 
                             
                                            काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संवैधानिक रिक्तता लामो समय नराख्दा अनुरोध गरेका छन्।
आज बालुवाटारमा भएको भेटवार्तामा तत्काल संवैधानिक परिषद्को बैठक बसेर रिक्तता पूर्ति गर्नुपर्ने प्रचण्डको भनाइ थियो। ‘संवैधानिक परिषद्को बैठक नबसेको धेरै भयो। यसमा ध्यान जाओस्,’ प्रचण्डको भनाइलाई उदृत गर्दै सचिवालयले भन्यो,‘संवैधानिक रिक्तताले राम्रो सन्देश जाँदैन।’ प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले ओलीसँग समसामयिक राजनीतिक विषयमा समेत छलफल गरेका थिए।
प्रचण्ड र ओलीबीच छलफल चल्दै गर्दा सत्ता सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत बालुवाटार पुगेका थिए। बालुवाटारमा देउवाको जन्मदिन समेत मनाइएको थियो। उनीहरूबीच संवैधानिक परिषद् बैठक बोलाउनेबारेमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले हिजै परिषद्को बैठक बोलाएका थिए। तर तयारी नपुगेको भन्दै स्थगित भयो। अब कहिले बैठक बोलाउने भन्ने विषयमा पनि शीर्ष नेताबीच छलफल चलेको थियो। अबको परिषद् बैठकले प्रधानन्यायाधीशसहित अन्य संवैधानिक निकायमा नियुक्तिको प्रक्रिया अघि बढाउने प्रधानमन्त्री निकट स्रोतको भनाइ छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 