निजी क्षेत्रसँगको सहकार्यले मात्र मुलुक समृद्ध बन्छ : मन्त्री पाण्डे

हिमाल प्रेस ९ असोज २०८१ १६:३५ | Wednesday, September 25, 2024
निजी क्षेत्रसँगको सहकार्यले मात्र मुलुक समृद्ध बन्छ : मन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे। फाइल तस्बिर।

कास्की- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रसँगको सहकार्यले मात्र मुलुक समृद्ध बन्ने बताएका छन्। पोखरा उद्योग वाणिज्य संघद्वारा बुधबार पोखरामा आयोजित बधाई ज्ञापन तथा स्वागत कार्यक्रममा मन्त्री पाण्डेले पूँजीको विकास गर्न सके मात्र देशमा रोजगारीका अवसर सिर्जना हुने बताए।

‘सरकारले उद्योगी व्यवसायीलाई सुरक्षितरुपमा लगानी गर्ने वातावरण सिर्जना गर्ने हो, व्यवसायीले जति धेरै लगानी गर्छ त्यति नै नेपाल छिटो समृद्ध बन्छ,’ उनले भने।

व्यवसायीलाई उद्योगतर्फ आकर्षित गर्न सरकारले विभिन्न किसिमका अनुदानका कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्दै मन्त्री पाण्डेले उद्योग व्यवसाय फस्टाएका देशहरुले आर्थिक प्रगति गरेको उदाहरण दिँदै नेपालमा पनि स्वदेशी तथा विदेशी लगानी भित्राउन सके समृद्धि हासिल गर्न धेरै वर्ष कुर्नु नपर्ने बताए। देशको अर्थतन्त्रलाई चलायमान, भ्रष्टाचार मुक्त र सुशासन स्थापना गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो।

सम्भावना नै सम्भावना भएको देश नेपालमा स्वदेशी मात्र होइन विदेशी लगानीकर्ता भित्र्याएर नेपाली जनतालाई समृद्धिको बाटोतर्फ अगाडि बढाउने चाहना वर्तमान सरकारको रहेको मन्त्री पाण्डेले बताए। पर्यटकीय राजधानी पोखरामा पर्यटनको सम्भावना अत्यधिक भएकाले पर्यटन नीति बनाएर यहाँ पर्यटनमैत्री वातावरण सिर्जना गर्ने उद्देश्य सरकारको रहेको उनको भनाइ थियो।

पोखराबाट नै पर्यटकलाई गर्ने सत्कार देशभरि सिकाउने वातावरण सिर्जना गर्न पोखरेली पर्यटन व्यवसायीलाई उनले आग्रह गरे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन आफूले विदेशी एयरलाइन्स कम्पनीसँग कुरा गरिरहेको उल्लेख गर्दै मन्त्री पाण्डेले नेपाली आकास सुरक्षित छ भन्ने कुराको सन्देश दिन जरुरी रहेको बताए।

सो अवसरमा नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पोखराको समग्र आर्थिक विकासका बारेमा जानकारी गराएका थिए।

प्रकाशित: ९ असोज २०८१ १६:३५ | Wednesday, September 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast