 ढाकाकुमार श्रेष्ठ
                             ढाकाकुमार श्रेष्ठ
                                            पोखरा- लागुऔषध कारोबार आरोपमा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा छुटेका छन्। कास्की जिल्ला अदालतले बुधबार उनलाई ७५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।
न्यायाधीश भोलानाथ ढकालको इजलासले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।
गत ३ साउनमा रोल्पा त्रिवेणी ७ का ४२ वर्षीय प्रकाश थापा मगर लागुऔषधसहित पक्राउ परेका थिए। ९७ चक्की लागुऔषधसहित उनी पोखरा-२, बागलुङ बसपार्कबाट पक्राउ परेका थिए।
उनीविरुद्ध लागुऔषध मुद्दा अनुसन्धान भइरहेकोमा उनले पोखरा-९, पृथ्वीचोकस्थित दीया फार्मेसीबाट खरिद गरी ल्याएको बयान दिएपछि उक्त फार्मेसीका सञ्चालकसमेत रहेका ढाकाकुमारलाई गत भदौ २७ मा प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको थियो।
पोखरा-२४ निवासी ४२ वर्षीय श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद हुन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईंँसँग घूस मागेको अडियो सार्वजनिकसँगै उनी विवादमा मुछिएका थिए। त्यसपछि रास्वपाले तुरुन्तै उनलाई कारबाही गरी सांसद पदबाट हटाएको थियो। अर्का प्रकाश थापा मगर भने पुर्पक्षका लागि कारागार चलान भएका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 