 रवि लामिछाने। फाइल तस्बिर
                             रवि लामिछाने। फाइल तस्बिर
                                            काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कानुनी रूपमा सघाउन आफू तयार रहेको बताएका छन्। मंगलबार साँझ फेसबुक लाइभ गर्दै छानबिन समितिले कारबाही सिफारिस गरेअनुसारको जिम्मेवारी लिन तयार रहेको बताएका छन्।
तर आफूलाई सही मुद्दामा कारबाही गर्नुपर्ने बताए। ‘छानबिन समितिले म सहकारी ठगीमा संलग्न छैन भनेर भनिसक्यो, अब मेरो कार्यकालमा आएको पैसाको बारेमा आफ्नो हिस्साको जिम्मेवारी लिन म तयार छु,’ उनले भने, ‘त्यसका लागि मिडिया ट्रायल गर्नैपर्दैन। म थुनिनुपर्छ कि समातिनुपर्छ कि म तयार छु। तर सही मुद्दामा। छलछाम र षड्यन्त्र गरेर होइन।’
‘मलाई पक्राउ गर्न दसैँ कुर्नुपर्दैन। आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस्, मेरो झोला रेडी छ। तर, छलछाम स्वीकार्य छैन,’ लामिछानेले भने।
उनले आफूविरुद्ध पूर्वाग्रहीरूपमा मिडिया ट्रायल गरिएको गुनासो पनि गरे। सहकारी क्षेत्रमा अपचलन भएको ८७ अर्बको खोजी गर्न उनले आग्रह गरे। ‘आफ्नो राजनीतिक भविष्य जोगाउन एउटा व्यक्तिको पछि लाग्दा समग्र सहकारीपीडितहरूले न्याय पाएका छैनन्,’ उनले भने।
यस्तै उनले आफ्ना समर्थक र शुभेच्छुकहरूलाई ‘अलर्ट’ रहन आग्रह गरेका छन्। ‘सरकारले अन्याय गरेछ भने अलर्ट रहनुहोला। तपाईं रविको पक्षमा आउनुपर्दैन, सहकारीपीडितको रकम फिर्ताका लागि तपाईंहरू अलर्ट रहनुहोला,’ उनले भने।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 