 
                             
                                            काठमाडाैँ- तपाईँ सामान्य रोगको उपचार गराउन वा स्वास्थ्यसम्बन्धी परामर्श लिन चाहनुहुन्छ? चाहनुहुन्छ भने काठमाडाैँ महानगरपालिकाकाे सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा जान सक्नुहुन्छ। याे केन्द्र महानगरकाे वडा नं १० स्थित लाखेचाैर मार्गकाे पाठशाला स्कुलकाे आडैमा छ। यहाँ जाेकाेहीले पनि सामान्य उपचार सेवा वा परामर्श नि:शुल्क लिन सक्छन्। केन्द्रमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण हुन्छ।
स्वास्थ्य उपचार गराउनेको चहलपहल भइरहने केन्द्रमा सोमबार भेटिए नारायण सुवेदी। उनी त्यहाँ हातकाे औँलाकाे समस्या लिएर पुगेका थिए। अर्को बिरामी पनि बच्चाकाे उपचार गराउन आएका थिए। दुवैको स्वास्थ्य परीक्षण डा.मोनिका श्रेष्ठले गरिन्। आवश्यक परामर्श पनि दिइन्। श्रेष्ठ सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र (वडा नं १०) काे मेडिकल अधिकृत हुन्।
काठमाडाैँ महानगरकाे स्वास्थ्य बिमाअन्तर्गत सञ्चालित केन्द्रकाे उद्देश्य कुनै पनि मानिस बिरामी हुँदा ऊ अस्पताल नगई यहाँ आएर सामान्य उपचार वा परामर्श गरोस् भन्ने रहेकाे डा.श्रेष्ठले बताइन्। उनकाे भनाइमा सम्भव भएसम्म यहीँ उपचार हुन्छ। नहुनेका लागि चाहिँ अस्पताल सिफारिस गरिन्छ।
केन्द्रमा फिजिसियन, ल्याब, भ्याक्सिन र परिवार नियोजन सेवा उपलब्ध छन्। डा. श्रेष्ठले स्वास्थ्य प्रवर्द्धन केन्द्र पोलिक्लिनिककै अवधारणाअनुसार सञ्चालन भइरहेको बताइन्। फरक यत्ति हो पोलिक्लिनिकमा उपचारका लागि शुल्क तिर्नुपर्छ, केन्द्रमा पर्दैन। केन्द्रमा स्वास्थ्य परीक्षण गराउन वडावासी नै हुनुपर्छ भन्ने छैन। उनले भनिन्, ‘ वडावासी मात्र नभई जाेकाेहीले पनि यहाँबाट नि:शुल्क उपचार सेवा लिन सक्छन्। सीमा तोकिएको छैन। कोही सेवा लिन आउनुभयो भने तपाईँ यो वडाको होइन भनेर पठाउँदैनौँ।’
धेरैजसो बिरामीलाई यहाँबाट निःशुल्क स्वास्थ्य सेवा पाइन्छ भन्ने थाहा छैन। विभिन्न राेग लागेका मानिस दैनिक २०-२५ जना आउने पनि उनले जानकारी दिइन्। कतिपय बिरामी उक्त केन्द्रमा फलाेअपमा पनि आउने गरेका छन्। केन्द्रमा फार्मेसीकाे व्यवस्था छ।
मेडिकल अधिकृत डा. श्रेष्ठले सबैभन्दा धेरै उच्च रक्तचाप र मधुमेहका बिरामी आउने गरेकाे जानकारी दिइन्। केन्द्रले नसर्ने रोगमा उपचार सेवा केन्द्रित गर्दै आएको छ।
केन्द्रमा सातजना कर्मचारी छन्। तीमध्ये तीनजना नर्स छन्। डा. श्रेष्ठले बिरामीकाे सेवा गर्न पाउँदा आफूहरू खुसी रहेकाे पनि बताइन्। सातै जनालाई काठमाडौँ महानगरले नै सेवासुविधा उपलब्ध गराउँछ। महानगरले ३२ वटै वडामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरेकाे छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 