संघर्षपूर्ण जीवनले नेपाली जनताको समुन्नत भविष्यका लागि अघि बढ्न घच्घच्याइरहेको उल्लेख गरे।

‘अब पनि पछि पर्ने अलमलिने र अलमल्याउने छुट कसैलाई छैन, आजको प्रविधिको चरम विकास भएको विश्व व्यवस्थामा नेपाली जनता पनि बढी जागरुक र सचेत भइसकेका छन्’, सन्देशमा भनिएको छ।

उनले शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्धि आजको महत्वपूर्ण विषय र आवश्यकता भएको औँल्याए। साथै सरकार र राजनीतिक दलले जनचाहनाअनुरूप गर्ने परिणाममुखी कामले मात्र जनआकांक्षा पूरा हुने र संविधानको लक्षित उद्देश्यतर्फ अघि बढ्ने उहाँको विश्वास छ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले संविधान दिवसको शुभ अवसरमा नेपाली जनताको आकांक्षा र संवैधानिक लक्ष्य सबैको प्राथमिकताको विषय बनोस् भन्ने अपेक्षा र कामना गरेका छन्।

प्रकाशित: ३ असोज २०८१ ८:२५ | Thursday, September 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast