भारतीय कप्तान राेहित शर्मा
                                            काठमाडौँ- बंगलादेशविरूद्ध कानपुर टेस्टमा भारतीय क्रिकेट टिमले नयाँ विश्व रेकर्ड बनाएको छ। टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा छिटो अर्धशतक बनाएर भारतीय टिमले नयाँ कीर्तिमान बनाएको हो।
भारतले आफ्नो पहिलो इनिङको तेस्रो ओभरमै ५० रन बनाएको थियो। यो टेस्ट क्रिकेटमा कुनै पनि टिमका लागि सबैभन्दा छिटो बनेको अर्धशतक हो।
ओपनरद्वय कप्तान रोहित शर्मा र यशस्वी जयसवालले यो कीर्तिमान बनाएका हुन्। वर्षाबाट प्रभावित कानपुर टेस्टको चौथौं दिन बंगलादेशले आफ्नो पहिलो इनिङमा २३३ रन बनाएको छ।
पहिलो इनिङमा ब्याटिङका लागि आएको भारतीय टिमले तीन ओभरमै ५० रन बनायो। चौथौं ओभरमा कप्तान रोहित शर्मा २३ रन बनाएर आउट भए। ११ बल सामना गरेका उनले २३ रनको इनिङमा तीन छक्का र एक चौका प्रहार गरे।
यसअघि टेस्ट क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान इंग्ल्यान्डसँग थियो। इंग्ल्यान्डले यसै वर्ष वेस्टइन्डिजविरूद्ध नौटिंघम टेस्टमा ४.२ ओभरमा अर्धशतक पूरा गरेको थियो।

                                             

