अस्ट्रेलिया र क्यानडामा श्रम सम्झौताका लागि प्रस्ताव गर्दै सरकार

हिमाल प्रेस २८ भदौ २०८१ १४:०५ | Friday, September 13, 2024
अस्ट्रेलिया र क्यानडामा श्रम सम्झौताका लागि प्रस्ताव गर्दै सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।

काठमाडौंँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्ट्रेलिया र क्यानडासँग श्रम सम्झौताका लागि प्रस्ताव गर्ने भएको छ। क्यानडा र अस्ट्रेलियालाई नयाँ रोजगार गन्तव्य देशका रूपमा विकास गर्न श्रम सम्झौताको मस्यौदा तयारी भइरहेको वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले जानकारी दिए।

श्रम मन्त्रालयले चालु आर्थिक वर्षमा नयाँ रोजगार गन्तव्य देश खोज्न कमिटी बनाएको थियो। कमिटीले यस वर्ष क्यानडा र अस्ट्रेलियालाई नयाँ रोजगार गन्तव्य देशका लागि छनोट गर्न श्रम मन्त्रालयलाई सुझाव दिएको छ। सोही सुझावका आधारमा क्यानडा र अस्ट्रेलियालाई नयाँ रोजगार गन्तव्य देशका लागि छानिएको उप्रेतीले बताए।

‘क्यानडा र अस्ट्रेलिया अध्ययन गर्न गएका नेपाली रोजगारीमा कार्यरत छन्। सरकारले यी देशसँग श्रम सम्झौता गरेर वैदेशिक रोजगारीमा कामदार पठाउन खाजेको छ। जसका लागि अध्ययन र मस्यौदा बनाउने काम भइरहेको छ’, उनले भने। उप्रेतीका अनुसार क्यानडा र अस्ट्रेलियामा कस्ता कामदारको माग बढी छ भनेर अध्ययन भइरहेको छ।

बोर्डका अनुसार क्यानडा र अस्ट्रेलिया सूचना प्रविधि, उद्योग, होटल, ड्राइभर र कृषि क्षेत्रमा कामदार पठाउने गरी प्रस्ताव गर्न लागिएको छ। दुई देशमा गरी वार्षिक तीन हजार कामदार पठाउन पहल गरिने उप्रेतीले बताए।

सरकारले गत आर्थिक वर्षमा विकसित देश जर्मनी र रोमनियासँग श्रम सम्झौता गरेको थियो। रोमनियामा म्यानपावर कम्पनीले कामदार पठाइरहेको छ। सरकारले भने पठाउन सकेको छैन। श्रम सम्झौतामा भने सरकारले पनि कामदार पठाउने उल्लेख छ। जर्मनसँग जिटुजी मोडलमा कामदार पठाउन श्रम सम्झौता भएको थियो। श्रम सम्झौता भएको एक वर्षसम्म पनि सरकारले जर्मनी कामदार पठाउन सकेको छैन।

प्रकाशित: २८ भदौ २०८१ १४:०५ | Friday, September 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast