 
                             
                                            काठमाडौँ- फिल्म ‘घरज्वाइँ’ ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ। फिल्मले आईएनआई सिनेमाजको अन्तर्गत लोत्से मल, एनबी सेन्टर र बुटवलका तीन हल, गोंगबुस्थित बीएसआर मुभिज, सामाखुसीस्थित क्यूएफएक्सको सिटी स्क्वायर हल र नेपालगञ्जको सिने रोयलमा हलमा फिल्मले ५१ दिन मनाएको हो।
उपत्यकामा निर्माण टिमले शनिबार कार्यक्रम आयोजना गर्दै ५१ औँ दिनमा केक काटेको छ। कार्यक्रममा फिल्मका मुख्य कलाकार दयाहाङ राई, अभिनेत्री मिरुना मगर लगायत निर्माण टिम र फिल्म पत्रकार सहभागी थिए। २ करोड लगानीमा बनेको फिल्मले ५१ औं दिनसम्म करिब ६ करोडको व्यापार गरेको निर्माण टिमको दाबी छ।
दयाहाङ राई र मिरुना मगरको मुख्य अभिनय रहेको फिल्म मगर समुदायको संस्कार र संस्कृतिमा आधारित छ। प्रेम, विवाहपश्चात घरज्वाइँ बस्नुपरेको बाध्यता र त्यसले सम्बन्धमा आउने उतारचढावलाई फिल्ममा प्रस्तुत गरिएको छ।
अनिल बुढा मगरको लेखन तथा निर्देशना बनेको फिल्म असार २८ मा प्रदर्शन गरिएको थियो। निर्देशक अनिलसँगै विनोद खतिवडा र सुवास कोइरालाले फिल्मको पटकथा लेखेका छन्। फिल्मका निर्माता जनक घर्तीमगर हुन्।
फिल्ममा शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापामगर, कविता आले मगर, बुद्धि तामाङ, पुष्कर गुरूङ, अनु थापा, सुनिल मगरलगायत कलाकारको अभिनय छ।
सुशन प्रजापतिले छायांकन गरेको फिल्म कृष्ण भण्डारीको सम्पादन छ। फिल्म जिएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 