यसपटक दसैँमा १८ लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान

हिमाल प्रेस ८ असोज २०८१ १९:२१ | Tuesday, September 24, 2024
यसपटक दसैँमा १८ लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौँ- यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। यो संख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए। उनका अनुसार अघिल्लो वर्ष १३ लाखको संख्यामा सर्वसाधारणहरू उपत्यकाबाट बाहिरिएका थिए।

प्रवक्ता खड्काले भने, ‘यो वर्षको दसैँमा वर्षा भएन भने गत वर्षको तुलनामा पाँच लाख बढी सर्वसाधारणहरूले उपत्यका छाड्ने अनुमान गरिएको छ।’

चाडपर्वका बेलामा आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना पनि बढ्न सक्ने भएकाले सो विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको उनले बताए।

‘सडक राम्रो नहुनु, सावारी साधनको बढी चाप हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारहतार गरेर यात्रु ओसारपोसार गर्नु, बिग्रिएका सवारी साधनहरू पनि सञ्चालन गर्नुलगायतका कारण चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ। त्यसलाई न्यूनीकरण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ,’ उनले भने।

खड्काका अनुसार सम्भावित दुर्घटनाका विषयमा उपत्यकाका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ। दसैँमा सजकतापूर्वक जाँच गरेर कडाइका साथ नियम पालना गराउन आफूहरू लागिपर्ने उनले बताए।

प्रवक्ता खड्काले चाडबाडका बेलामा सवारी चालक एवं सहचालकलाई अझ बढी सावधानी अपनाउन र यात्रुलाई पनि सजग रहन आग्रहसमेत गरे।

प्रकाशित: ८ असोज २०८१ १९:२१ | Tuesday, September 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast