‘बेहुली फ्रम मेघौली’ फिल्मको ट्रेलर सार्वजनिक, को-को छन् कलाकार?

हिमाल प्रेस ४ असोज २०८१ ८:०२ | Friday, September 20, 2024
‘बेहुली फ्रम मेघौली’ फिल्मको ट्रेलर सार्वजनिक, को-को छन् कलाकार?

काठमाडौँ- घटस्थापनाबाट प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक ३ मिनेट १७ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ।

छोरीको ३० वर्ष नकट्दै बिहे गराउन एक परिवारले गरेको दौडधुपलाई रमाइलो शैलीमा देखाइएको छ। केटीको उमेर बढेपछि विवाह गर्न मुस्किल हुन्छ भने परम्परागत नेपाली समाजको मान्यतालाई फिल्मले व्यंग्य गरेको छ। यसले नेपाली समाजको विवाह पद्धति र संस्कारलाई घुमाउरो ढंगले प्रश्न पनि गर्छ।

भ्रामरी दशाले समात्ने भएकाले ३० वर्ष नकट्दै विवाह गर्नुपर्ने ज्योतिषको सुझावपछि अभिनेत्री स्वस्तिमा खड्कालाई परिवारबाट विवाहको दबाब बढ्छ। परिवारले खोजेका कुनै पनि केटा मन नपरेपनि फिल्मकी मुख्यपात्र स्वस्तिमाले निश्चल बस्नेतलाई मन पराएकी छन् तर उसको अरुसँग प्रेम बसेको छ। यो दबाबबीच योग्य वर पाउन परिवार र युवतीले कस्तो संघर्ष गर्नुपर्छ भन्ने चित्रण गरिएको छ। ट्रेलरमा संवादले दर्शकको मन जित्ने देखिन्छ।

फिल्ममा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ। यो उनीहरूको डेब्यु निर्देशकिय फिल्म हो। अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन्। फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ। फिल्मलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन्।

प्रकाशित: ४ असोज २०८१ ८:०२ | Friday, September 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast