लुम्बिनीमा पर्यटकलाई स्वागत गरी मनाइयो पर्यटन दिवस

हिमाल प्रेस ११ असोज २०८१ ९:२४ | Friday, September 27, 2024
लुम्बिनीमा पर्यटकलाई स्वागत गरी मनाइयो पर्यटन दिवस

लुम्बिनी- विश्व पर्यटन दिवसमा अवसरमा शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ। लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) ले पर्यटकलाई खादा र नेपाली ढाका टोपी लगाइदिएर स्वागत गरेका हुन्।

निरन्तर वर्षात् भएकाले शान्तिदीपस्थित थाई भिजिटर सेन्टरमा जापनिज नागरिक यूकु शान, भारतीय विद्या बाग्दी र सुनिल बाग्दीलाई स्वागत गरिएको हो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारका पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपानेले लुम्बिनी देशकै गौरव भएकाले यसको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकार साथमा रहने प्रतिबद्धता जनाए।

उनले लुम्बिनी विकास कोषसँग मिलेर अगाडि बढ्ने गरी योजना बनाउने बताए। यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले ३६५ दिन नै पर्यटकलाई स्वागत सत्कार गर्ने वातावरण बनाउनुपर्ने बताए।

उनले विदेशीसँगै स्वदेशी पर्यटकलाई समेत लुम्बिनी स्वागत गर्दै यसको प्रवर्द्धनमा सबै एकजुट भएर लाग्न आग्रह गरे। उनले बुद्धजन्मस्थल लुम्बिनी नेपालसँगै विश्वका बौद्ध सम्प्रदायको समेत आस्थाको केन्द्र भएकाले आफू आएपछि लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गरेको बताए।

पर्यटन दिवस कार्यक्रममा लुम्बिनी होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्माले लुम्बिनीको पर्यटनबाट देशलाई नै समृद्ध बनाउन सकिने बताए। उनले पर्यटन दिवससँगै लुम्बिनीमा पर्यटनको आवागमन वृद्धि गर्ने कार्ययोजना ल्याउन पर्यटनमन्त्रीसँग आग्रह गरे।

‘पर्यटन र शान्ति’ भन्ने नारासहित मनाइएको पर्यटन दिवसमा लुम्बिनीमा भने यात्रा, अध्यात्म र चिन्तन मार्फत शान्तिको प्रवर्द्धन गरौं नारा तय गरी मनाइएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा.हरिध्वज राईले बताए।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना अधिकारी राजन बस्नेत लगायतको उपस्थिती रहेको थियो । लुम्बिनीमा स्वागत गरिएका पर्यटकलाई लुम्बिनी होटल संघ नेपालले तिलौराकोट, रामग्राम लगायतका क्षेत्रमा एक दिन भ्रमण र बासको व्यवस्था गरेको अध्यक्ष गोविन्द ज्ञवालीले बताए।

लुम्बिनी विकास कोषको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका, लुम्बिनी होटल एशोसियसन, लुम्बिनी पर्यटन व्यावसायी संघ, महामाया रिक्सा चालक संघ, लुम्बिनी स्थानीय पथ प्रदर्शक संघ, लुम्बिनी अन्तर्राष्ट्रिय विहारको सहभागिता रहेको थियो।

लुम्बिनीमा सन् २०२४ को अगस्ट महिनासम्म आन्तरीक र बाह्य गरी ६ लाख १२ हजार ४७७ जना पर्यटकले भ्रमण गरेका छन्। अघिल्लो वर्ष करिव १० लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए। यो वर्ष सिजन सुरु भएकाले पर्यटक संख्या बढ्ने अनुमान गरिएको छ। प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन विश्व पर्यटन दिवस मनाउने गरिन्छ।

प्रकाशित: ११ असोज २०८१ ९:२४ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast