 लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर
                             लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर
                                            काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। पार्टी महाधिवेशनको टुंगो लगाउन लोसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो।
भदौ १९ र २० गते बस्ने गरी कार्यकारिणी समितिको बैठक बोलाइएको पार्टी कार्यालय सचिव प्रतिक पाठकले जानकारी दिए।
महोत्तरीको बर्दिवासमा बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। त्यही निर्णयअनुसार लोसपा महाधिवेशनको तयारीमा जुटेको हो।
महाधिवेशनको तयारी थालेको लोसपाले स्थान र मिति तोकेर आवश्यक कार्यक्रम सञ्चालनका विषयमा निर्णय गर्न कार्यकारिणी समिति बैठक बोलाइएको पाठकले बताए।
वडा, गाउँ, क्षेत्र तथा केन्द्रसम्म संगठन सुदृढीकरणसम्बधी कार्यक्रम निर्माण गरिने बैठकमा पार्टी सञ्चालनका लागि आर्थिक नियमावली संशोधन गरिने पार्टीका उनले जानकारी दिए।
संविधान संशोधनका विषयमा पार्टीले तय गर्ने एजेण्डामा समेत छलफल गरी सुझाव संकलन गरिने बैठकमा समान विचारधारा भएका राजनीतिक दल तथा समूहसँगको सहकार्य एवं एकता गर्ने विषयमा छलफल गरिने छ।
बैठकमा नेताहरूले दिएका सुझावका आधारमा साझा दृष्टिकोण बनाएर आगामी केन्द्रीय कमिटी बैठकबाट पारित गरिने जनाइएको छ।
आसन्न मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी तथा उपनिर्वाचन हुने तहमा पार्टीको अवस्था र वस्तुस्थितिबारे सम्बन्धित नेताले केन्द्रलाई जानकारी गराउने बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा गरिने जनाइएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 