चितवनमा पाँचसय मेट्रिक टन मह बिक्री भएन

हिमाल प्रेस ३१ भदौ २०८१ ९:२० | Monday, September 16, 2024
चितवनमा पाँचसय मेट्रिक टन मह बिक्री भएन

चितवन- यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ। कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो।

पूर्वी चितवनको कालिका –६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत बिक्री सुरु गरेका जानकारी दिए। उनले वार्षिक छ टन मह उत्पादन गर्दै आएका छन्। उनले भने, ‘महले बजार नपाएर घर थन्किने अवस्था भयो। यसलाई व्यावसायिक बनाएर अघि बढ्न लागेको हुँ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको सहयोगमा ब्राण्डिङको काम सुरु गरिएको उनले बताए। नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्षसमेत रहेका पौडेलले जिल्लामा हाल ३० हजार बढी मौरीका घार रहेको जानकारी दिए।

यसबाट वार्षिक आठ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ। उत्पादित महमध्ये अहिले पाँच सय मेट्रिक टन मह बिक्री हुन नसकेर किसानको घरमा थन्किएको उनले बताए।

उनी भने, ‘फेरि मह निकाल्ने समय भयो । पुरानो मह बिक्री नहुँदा किसान चिन्तित छन्।’ गत वैशाखदेखि राज्यले मह आयात रोक्दा केही सहज भएको भए पनि पुनः आयात खुलाउन व्यवसायी लाग्दा किसान समस्यामा पर्ने उनको भनाइ छ। उनले भने, ‘नेपालमा उत्पादित महले बजार धान्न नसके आयात गर्न सकिन्छ । बाहिरबाट आयातित महलाई ६० प्रतिशत भन्सार लगाउन जरुरी छ।’

यहाँ हाल सेरेना र मेरिफेरा नामक मौरी पालिँदै आएको छ । यसबाट वार्षिक चार हजार नौ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको निवर्तमान अध्यक्ष पौडेलले जानकारी दिए। उनका अनुसार सेरेनाबाट एक हजार दुई सय मेट्रिक टन र मेरिफेराबाट तीन हजार सात सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ।

उत्पादित महमध्ये तीन हजार एक सय ४५ मेट्रिक टन मह बिक्री नहुँदा किसानको घरमा राख्नुपर्ने बाध्यता रहेको उनले बताए। अहिले सरकारले आयात रोक्दा केही राहत महसुस भएको उनको भनाइ छ।

प्रकाशित: ३१ भदौ २०८१ ९:२० | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast