 
                             
                                            काँडाबाजुरा- सामाजिक सञ्जालको देखासिकीमा चिनजान। कलिलैमा विवाह। त्यसपछि श्रीमान्को दिनचर्या मदिरामा। बिरामीले थला परेकी दुईजीउकी श्रीमती धामीको शरणमा। स्वास्थ्यचौकी पुग्दा बच्चा मर्नु, परिवार तथा गाउँलेको रुवावासी र पछुतो।
बालविवाहमा परेकी बालिकाले खेप्नुपरेको दुःख र भोग्नुपरेको पीडा समेटेर खप्तड छेडेदह गाउँपालिका–१ काँडा वडा कार्यालयमा प्रदर्शन गरिएको सडक नाटक हेरेका स्थानीयका आँखा रसाए। बालविवाहलाई मलजल गरिरहेको सामाजिक सञ्जाल र मदिरा सेवनबारे कलात्मक रूपमा प्रस्तुत गरिएको थियो। नाटकमा सानै उमेरमा गर्भवती भएर बच्चा जन्माउनु, पढाइ छाड्नु, पारिवारिक बेमेलले तहसनहस भइरहेको परिवारमा विवश किशोरीले भोगेका सास्ती देखाइयो।
नाटकमा श्रीमतीको भूमिका निर्वाह गरेकी जानकी रावलको बालविवाहले पढाइ छुटेको, घरमा खाना पकाउन नजानेर घरपरिवारले गालीगलौज गर्दै हेला गरेको, सानैमा गर्भवती बनेर बच्चा जन्माउन नसकेर बच्चा खसेको, अत्यधिक रक्तश्राव भएर मृत्युको मुखमा पुगेको घटनाले बालविवाह गर्न बाध्य किशोरकिशोरीको चित्र नाटकमा उतार्दा आँसु नरोकिएको स्थानीय रमिला रोकायाले बताइन्।
नाटकमा देखाएकै कुरा धेरैका जीवनमा मेल खाएको उनले बताइन्। काँडामा उच्च रहेको बालविवाह न्यूनीकरणका लागि यो नाटकले धेरै नै सहयोग पुग्ने रमिलाले विश्वास व्यक्त गरिन्। दुर्गा भवानी आधारभूत विद्यालयकी शिक्षिका यशोदा रावलले गाउँमा भइरहेको बालविवाहलाई न्यूनीकरण गर्न सबैलाई जानकारीस्वरुप तिज कार्यक्रममा मौका छोपेर नाटक प्रदर्शन गरेको बताइन्।
एघारजना बालिकाले बेहुला, बेहुली, बेहुलाका आमा बुबा, धामी, पुरोहित, डाक्टर, छिमेकी, मदिरा पसले भएर अभिनय गरेका थिए। ‘हरेक गाउँमा आफ्नै उमेरका केटमकेटीले पनि विवाह गरेर अलपत्र परेका देखिन्छन्’, कक्षा ८ मा अध्ययनरत बालिका जानकी रावलले भनिन्,‘बालविवाह गरेर सानै उमेरमा बच्चा पाउँदा दुवैको ज्यान गएका घटना पनि छन्। त्यसैले उमेर नपुग्दै विवाह नगरुन् भनेर नाटक देखाएका हौँ।’ यसले वडावासी केही सचेत हुनेछन् भन्ने विश्वास लिएको उनले बताइन्।
नाटकको सन्देशले तीज कार्यक्रममा घेरिएका महिला–पुरुष निकै सोचमग्न भएका थिए। नाटक हेरिरहेका स्थानीय सचिन रोकायाले भने,‘यहाँ बालविवाह भन्ने कुनै मतलब हुँदैन। तर, त्यसको असर भने घरपिच्छे देखिन थालेको छ, धेरैले भोगिरहेका पनि छन्।’ पहिले बुबाआमाले बिहे गराइदिने गरेका थिए भने आजभोलि आफैँ फोन गरेर बिहे गर्न थालेको सचिनले बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 