श्रीलंका राष्ट्रपति निर्वाचन : कसैले पाएनन् बहुमत, दोस्रो चरणको गणनाबाट हुनेछ निर्णय

हिमाल प्रेस ६ असोज २०८१ १६:०४ | Sunday, September 22, 2024
श्रीलंका राष्ट्रपति निर्वाचन : कसैले पाएनन् बहुमत, दोस्रो चरणको गणनाबाट हुनेछ निर्णय

काठमाडौँ- श्रीलंकाको राष्ट्रपतीय निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेका छैनन्। पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतगणनाको घोषणा गरिएको छ।

श्रीलंकाको राष्ट्रपतीय निर्वाचनमा दोस्रो चरणको मतगणना भएको यो पहिलोपटक हो।

अब चुनाव आयोगले मतदाताको दोस्रो र तेस्रो लोकप्रिय उम्मेदवारको मतगणना गर्नेछ। चुनावको क्रममा मतदातालाई आफ्नो रोजाइअनुसार तीन जना उम्मेदवार छान्न भनिएको थियो।

चुनाव आयोगले अनुरा कुमारा दिसानायके र सजीथ प्रेमदासाबाहेक अरू सबै उम्मेदवार चुनावको दौडबाट बाहिरिएको जनाएको छ। श्रीलंंकामा निर्वाचन कानुनअनुसार कुनै पनि उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ।

यसअघि जारी मतगणनामा वामपन्थी नेता अनुरा कुमारा दिसानायकेले अग्रता कायम गरेका थिए। यद्यपि जितका लागि उनले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेका छैनन्।

मुख्य विपक्षी नेता सजीथ प्रेमदासा उनको निकटतम प्रतिद्वन्द्वी ठानिएका छन्। अहिलेसम्मको मतगणनाको हिसाबले बहालवाला राष्ट्रपति रानिल विक्रमसिंघे तेस्रो स्थानमा छन्।

सन् २०२२ मा भएको विरोध प्रदर्शनपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षे पदबाट राजीनामा दिएर देश छाडेका थिए। चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा राजपक्षेले राजीनामा दिएपछि संसदले विक्रमसिंघेलाई राष्ट्रपतिमा निर्वाचित गरेको थियो।

उम्मेदवारले ५० प्रतिशत मत नपाए के हुन्छ?

मतगणनाको पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसके राष्ट्रपति पदका लागि मतदाताहरूको दोस्रो र तेस्रो रोजाइका आधारमा दोस्रो चरणको मतगणना हुनेछ।

सन् १९८२ देखि अहिलेसम्म भएका आठ राष्ट्रपति निर्वाचनमा पहिलो चरणकै मतगणनाबाट निर्णय भएको छ। योपालिको चुनावलाई श्रीलंकाको इतिहासमा सबैभन्दा बढी प्रतिस्पर्धात्मक चुनाव भनिएको छ।

प्रकाशित: ६ असोज २०८१ १६:०४ | Sunday, September 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast