 दाङको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालको केन्द्रीय कार्यालय।
                             दाङको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालको केन्द्रीय कार्यालय।
                                            काठमाडौँ– नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. भीमप्रसाद खतिवडाले विश्वविद्यालयमा तीन महिनादेखि खुलेको ताला खोल्न सार्वजनिक आह्वान गरेका छन्। उपकुलपति खतिवडाले विश्वविद्यालयका तर्फबाट बुधबार विद्यार्थी, शिक्षक र कर्मचारीसहित सबै पक्षलाई संवेदनशील हुन पनि अपिल गरेका छन्।
विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङमा विगत तीन महिनादेखि विद्यार्थी संघसंगठन तथा आंशिक शिक्षकद्वारा आफ्ना माग राखी तालाबन्दी गरिएको छ। तालाबन्दीका कारण विश्वविद्यालयका आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनिक व्यवस्थापन सम्बद्ध कार्यहरू पूर्ण रूपमा प्रभावित भएका छन्।
विश्वविद्यालय प्रशासन गर्ने विषयमा रजिस्टारसँग माधव अधिकारीसँग मतभेद भएपछि यसअघिका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले साउन अन्तिम साता राजीनामा दिएका थिए। विश्वविद्यालयका प्राध्यापकहरूका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा लामिछानेले राजीनामा दिएका थिए।
ओली प्रधानमन्त्री हुँदा २०७७ सालमा नियुक्त भएका लामिछानेले पदावधि सकिन एक महिना बाँकी राजीनामा दिएका हुन्। रजिस्ट्रार अधिकारी एमाले महासचिव शंकर पोखरेलका भान्जा हुन्।
प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति ओलीले भदौ १७ गतेको निर्णयानुसार बढीमा तनि महिनाका लागि खतिवडालाई उपकुलपतिको जिम्मेवारी तोकेका छन्। खतिवडा यसअघि विश्वविद्यालयका रेक्टर थिए।
खतिवडाले भनेका छन्, ‘विश्वविद्यालयपरिवारका तीनवटै पक्ष विद्यार्थी, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुका छाता संगठन नेपाल प्राध्यापक संघ, नेसंवि कर्मचारी संघ, स्ववियु तथा सम्बद्ध वैचारिक संघसंगठनहरुमा म हार्दिकताका साथ शैक्षिक कार्ययोजना सफल बनाउन र आर्थिक व्यवस्थापनका लागि समेत संवेदनशील भइदिन आग्रह गर्दछु।’
बन्दका कारण दाङ देउखुरीलगायतका ठाउँमा अव्यवस्थित भएर रहेका सयौँ बिघा जग्गाको उचित व्यवस्थापन गर्न नसकिएको उनको भनाइ छ। उनले भनेका छन्, ‘विद्यार्थीका शैक्षिक समस्या सम्बद्ध मागप्रति हामी अत्यन्त संवेदनशील छौँ र विश्वविद्यालयको आर्थिक क्षमताअनुरूप पूरा गर्न प्रतिबद्ध छौँ।’
उनले ताला खोल्ने कार्यमा सबैको सकारात्मक सहयोगका लागि आह्वान गरेका छन्। सहप्रा. योगराज शर्माको संयोजकत्वमा गठन गरिएको वार्तासमितिसँग संवा गर्न र शीघ्र निष्कर्षमा पुगी सबै प्रकारका अवरोधबाट विश्वविद्यालयलाई मुक्त गरेर यसको जीवन्त क्रियाशीलतामा सहजताका साथ सहभागी हुन पनि खतिवडाले आग्रह गरेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             ![बढ्यो संस्कृतमा आकर्षण, फलित ज्योतिषमा विद्यार्थीको चाप [भिडियोसहित]](https://himalpress.com/wp-content/uploads/2024/09/Bhagawat-dhakal.jpeg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 