पर्यटनमन्त्रीले पाण्डेले गरे लुम्बिनीको भ्रमण

हिमाल प्रेस १५ भदौ २०८१ १७:४८
22
SHARES
पर्यटनमन्त्रीले पाण्डेले गरे लुम्बिनीको भ्रमण

लुम्बिनी – संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेले शनिबार बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन्। पर्यटन मन्त्री भएपछि पहिलो पटक लुम्बिनी आएका मन्त्री पाण्डेले मायादेवी मन्दिर, मार्कर स्टोन, अशोक स्तम्भ, पुष्पकरणी पोखरीसँगै शान्ति दीप, थाई विहार, जर्मन मन्दिरको भ्रमण गरेका हुन्।

भ्रमणका क्रममा मन्त्री पाण्डेले पुरातात्विक महत्व, धार्मिकपक्ष तथा सम्पदा संरक्षणका विषयमा चासो राखेका थिए। उक्त अवसरमा उपाध्यक्ष डा.ल्हारक्याल लामाले लुम्बिनीको पछिल्ला दिनमा भएका कामलगायतका विषयमा जानकारी गराए भने कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले बुद्धजन्मस्थलका पुरातात्विक महत्व, लुम्बिनी गुरुयोजना लगायतका विषयमा जानकारी दिए।

भ्रमणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पाण्डेले विश्वभरका मानवलाई सतमार्ग र सदचारमा हिँडाउने गौतमबुद्धको भूमिमा टेक्न पाउँदा निकै उत्प्रेरित बनेको बताए। उनले बुद्धभूमिबाट शान्ति र सहकार्यको सन्देश फैलाउने गरी काम गर्नुपर्ने बताए।

मन्त्री पाण्डेले लुम्बिनीबाट विश्वमा बुद्धको सत्मार्ग र सदाचारको सन्देश दिनुपर्ने बताउँदै यसका लागि लुम्बिनी विकास कोषसँगै समुदाय, पर्यटन व्यवसायी र लुम्बिनीमा रहेका गुम्बा विहारहरुका बीच एकता आवश्यक रहेको बताए।

उनले परिषद बैठकका सन्दर्भममा स्थानीयहरुका माग र गुनासाहरुको समेत सुनुवाई गरेको बताउँदै अब सबै पक्ष मिलेर पृथ्वीको एउटा कुनाबाट बुद्धको सन्देश फैलाउनुपर्नेमा जोड दिए। ‘लुम्बिनी संस्कृतिको प्रतिक हो, सगरमाथा प्रकृतिको शिखर हो,’ मन्त्री पाण्डेले भने, ‘मन्त्रालयले यी दुवैलाई जोडेर काम गर्ने योजना अघि सार्नेछ।’

उनले साँस्कृतिक दृष्टिले उत्कृष्टस्थल लुम्बिनी र प्रकृतिले सर्वोच्च शिखर सगरमाथालाई जोडे्र पर्यटक आर्कषित गर्न सकिने बताए। यसअघि मन्त्री पाण्डेको अध्यक्षतमा बसेको परिषद बैठकमा लुम्बिनी विकास कोषको आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति कार्यक्रम तथा अनुमानित बजेट पेश भएको थियो। बैठकमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले आन्तरीक तर्फ ३७ करोड ११ लाख र नेपाल सरकारको गुरुयोजनाको बहुवर्षीय कार्यक्रमका लागि ४४ करोड गरी ७६ करोड ९८ लाखको अनुमानित बजेट परिषदमा पेश गरेका छन्।

यस्तै सदस्य सचिव सानुराजा शाक्यले दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार वितरणको प्रकृया अगाडि बढाउने, लुम्बिनी वल्र्ड हेरिटेज कन्फ्रेन्स गर्न सरकार समक्ष अनुरोध गर्ने लगायतका कार्यक्रम सहितको नीति कार्यक्रम पेश गरेका छन्।

परिषदमा पेश भएका नीति कार्यक्रम र बजेटमाथि व्यापक छलफल गरी लुम्बिनीको प्रवद्र्धन, विकास, स्थानीय समुदायसँग जोड्ने र लुम्बिनी विश्व सम्पदाका रुपमा स्थापित गर्ने गरी अर्को बैठकले पारित गर्ने गरी सकिएको कोषले जनाएको छ।

कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विश्वमै नेपाल चिनाउने सम्पदा भएकाले यसको महत्वलाई अझ अन्तर्राष्ट्रियकरण गर्ने गरी स्पष्ट योजना देखिने गरी अर्को परिषद बैठक मार्फत पारित गर्ने बताए।

बैठकमा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले आफू लुम्बिनी बनाउने दृढ संकल्पका साथ जिम्मेवारी निर्वाह गरेको बताउँदै आम्दानी निकै थोरै भएकाले चाहेर पनि धेरै कामहरु गर्न नसकिएको बताए। उनले आगामि दिनमा रचनात्मक कामका साथ बुद्धजन्मस्थल लुम्बिनीको विकासमा मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए।

बैठकमा मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, उपप्रमुख कल्पना हरिजन आमन्त्रित सदस्यका रुपमा तथा कोषका योजना प्रमुख स्मिता भट्ट, बोर्ड सदस्य, परिषद सदस्यहरुको उपस्थिती थियो।

प्रकाशित: १५ भदौ २०८१ १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast