पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध

हिमाल प्रेस १२ असोज २०८१ १०:५० | Saturday, September 28, 2024
पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध

दमौली– दुई दिनदेखि परेको अविरल वर्षाका कारण शनिबार बिहान पहिरा जाँदा तनहुँका एक दर्जन ठाउँमा सडक अवरुद्ध भएका छन्। पहिराले सडक अवरुद्ध हुँदा तनहुँको व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।

पृथ्वीराजमार्ग र भित्री सडकखण्ड अन्तर्गतका विभिन्न ठाउँमा पहिराले सडक अवरुद्ध हुँदा सवारी साधन सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए।

उनका अनुसार पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवा, छिर्कने, बन्दीपुर गाउँपालिका–१ चिसापानी, चुनपहरा, म्याग्दे गाउँपालिका–६ मौरीओडार, भानु नगरपालिका–१ भन्सारमा सडक अवरुद्ध भएको छ। उनका अनुसार सबै ठाउँमा पहिरा पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको छ। उनले भने, ‘पानी परिरहेकाले पहिरा पन्छाएर समस्या भएको छ।’

यस्तै व्यास नगरपालिका–३ मादी पुल नजिक सडक भासिँदा उक्त खण्ड अवरुद्ध भएको छ। मुग्लिन–पोखरा सडक विस्तारका क्रममा यस ठाउँमा कल्भर्ट निर्माणका लागि डाइभर्सन सडक बनाइएकामा निरन्तरको पानीका कारण आज बिहान उक्त ठाउँमा सडक भासिएको हो।

कल्भर्ट निर्माणका लागि खाल्डो खनिएको र सोही खाल्डोमा जमेको पानीका कारण त्यस ठाउँमा सडक भासिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ असोज २०८१ १०:५० | Saturday, September 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast