स्कुलको रकम हिनामिना प्रकरण : कारबाहीबिनै उम्किँदै प्रधानाध्यापक तिम्सिना

विवेक विवश रेग्मी १४ भदौ २०८१ १७:३९
22
SHARES
स्कुलको रकम हिनामिना प्रकरण : कारबाहीबिनै उम्किँदै प्रधानाध्यापक तिम्सिना

इटहरी- ८० लाख रकम हिनामिना गरेको आरोप लागेको श्री शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनालाई इटहरी उपमहानगरपालिकाले बिना कारबाही उन्मुक्ति दिएको छ। इटहरी- १४ मा रहेको उक्त विद्यालयका प्रधानाध्यापक तिम्सिनामाथि करिब ८० लाख  रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो।

रकम हिनामिनामा आफहरू पनि मुछिने डरले प्रधानाध्यापक तिम्सिनामाथि कुनै कारबाही नगरी उन्मुक्ति दिन लागिएको उपमहानगरका एक पदाधिकारीले बताए। प्रधानाध्यपक तिम्सिनाले रकम भने फिर्ता गरिसकेका छन्।

आर्थिक वर्ष २०७९/८० मा शिक्षकको तलब शीर्षकको बजेटमा उपमहानगरले विद्यालयलाई ८ लाख ७३ हजार ६८३ रुपैयाँ रकम भुक्तानी गर्नुपर्ने थियो। तर उपमहानगरबाट ७८ लाख ६३ हजार बढी भुक्तानी  भएको थियो। ८,७३,६८३ रुपैयाँ निकासा हुनुपर्नेमा एउटा ६ बढी थिचिएका कारण सो रकम बढी गएको उपमहानगरले दाबी गर्दै आएको छ।

विद्यालयको खाता २२२०१००००१३९६०१ नम्बरमा संघीय सरकारको बजेटबाट उक्त रकम जम्मा भएको थियो। इटहरीका ३६ वटै सामुदायिक विद्यालयलाई उपमहानगरले २०७९ असोज ५ गते राष्ट्रिय वाणिज्य बैँकको खातामार्फत कुल ६ करोड ३० लाख ६१ हजार ६६० रुपैयाँ जम्मा गरेको थियो।

जसमध्ये शान्ति विद्यालयलाई ८ लाख ७३ हजार ६८३ रुपैयाँ रकम उपलब्ध गराउनुपर्ने थियो। उपमहानगरबाट भने ७८ लाख ६३ हजार बढी रकम भुक्तानी भयो। उक्त रकम भुक्तानी भएको २२ महिनासम्म प्रधानाध्यापक तिम्सिनाले जानकारी गराएनन्। उक्त रकमबारे विद्यालय व्यवस्थापन समितिलाई पनि थाहा भएन।

आन्तरिक लेखा परीक्षणबाट उक्त रकम बढी गएको खुलेपछि घटना सामसुम बनाउने प्रयास गरिएको थियो। समाचार सार्वजनिक भएपछि इटहरी उपमहानगरपालिकाले छानबिन समिति बनायो।

इटहरी उपमहानगरपालिकाका ‘कर्मचारीहरू मुछिने डर’ले प्रधानाध्यापक तिम्सिनालाई उन्मुक्ति दिन लागिएको उपमहानगरका ती पदाधिकारीले बताए। घटनालाई नजिकबाट नियालिरहेका ती पदाधिकारी भन्छन्, ‘उपमहानगरकै कर्मचारीको चरम लापरबाहीका कारण बढी पैसा भुक्तानी भयो। बढी पैसा भुक्तानी भएको २२ महिनासम्म थाहा नहुनु र खोजी नगरिनुले पनि कर्मचारी संलग्न भएको आशंका छ।’

उपमहानगरकै कर्मचारीको गल्तीका कारण बढी रकम भुक्तानी भएपछि ‘झारा टार्न’का लागि मात्रै छानबिन समिति बनाइएको उनको आरोप छ। ‘छानबिन समिति झारा टार्नका लागि बनाइएको देखियो,’ उनले भने, ‘उपमहानगरबाटै टिप्पणी उठेर बढी रकमबारे कर्मचारीहरू पनि तैँ चुप, मै चुपको अवस्था भयो। तिम्सिनाबाट रकम असुली भए पनि उनीमाथि कारबाही गर्न उपमहागर तयार देखिएन।’

शिक्षा शाखाबाट टिप्पणी उठेर तोक लागेपछि प्रमुख प्रशासकीय अधिकृतले प्रमाणित गरी लेखा शाखाबाट भुक्तानी भएको थियो। शिक्षा शाखा, लेखा शाखा र प्रमुख प्रशासकीय अधिकृत पनि जोडिने भएकाले छानबिन समिति देखावटीका लागि मात्रै बनाइएको जानकारहरू बताउँछन्।

प्रमुख प्रशासकीय अधिकृत मेहता भन्छन्, ब्याजसहित सबै रकम फिर्ता भयो

लेखा अधिकृत लखन चौधरीको संयोजकत्वमा प्रशासन अधिकृत सञ्जीव खड्का र कानुन अधिकृत कमलराज पोखरेल सदस्य रहने गरी छानबिन समिति बनाइएको थियो। समितिले बिहीबार प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहतालाई छानबिन समितिले प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा बढी गएको रकम बुझाउनुपर्ने भएकाले यसअघि नै बुझाइसकिएको उल्लेख छ।

प्रमुख प्रशासकीय अधिकृत मेहताले भने, ‘सबै पैसा हर्जनासहित बुझाएको र भुलवश उपमहानगरबाट पैसा गएको कुरा प्रतिवेदनमा उल्लेख छ।’ समितिले साउन ३२ गतेसम्म प्रतिवेदन बुझाइसक्नुपर्नेमा दुई साता ढिलो गरी प्रतिवेदन बुझाएको छ। साउन ३० गतेभित्रै रकम घोटाला गर्ने प्रधानाध्यापक तिम्सिनाले १० प्रतिशत हर्जनासहित रकम बुझाएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

‘यति-यति रकम, यो-यो मितिमा बुझाएको र भौचर नम्बरसहित उल्लेख गरेर प्रतिवेदनमा राखिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत मेहताले भने, ‘सरकारी ब्याजसहित सबै रकम फिर्ता भएपछि यो मुद्दाको टुंगो लागेको छ।’

तर्साउनका लागि समिति!

त्रुटिका कारण बढी रकम गएको मेहताको दाबी छ। उनले पनि प्रधानाध्यापकलाई कारबाहीको सिफारिसभन्दा आफूहरूको लक्ष्य रकम उठाउनु रहेको बताए।  ‘हाम्रो लक्ष्य सो रकम जम्मा होस् भन्ने थियो। सरकारको पैसा जसरी पनि जम्मा हुनुपर्छ भन्ने हाम्रो मुख्य मुद्दा थियो,’ उनले भने, ‘छानबिन समिति नबनाएको भए पैसा फिर्ता नहुन पनि सक्थ्यो। समिति बनाएपछि थ्रेट भएका कारण प्रतिवेदन आउनुअघि नै पैसा जम्मा भयो।’

प्रधानाध्यापक तिम्सिनालाई तर्साउन छानबिन समिति बनाएको उनको भनाइ छ। ‘अचेल त मान्छे गलत गरे पनि डराउँदैनन्। तर्साउनकै लागि पनि छानबिन समिति बनाएका थियौँ,’ उनले भने, ‘अब सबै पैसा बुझाइसकेको अवस्था छ। छानबिन समितिले अहिलेसम्म भएका सबै गतिविधि समेटेर तथ्यांकसहित प्रतिवेदन बुझाएको छ।’

उपमहानगरका कर्मचारीबाट भुलवश उक्त रकम विद्यालयको खातामा गए पनि जानकारी नगराएको र आन्तरिक लेखापरीक्षणबाट पत्ता लागेपछि सरकारी ब्याज सोसरह रकम फिर्ता गरिसकेकाले अब समस्या समाधान हुने मेहताले बताए।

तिम्सिनाले साउन ७ र साउन १४ को मितिमा सात-सात लाख र साउन ३० को मितिमा ६४ लाख ६५ हजार र साउन ३० कै मितिमा सात लाख ८६ हजार तीन सय रकम उपमहानगरलाई फिर्ता गरेको बताए।

यसअघि समाचार सार्वजनिक भएपछि प्रधानाध्यापक तिम्सिनाले स्थानीय अभिभावक, विद्यालय व्यवस्थापन समितिसँग आफूबाट गल्ती भएको स्वीकार गर्दै बचाइदिनसमेत आग्रह गरेका थिए। ‘मबाट गल्ती भयो। मेरो पद र जागिर जोगाइदिनुहोस्’, उनले भनेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रम्तुल मियाँले लेखापालले समेत थाहा नपाउने गरी प्रधानाध्यापक तिम्सिनाले किर्ते हस्ताक्षर गरी रकम अपचलन गरेको आरोप लगाए। रकम अपचलन गरेको आफूहरूलाई समाचारमार्फत मात्रै थाहा भएपछि कारबाही गर्न उपमहानगरलाई जानकारी गराइएको उनले बताए।

किर्ते हस्ताक्षर गरी पैसा झिकेको थाहा हुँदाहुँदै पनि प्रधानाध्यापक तिम्सिनालाई चोख्याउन खोजेपछि उपमहानगरको नियतमाथि प्रश्न उब्जिएको छ। प्रधानाध्यापक तिम्सिना नेकपा एकीकृत समाजवादी निकट प्रगतिशील राष्ट्रिय शिक्षक संगठनबाट प्रतिनिधित्व गर्दै नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्यसमेत हुन्। उनी केन्द्रीय सदस्य भएपछि पार्टीको शक्तिमा आफ्नो दबदबा देखाउँदै आएका छन्। पार्टीका नेताहरूकै दबाबका कारण पनि प्रधानाध्यापक तिम्सिनालाई चोख्याइएको टिप्पणी हुन थालेको छ।

सात लाख पाउनुपर्ने विद्यालयले ८८ लाख रुपैयाँ पाएपछि…

 

प्रकाशित: १४ भदौ २०८१ १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =