 
                             
                                            काठमाडौँ- नेकपा एमालेको पोलिटब्युरो बैठक बुधबार पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बिहान ११ बजेबाट सुरु हुने बैठकमा पोलिटब्युरो सदस्यहरूले धारणा राख्नेछन्।
प्रत्येक सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको एमाले स्रोतले जनाएको छ। मंगलबारको बैठकमा महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन्।
कार्ययोजनामा सदस्यतादेखि संगठन विस्तारको खाका प्रस्तुत गरिएको छ। संगठित सदस्यको संख्या १० लाख पुर्याउने एमालेको लक्ष्य छ। वडामा कुल मतदाताको तीन प्रतिशत र पालिका र जिल्लामा १० प्रतिशत संगठित सदस्य बनाउन सके १० लाखको लक्ष्य पूरा हुने कार्ययोजनामा उल्लेख छ।
त्यस्तै वार्षिक कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन सम्पन्न गर्ने उल्लेख छ। एमालेको ११ वटा भूगोल र एउटा गैरभूगोलतर्फको जिल्ला अधिवेशन हुन बाँकी छ।एमालेले तहगत कमिटीमा १० देखि ३३ प्रतिशतसम्म युवा सहभागितालाई सुनिश्चितता गर्ने गरी कार्ययोजना अघि सारेको छ।
त्यस्तै पार्टीमा मूल्यांकन प्रणालीलाई व्यवस्थित बनाउने एमालेको योजना छ। एमालेले आगामी आवधिक निर्वाचनमा कसैसँग तालमेल नगर्ने नीतिलाई अघि सार्ने तयारी गरेको छ। मंगलबारको बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेसको एक्लाएक्लै चुनाव लड्ने निर्णयको स्वागत गर्दै एमालेले पनि चुनावअगाडि कसैसँग सहकार्य नगर्ने बताएका थिए।
स्थानीय तहको उपनिर्वाचन मंसिरमा हुँदैछ। त्यो चुनावमा कसैसँग तालमेल नगर्ने गरी कार्ययोजना बनाउन लागेको हो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 