रवि लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न भएको संसदीय छानबिन समितिको निष्कर्ष

हिमाल प्रेस ३१ भदौ २०८१ १२:०३ | Monday, September 16, 2024
रवि लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न भएको संसदीय छानबिन समितिको निष्कर्ष रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- सहकारी संस्थाबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा संलग्न भएको निष्कर्ष निकालेको छ। तीन महिनादेखि सहकारी संस्थाको बचत अपचलनमा छानबिन गरिरहेको समितिले सहकारी प्रकरणमा लामिछाने जोडिएको निष्कर्ष निकालेको समितिका एक सदस्यले बताए।

‘हामी आज प्रतिनिधिसभामा प्रतिवेदन बुझाउँदैछौँ। अहिलेसम्मको अनुसन्धानले लामिछानेको संलग्नता देखियो,’ संसदीय समितिका एक सदस्यले हिमालप्रेससँग भने, ‘गोरखा मिडिया नेटवर्कले सहकारीबाट लिएको रकम हिनामिना प्रकरणमा उहाँको संलग्नता देखिएको छ।’

लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिको एमडी (प्रबन्धनिर्देशक) र पार्टनर (साझेदार) भएका कारणले कार्यालय सञ्चालन गर्ने हिसाबमा पनि मुख्य भूमिका र जिम्मेवारी रहेको प्रतिवेदनमा उल्लेख गरिएको ती सदस्यले बताए।

नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि प्रतिनिधिसभाले जेठ १५ गते सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समिति गठन गरेको थियो। समितिलाई तीन महिना कार्यावधि दिइएकोमा प्रतिनिधिसभाले थप १५ दिनको समय दिएको थियो। समितिले सोमबार प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्ने भएको छ। प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा यो विषय उल्लेख छ।

रास्वपा सभापतिसमेत रहेका ग्यालेक्सी टेलिभिजन सञ्चालक संस्थाका तत्कालीन प्रबन्धनिर्देशक लामिछानेसँग संसदीय समितिले करिब १० घन्टा सोधपुछ गरेको थियो।

प्रकाशित: ३१ भदौ २०८१ १२:०३ | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast