आफ्ना पदाधिकारीमाथि हातपात गर्नेविरुद्ध कारबाही गर्न लुम्बिनी विकास कोषको माग

हिमाल प्रेस ९ असोज २०८१ २१:२५ | Wednesday, September 25, 2024
आफ्ना पदाधिकारीमाथि हातपात गर्नेविरुद्ध कारबाही गर्न लुम्बिनी विकास कोषको माग

लुम्बिनी- लुम्बिनी विकास कोषले निर्माण व्यवसायीसँग सम्बन्धित व्यक्तिबाट पदाधिकारीलाई गालीगलौजसहित लछारपछार गर्दै कुटपिट गरेको घटनामा खेदप्रकट गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल, लुम्बिनीमा यस खालको क्रियाकलाप हुनु अत्यन्यै निन्दनिय र खेदजनक रहेको भन्दै अभद्र गालीगलौज, हातपातमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न सरकारसँग माग गरेका हुन्।

‘राष्ट्रिय सभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीयहरु र कोषको संयुक्त आयोजनामा लुम्बिनी विकास कोषको कार्यान्वयन प्रगति अवस्था, आयोजना सम्पन्न गर्न देखा परेका समस्या, चुनौती र सम्पदा संरक्षण, सम्वर्द्धनको अवस्था लगायत समग्र लुम्बिनी क्षेत्रको विकास विषयक सरोकार पक्षसहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम लुम्बिनीस्थित होटल फाइभ ईलेमेन्टस्मा सम्पन्न गरी बाहिर निस्कने क्रममा होटल परिसरमै निर्माण व्यवसायीसँग सम्बन्धित केही व्यक्तिहरू आई हुल हुज्जत गर्दै कोषका उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवलाई गाली गलौज गर्नुका साथै लछारपछार गर्दै कुटपिट समेत गरेको घटनाले यस भगवान गौतम बुद्धको पवित्र जन्मस्थल, लुम्बिनीमा यस खालको क्रियाकलाप हुनु अत्यन्तै निन्दनीय र खेदजनक छ। लुम्बिनी विकास कोष यस्तो अभद्र गालीगलौज, हातपातमा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न नेपाल सरकारसँग माग गर्दछ,’ विज्ञप्तीमा भनिएको छ।

लुम्बिनी गुरुयोजना क्षेत्रभित्र कार्य गरिरहेका निर्माण व्यवसायीहरूको भुक्तानीको सम्बन्धमा केही दिनदेखि निर्माण व्यवसायीहरूले धर्ना गरिरहेकाकोमा कोषको तर्फबाट समस्या समाधानका लागि निर्माण व्यवसायीसँग पटकपटक बैठक बसेको समेत विज्ञप्तिमा भनिएको छ। भुक्तानीको सहजताका लागि कोषका कोषाध्यक्षको नेतृत्वमा सदस्य सचिव र योजना प्रमुख समेत निर्माण व्यवसायीका प्रतिनिधिहरुसँग असोज ७ गते दिउँसो बैठक बसी उपाध्यक्षको उपस्थितिमा भुक्तानी प्रक्रिया अगाडि बढाउने भन्ने अनौपचारिक सहमति समेत भैसकेको अवस्थामा घटना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘जहाँसम्म भुक्तानी प्रक्रियाको सन्दर्भ हो निर्माण कार्य सम्पन्न गरेका निर्माण व्यवसायीहरुलाई भुक्तानी रोक्ने कोषका पदाधिकारी तथा कर्मचारीहरूको कुनै मनसाय नरहेको व्यहोरा अनुरोध गर्दछौँ,’ सदस्य सचिव शाक्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ। कोषबाट गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा गरी भुक्तानी कार्य अगाडि बढाउन कोष सकारात्मक रहेको भन्दै त्यसका लागि कोषभित्र कार्यस्थलमा उपस्थित भई काम गर्ने उचित वातावरण तयार भएमा मात्र सम्भव हुने समेत विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: ९ असोज २०८१ २१:२५ | Wednesday, September 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast