नारायणगढ-मुग्लिङ-नागढुंगा सडकमा गाडी चलाउन रोक

हिमाल प्रेस १२ असोज २०८१ १८:४९ | Saturday, September 28, 2024
नारायणगढ-मुग्लिङ-नागढुंगा सडकमा गाडी चलाउन रोक फाइल तस्बिर। रासस

काठमाडौँ- चितवन प्रशासनले नारायणगढ-मुग्लिङ-नागढुंगा सडकमा गाडी चल्न पूर्ण रुपमा रोक लगाएको छ। बीचमा फसेका यात्रीलाई यथास्थानमा बसिदिन जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अन्तिम सिञ्जालीले शनिबार जारी गरेको सूचनामामा उल्लेख छ।

‘नारायणगढ-मुग्लिङ-नागढुंगा सडकखण्ड पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई उक्त सडक खण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाइएकोले सम्पूर्ण सवारी धनी एवम् यात्रु महानुभावहरुलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिनुहुन तथा यात्रा नगरी यथास्थानमै बसी सुरक्षित रहनुहुन अनुरोध छ,’ सूचनामा उल्लेख छ।

सूचनामा बीचमा फसेका यात्रुलाई भोलिसम्मका लागि सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

कार्यालयले विगत दुई दिनदेखिको अविरल वर्षाका कारण चितवन जिल्लाभित्रका विभिन्न स्थान डुबानमा परेको तथा जिल्ला भई वहने नदी तथा खोलमा जल सतहले खतराको तह पार गरेको जनाएको छ।

नदी तथा खोलाको बहाव अझै बढ्न सक्ने सम्भावना रहेको हुँदा अत्यावश्यक काम परेमा बाहेक नदी तटीय क्षेत्रमा आवतजावत नगर्न तथा अन्य क्रियाकलाप नगर्न नगराउन पनि कार्यालयले अनुरोध गरेको छ।

शुक्रबार काठमाडौँतर्फ हिँडेका सवारीसाधन मौसम प्रतिकूलताका कारण आँपटारीमै रोकिएका छन्।

सडकको अवस्थाका विषयमा जानकारी लिनुपरेमा नजिकको प्रहरी कार्यालय एवम् ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गरी जानकारी लिनसमेत कार्यालयले अनुरोध गरेको छ।

विपद्जन्य कुनै घटना घटेमा नजिकको प्रहरी कार्यालय एवम् जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, चितवनको मोबाइल ९८४४२०८८८८, ९८४५२८९२२६, ९८४९२२७६३७ तथा जिल्ला प्रशासन कार्यालय, चितवन, सहायक प्रमुख जिल्ला अधिकारी, चिरञ्जीवी शर्मा ( ९८५५०८८८९१) लाई खबर गर्न सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: १२ असोज २०८१ १८:४९ | Saturday, September 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast