 
                             
                                            न्युयोर्क- अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग शहरमा भएको इन्ट्रा कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ रुकुम र महिलातर्फ बेलमन्ट टिमले जितेका छन्।
पुरुष फाइनलमा रुकुम टिमले सजनी टिमलाई ३–२ को सेटमा हराउँदै उपाधि जितेको हो। नेपालको कर्णाली प्रदेशअन्तर्गत रुकुमबाट आएर अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने खेलाडी रुकुम टिममा सम्मिलित छन् भने सुदूरपश्चिम प्रदेशबाट अमेरिका आएर टेक्सासमै बसोबास गर्ने खेलाडी सजनी टिममा समावेश छन्।
उपाधि जित्ने रुकुम टिमले १० तोला सुनको गोल्डकप र १२ हजार डलर प्राप्त गरेको छ। विजेता टिमलाई आयोजक संस्था ‘इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’का अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार हस्तान्तरण गरेका थिए।
त्यसैगरी, महिला भलिबलतर्फको उपाधित मेरिल्याण्ड राज्यको नेपाली क्लब बेलमन्टले जितेको छ। नेपाली राष्ट्रिय खेलाडी सिपोरा गुरुङ र रमिला तण्डुकार सम्मिलित बेलमन्टले १० तोला सुनको गोल्डकप र नौ हजार डलर जितेको छ।
प्रतियोगितामा पुरुषतर्फ उपविजेता बनेको सजनी टिमले आठ हजार डलर र महिलातर्फको उपविजेता बिवाइएससी मिनीसोटाले छ हजार डलर पुरस्कार प्राप्त गरेका छन्। खेलको नियमानुसार सुनको ट्रफी हात पार्न लगातार तीनपटक जित्नुपर्ने हुन्छ। पुरुष विजेता रुकुम टिम र महिला विजेता बेलमन्टले लगातार दुईपटक इन्ट्रा कप भलिबल प्रतियोगिता जितिसकेका छन्। अब एकपटक दुवै टिमले जिते सुनको ट्रफी यी टिमले लग्नेछन्।
पुरस्कार वितरण गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले खेल जितेर पुरस्कार रकम, ट्रफी र कपमात्र लिएर खेलाडी फर्किएको नभई नेपालीपन, नेपाली मन र नेपाली जातीय एकतालाई मजबुद बनाएको बताए। उनले नेपालीपन र नेपाली सांस्कृतिक एकतालाई संसारभर मजबुद बनाउन फाउण्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को दोस्रो संस्करण सन् २०२५ मा देखि सुरु गर्ने बताए।
खेल व्यवस्थापन समितिका संयोजक ओमराज गुरुङका अनुसार इन्ट्रा कप भलिबलको सर्वोत्कृष्ट खेलाडीमा महिलातर्फ बेलमन्टकी सिपोरा गुरुङ र पुरुषतर्फ रुकुम टिमका डेमोण्ड खड्का घोषित भएका थिए। प्रतियोगितामा पुरुषतर्फ तेस्रो हुन सफल सानफ्रान्सिस्को टिमले पाँच हजार डलर र महिलातर्फ फ्रेण्डसिप ओहायो टिमले तीन हजार डलर पुरस्कार प्राप्त गरेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 