 
                             
                                            काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ‘जनयुद्ध महान् नै थियो भने किन छोडेर आएको’ भन्दै प्रश्न गरेका छन्।
शनिबार काठमाडौंमा २१ औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुपर्यो। केही मानिसले त्यसलाई महिमा मण्डन गरेको सुन्छु। त्यस्तो महान् थियो भने किन छोडेको त त्यो बाटो? किन आउनुपर्यो शान्ति प्रक्रियामा? त्यस्तो महान् जनयुद्धै थियो भने त सफल पार्नुपर्दथ्यो। जनयुद्ध भन्ने चिज जनयुद्ध हो भने त्यो फेल हुँदैन। जनआन्दोलन हो भने पनि त्यो फेल हुँदैन। जन भइसकेपछि त्यो फेल हुँदैन।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबारको एक कार्यक्रममा ओलीलाई लक्षित गर्दै सरकारमा बसेका मान्छेहरूले नै ‘जनयुद्धलाई हिंसा भन्ने दुस्साहस गरेको’ भन्दै त्यसको भण्डाफोरमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए।
ओलीले हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न समेत प्रचण्डलाई आग्रह गरे। ‘अब जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहर, निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरु लाद्न खोज्यो भने देशले त्यसलाई अस्वीकार गर्छ,’ उनको भनाइ छ, ‘बाटो बदल्नुपर्छ। मैले पनि झापा आन्दोलनताका जुन नीतिहरु लिएको थिएँ, त्यो सही नीति भएनछ अगाडि बढेन, बदलियो। सही भएन त बदल्नुपर्छ। त्यस्तै अरुले चलाएका अनावश्यक हिंसा आदि पनि छोड्नुपर्छ। बदल्नुपर्छ। हिंसाको महिमा मण्डन गरेर हामी अघि बढ्न सक्दैनौँ।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 