गर्मी बढेपछि मधेशमा बन्द हुन थाले विद्यालय

हिमाल प्रेस ७ असोज २०८१ १६:४७ | Monday, September 23, 2024
गर्मी बढेपछि मधेशमा बन्द हुन थाले विद्यालय विद्यालय

काठमाडौँ- गर्मी अत्याधिक बढेपछि मधेशका विद्यालयहरू बन्द हुन थालेका छन्। बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी पालिकाहरूले विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन्।

चर्को गर्मीका कारण धनुषाको नगराईन नगरपालिकाले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

नगरपालिकाका निमित्त कार्यालय प्रमुख गंगाराम यादवले अत्याधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई हेर्दै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिए।

उनले जाडो बिदाबाट व्यवस्थापन हुने गरी मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय भएको बताए।

त्यस्तै धनुषाकै हँसपुर नगरपालिकाले पनि चार दिन बालबालिकाहरूको पठनपाठन बन्द गर्न मातहतका विद्यालयहरूलाई निर्देशन दिएको छ।

अत्याधिक गर्मीका कारण बालबालिकामा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गरी मंगलबारदेखि आगामी शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय प्रमुख बुधेश्वर यादवले जानकारी दिए।

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताएका छन्।

यता महोत्तरीको मनराशिशवा नगरपालिका कार्यालयले पनि अत्याधिक गर्मीकै कारण सोमबारदेखि ६ दिनका लागि विद्यालयमा बिदा हुने सूचना गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले अत्याधिक गर्मीका कारण बालबालिकाले भोग्नुपरिरहेको समस्यालाई मध्यनजर गरी विद्यालयमा बिदा दिने निर्णय भएको बताए।

मधेशसका जिल्लाहरूमा पछिल्लो समय घामको राप बढेर गर्मी अत्याधिक वृद्धि भएको छ। असोज लागेपछि गर्मी घट्दै जानुपर्नेमा पछिल्लो एक सातादेखि मधेशका जिल्लाहरूमा अत्याधिक गर्मी अनुभव गरिएको छ।

प्रचण्ड गर्मीका कारण बालबालिकाहरूलाई विद्यालय आउजाउ गर्न कठिनाइ देखिन थालिएपछि स्थानीय तहहरूले धमाधम पठनपाठन बन्द गर्ने निर्णय गर्न थालेका हुन्।

प्रकाशित: ७ असोज २०८१ १६:४७ | Monday, September 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast