उल्लासमय रह्यो ‘खुस्मा’को प्रिमियर

हिमाल प्रेस २ असोज २०८१ १२:५३ | Wednesday, September 18, 2024
उल्लासमय रह्यो ‘खुस्मा’को प्रिमियर

काठमाडौँ- असोज ३ अर्थात् भोली बिहीबारबाट प्रदर्शनमा आउने सिनेमा ‘खुस्मा’को प्रिमियर सम्पन्न भएको छ। मंगलबार साँझ काठमाडौंको बिग मुभिजमा प्रिमियर सम्पन्न गरिएको हो । सिनेमाको भव्य प्रिमियर शोमा सशस्त्र द्वन्द्वकालको कथामा निर्माण भएको सिनेमा हेर्न राजनिज्ञ, सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई, लेखक प्रदीप भारद्वाज, निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, अभिनेताद्वय सलिनमान बनियाँ र आर्शिवाद क्षेत्री, अभिनेत्री गौमाया गुरुङ, पशुपति राई, लुनिभा तुलाधर र रुकुमका स्थानिय बासिन्दा सिनेमा हेर्न हल पुगेका थिए।

कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राईले ‘खुस्मा’ हेरिरहँदा केही ठाउँमा आफू निकै इमोस्नल समेत भएको बताइन्। उनले धिरजसँगै सिनेमाकी मुख्य अभिनेत्री उपासनाको अभिनयको पनि तारिफ गरिन्।

प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले ‘खुस्मा’ सिनेमा जस्तो नभई एउटा दस्तावेज जस्तो भएको बताए। ‘खुस्मा खासमा भन्दा दस्तावेज नै हो। निर्देशक अशोक जीले पहिलो पटक सिनेमा निर्देशक गर्नु भएको भन्ने कुरा विश्वास नै लागेको छैन् । किनभने सिनेमा हरेक एङगलबाट प्रस्टसँग प्रस्तुत गर्नुभाको छ। मैले आजसम्म २०-२५ वटा सिनेमाको प्रिमियर शोमा आइसेक हरेक सिनेमामा म राम्रो छ हेर्दिनुहोला मात्र भन्थे। यसमा के छ भने दम छ । एक पटक तपाईले सिनेमा हेर्नु भएन भने तपाईले २०५२ सालपछिको नेपाल नै बुझ्नु हुन्न’, उनले भने।

‘एक जना सामान्य मान्छेको जीवनमा राज्य पक्ष र विद्रोही पक्षबाट केकति असर पर्यो भन्ने कुरा स्पष्ट रुपमा देखाउनु भएको छ। सिनेमा हेरिरहँदा यो सिन पश्चात यो सिन आउला भन्ने कल्पनासम्म गर्न सक्नुहुन्न । लाकुरीको रूख र गिद्ध उडेको लगायत विभिन्न दृश्यबाट सिनेमाको सरल सवैले देखे भोगेको कुरालाई सिनेमामा प्रस्तुत गरिएको छ’, सांसद शाहीले भने।

दुई दशक अगाडिको नेपाली समाज बुझ्ने सिनेमा हो खुस्मा। दुई दशक पहिलाको द्वन्द्वको घाउ अझै पनि खाटा नबसिसकेको भन्दै सरकारलाई खोई जिम्मेवार बनेको भन्ने प्रश्न पनि सिनेमाले गरेको छ। मायालु जोडीको प्रेम, जिम्मेवार नवविवाहीत जोडीको प्रेममा खलनायक बनेको द्वन्द्व हेर्नेका लागि खुस्मा रोजाइको सिनेमा हो।

सिनेमा भोलिबाट प्रदर्शनमा आउँदैछ। एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन्। उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकीय सिनेमा हो।

डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा विभिन्न अर्न्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन्। सिनेमाको निर्मातामा वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन्। सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ।

सिनेमाको सार्वजनिक गीत र ट्रेलरले रुचाएका छन्। जसले गर्दा सिनेमाको गीत र ट्रेलर म्युजिक र मूभिज सेक्सन अन्तर्गत ट्रेन्डिङको शिर्ष स्थानमा छन्। त्यसैले सिनेमाप्रति दर्शकको उत्साह उच्च रहेको बुझ्न सकिन्छ।

प्रकाशित: २ असोज २०८१ १२:५३ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast