 
                             
                                            कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–८ किकुष्मा रोकाया मादल बजाउन सिपालु छन्। तीजमा रमाइलो गर्दा वा देउसीभैलो खेल्दा उनको जिम्मा मादल बजाउने र गीत गाउने हुन्थ्यो।
तीजको बेलामा सबै जम्मा भएर मादल बजाउँदै नाचगान गरेको उनलाई सम्झना आउँछ। तीज आउनभन्दा महिनादिन अघिदेखि नै महिला जम्मा भएर रमाइलो गरेको सम्झँदै उनी भन्छिन्,‘अब पहिलेको जस्तो तीजको त्यो रौनक नै हरायो।’
धान रोपेर सकिने बित्तिकै तीजका भाकामा नाच्ने गरेको घोडाघोडी–८ की ६५ वर्षीय तिलादेवी विष्टलाई पनि सम्झना छ। ‘साउन महिनादेखि नै मादलसँगै तीजका भाका गुञ्जन थाल्दथे’, विष्ट भन्छिन्,‘अब त तीज आयो गयो केही थाहा हुँदैन।’ पछिल्लो समय तीज मनाउने शैली परिवर्तन हुँदै गएको उनको बुझाइ छ।
मौलिक तीजका भाकाहरू हराउँदै गएको घोडाघोडी नगरपालिका–१ का अध्यक्ष घनश्याम ओझाले बताए। ‘तीज आउनलाग्दा गाउँघरमा मादल बज्न सुरु हुन्थे’, ओझा भन्छन्,‘अहिले डिजेहरू बजेका हुन्छन् मादलका भाका त सुन्न नै पाइँदैन।’ हराउँदै गएका चाडपर्वका मौलिकताहरूलाई जोगाउनु सबैको दायित्व रहेको उनकाे भनाइ छ।
चाडपर्वको मौलिकता हराएसँगै यसको प्रत्यक्ष असर व्यवसायीमा परेको छ। डिजेका कारण व्यवसायमा असर पुगेको लम्कीचुहा नगरपालिका–३ का मादल व्यवसायी तीर्थ वादी बताउँछन्। ‘तीज, तिहार, विवाह हुने सिजनमा पहिले खुबै मादल बिक्री हुन्थ्यो’, उनले भने, ‘मादलको साटो बाख्रासम्म दिने गर्थे तर अहिले तीज आइसक्यो एउटा पनि मादल बेचेको छैन।’
उनकाे भनाइ छ, ‘डिजेले मादल लोप भइसकेको छ जस्ले गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेको छु मादल बनाएर राखेको छु बिक्री हुँदैन।’ तीजको मौलिकतालाई जोगाउनका लागि केही प्रयासहरू पनि भइरहेका छन्।
केही दिनअघि घोडाघोडी महिला सञ्जालले मौलिक तीज मिलन कार्यक्रमको आयोजना गरेको थियो। घोडाघोडी मन्दिर नजिक महिलाहरू जम्मा भएर मादल बजाएर तीज गीत गाउँदै रमाइलो गरेको सञ्जालका अध्यक्ष रमा आचार्यले बताइन्। ‘तीजको मौलिकता हराउँदै गएको छ’, उनले भनिन्,‘सुखदुःख साट्ने तीज अहिले भड्किलो हुँदै गएको छ,यसलाई जोगाउनका लागि तीज मिलन कार्यक्रम गरेका हाैँ।’
घोडाघोडी उद्योग वाणिज्य संघले पनि तीजका अवसरमा मौलिक भाकामा तीज गीत प्रतियोगिताको आयोजना गरेको छ। हराउँदै गएको तीजका पुराना भाकालाई जोगाउनका लागि प्रतियोगिता आयोजना गरेको घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताए। आउँदो २२ गते प्रतियोगिताको आयोजना गरेको बताउँदै उनले भने,‘हाम्रो मौलिकतालाई जोगाउनु सबैको दायित्व हो।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 