सांकेतिक तस्बिर
                                            ट्युनिस (रासस/एएफपी)- दक्षिणपूर्वी टापु जेर्बाको तटीय क्षेत्रमा सोमबार एक आप्रवासी चढेको डुंगा पल्टिँदा तीन बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको छ।
मेडेनिन अदालतका प्रवक्ता फेथी बाकुचेले एएफपीसँग कुरा गर्दै मृत्यु हुनेमा पाँच पुरुष र चार महिला छन्। डुंगा के कारणले डुबेको थियो भन्ने कारण यो समाचार तयार पार्दासम्म पत्ता लाग्न सकेको छैन। ट्युनिसियाली नेसनल गार्डले चार जना आप्रवासी पौडी खेलेर किनारामा फर्किएको जनाएको छ।
ट्युनिसिया र छिमेकी लिबिया युरोपमा राम्रो जीवनयापन गर्न चाहने आप्रवासीका लागि प्रमुख प्रस्थान बिन्दु बनेका छन्। सन् २०२३ मा ट्युनिसियाको स्थिर अर्थतन्त्रले ०।४ प्रतिशतको मात्र आर्थिक वृद्धि दर हासिल गरेको छ भने बेरोजगारी बढेको छ।
प्रत्येक वर्ष दशौं हजार मानिसहरू ट्युनिसिया हुँदै युरोपतर्फ जान समुद्रको खतरनाक यात्रा गर्ने गर्छन्। जनवरी १ देखि ट्युनिसियाको तटीय क्षेत्रमा कम्तीमा १०३ वटा अस्थायी डुंगा डुबेको र ३४१ जनाको शव निकालिएको सरकारले जनाएको छ।
एफटीडीईएस अधिकार समूहका अनुसार गत वर्ष ट्युनिसियामा डुंगा दुर्घटना हुँदा एक हजार ३०० भन्दा बढीको मृत्यु भएको थियो। अन्तर्राष्ट्रिय आप्रवासन संगठन ९आईओएम० का अनुसार गत दशकमा भूमध्यसागरमा ३० हजार ३०९ भन्दा बढी आप्रवासीको मृत्यु भएको छ।

                                             
                                             
                                             
                                             
                                             

