द्वन्द्वपीडितका कथा ‘स्मृतिका लयहरू’

हिमाल प्रेस १४ भदौ २०८१ १८:११
84
SHARES
द्वन्द्वपीडितका कथा ‘स्मृतिका लयहरू’

काठमाडौँ- नेपालमा चलेको एक दशक लामो द्वन्द्वका पीडितको कथा र उनीहरूको भोगाइ समेटेर मञ्चन गरिएको नाटक हो ‘स्मृतिका लयहरू’। २०५२ देखि २०६२ सम्म भएको द्वन्द्वमा बेपत्ता पारिएको पीडितको कथालाई कवितात्मक शैलीमा अभिनयमार्फत शुक्रबार काठमाडौँको मण्डला थिएटरमा ‘स्मृतिका लयहरू’ नाटक मञ्चन गरिएको हो।

उमेश तामाङको परिकल्पना र निर्देशनमा तयार पारिएको नाटक काव्यशैलीमा मञ्चन गरिएको थियो। नाटक मण्डला आलुम्नाई सर्कल टिमले तयार पारेको हो। नाटकमा कवि तथा रंगकर्मीले पाँच शीर्षकमा कविता वाचन गरे फरकफरक द्वन्द्वपीडितको कथा समेटेर।

काठमाडौँ, चितवन र तनहुँका विभिन्न द्वन्द्वपीडित व्यक्ति र परिवारहरुलाई भेटेर उनीहरुको भोगाइलाई कवितामार्फत नाट्यस्वरुपमा प्रस्तुत गरिएको टिमले जनाएको छ।

मञ्चमा रंगकर्मी मिलन कार्की, सन्तोष गिरी, समृद्धि नेपाल र आकाश नेपालीले कवितालाई शरिरको हाउभाउ, चालअनुसार पीडितको भावनालाई उजागर गर्ने कोसिस गरे। रंगकर्मी सागर खाती कामीले संगीतमार्फत त्यसलाई न्याय दिने प्रयास गरेका थिए।

कवितामा पीडितहरू कसरी बाँचिरहेका छन् भन्ने भाव व्यक्त गरिएको थियो। क्रोध भावमा अगाडि उभिएर संयोग गुरागाईंले ‘तस्बिरमा उपस्थित मान्छे’ शीर्षकमा कविता वाचन गरे। उनले २२ वर्षदेखि एउटै फोटोमा अनुहार हेरेर परिवार आउने आशमा बसेकी आरतीको वेदना पोखेका थिए।

वेदना राईले ‘एक जोर पाइला’ शीर्षकमा बुवा बेपत्ता भएर खोजीमा भौँतारिरहेकी छोरीको भावना प्रस्तुत गरेकी थिइन्। कतिपय पीडितहरु न्याय पाउने आसमै ज्यान घुमाइसके। न पीडितले राज्यपक्षबाट प्रश्नको जवाफ पाएका छन् न न्याय नै। यस्तै भावना समेटिएको थियो उनको कवितामा।

बाँदरमुढे घटनासँग सम्बन्धित रहेर ‘बाँदरमुढे ः एक मृगमरीचिका’ शीर्षकमा अन्जान प्रदीपले कविता वाचन गरे। बाँदरमुढे घटनाका पीडितकारुको छटपटिएको जीवनको अभिव्यक्ति उनको कवितामा थियो।

‘होलटाइमर’ शीर्षकमा प्रविना गोलेको घटनासँग सम्बन्धित रहेर अनुप न्यौपानेले कविता वाचन गरे। ‘नभेटिएको तिमी’ शीर्षकअन्तर्गत सात महिनाको सुत्केरी हुँदा हराएका पतिको खोजीमा भौँतारिरहेकी पीडित शान्ति अधिकारीको कथा समेटिएको कविता लक्ष्मी वर्देवाले लखेकी हुन्।

मण्डला थिएटर नेपालले विगत ९ वर्षदेखि बर्सेनि जबर्जस्ती बेपत्ता पारिएका परिवारहरुको सञ्जालँग मिलेर ३० अगस्टमा नाटक प्रस्तुत गर्दै आएको छ। पहिलोपटक २०१५ मा नाटक ‘मेमेरी ३० अगस्त’ मञ्चन गरिएको थियो।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रपतिबाट हालै प्रमाणीकरण भएको छ। यससप्रति आएका फरक टिप्पणी र धारणाहरुले सम्बन्धित समुदायको घाउमा मलम लगाउन नसकेको अधिकारकर्मीहरू बताउँछन्।

प्रकाशित: १४ भदौ २०८१ १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 14 =