एसिड प्रहारले पीडा दियो, कानुन बनाउँदा खुसी

किरण पौडेल १४ भदौ २०८१ १७:५७
140
SHARES
एसिड प्रहारले पीडा दियो, कानुन बनाउँदा खुसी एसिड प्रहार हुनुअघि र उपचारपछिकी विन्दबासिनी कंसाकार।

काठमाडौँ- एसिड प्रहारबाट अनुहार क्षतविक्षत भएपछि अभिभावकले उपचारका लागि एक करोड रुपैयाँभन्दा धेरै खर्च गरे। त्यति गर्दा पनि विन्दबासिनी कंसाकारले अनुहार पहिलेकै अवस्थामा आउन सकेन। यस क्रममा उनले भागेको पीडाको सूची लामै छ।

अहिले उनी पीडा भुलेर  तेजाब प्रहार विरोधी कानुन निर्माणमा सक्रिय छिन्। कानुन कार्यान्वयन भएमा आफूले जस्तो सास्ती अरूले भोग्न नपर्नेमा कंसाकार आशावादी छिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य बिन्दबासिनी आफ्नै कर्मले खुसी दिन थालेको बताउँछिन्। एकातिर ‘नसोचेको प्रगति’ र अर्कोतिर ‘जलनसम्बन्धी बन्दै गरेको कानुन’ ले कंसाकारमा उत्साह थपिएको हो। प्रतिनिधिसभामा ‘मानव शरीर जलन नियन्त्रण तथा सजायसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१’ दर्ता भएपछि उनमा जीवनप्रति आशा पलाएको छ। समाजमा आफूजस्तै पीडितका पक्षमा केही गर्न पाएकामा सन्तुष्टि पनि।

विधेयक कंसाकारकै अगुवाइमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दर्ता गरेको हो। जलनको पीडा र छटपटाहट कस्तो हुन्छ, सांसदमध्ये सबैभन्दा भुक्तभोगी हुन् कंसाकार। यसैले विधेयक ल्याउन उनले अग्रसरता देखाइन्। अर्को कुरा, विधेयक  आफ्नै पार्टीका सांसद र वकिलको सहयोगमै बनाइन्।

उनले भनिन्, ‘म आफैँ जलनसम्बन्धी विज्ञ बनिसकेँ। जलनको पीडा जल्नेलाई नै हुँदो रहेछ। आफ्नै दलका नेताको सहयोगमा विधेयक तयार पारेँ।’ विधेयक पारित हुने चरण भने बाँकी नै छ।

बर्सेनि तेजाब हान्ने घटना बढिरहेका छन्। कंसाकारका मनमा यसले थप पीडा थोपर्छ। उचित कानुन नहुँदा पीडक ‘कम कसुरमा कैद भुक्तान’ गरिरहेको उनले भोगेकी/देखेकी छन्। कानुन बनेपछि पीडकलाई सजाय हुने उनको विश्वास छ।

जुन दिन कंसाकारको खुसी खोसियो

कंसाकार १२ कक्षा पढ्थिन्। कुनै दिन एउटा युवकले सँगै जीवन जिउने प्रस्ताव राख्यो। विन्दबासिनीले निर्णय गर्न सकिनन्। उनले त्यो क्षण सम्झिइन्, ‘उसले प्रस्ताव गरेपछि मैले अभिभावकसँग कुरा गर्नू, मलाई मात्रै कर नगर्नू भनेकी थिएँ।’ उनको त्यो अनुरोध यति महँगो पर्‍यो कि त्यसको ‘क्षतिपूर्ति’ जीवनभर भोग्नुपर्ने भएको छ। उनी भन्छिन्, ‘सँगै बाँच्ने प्रस्ताव राखेको व्यक्तिले ‘मरण’ नजिक पुर्‍याएर गयो। प्रेमिल ‘जीवन’ दिन्छु भन्नेले नै ‘बिभत्स पीडा’ दिएर गयो।’

भनिन्छ, ‘नखाएको बिख लाग्दैन’। यो भनाइ कंसाकारलाई उचित लाग्दै। अहिले उनी नगरेको गल्तीको ‘सजाय’ भोगिरहेकी छन्। घटना २०७० वैशाख ९ गतेको हो। उनी हेटौँडा बजारस्थित पीपलबोट नजिकै भाँडा पसलमा थिइन्। बुवाको पसल भएकाले कंसाकारले कहिलेकाहीँ पालो दिनुपर्दथ्यो।

सामान्य चिनजान भएको व्यक्ति पसलमा आयो। केही चिज अनुहारमा प्रहार गर्‍यो। अनुहारमा छ्यापिएको तरल पदार्थ के हो, उनले तत्काल पत्तो पाइनन्। सुरुमा त पानी होला भन्ने लाग्यो। दुख्न र पोल्न थालेपछि उनको मनमा चिसो पस्यो।

‘पीडा बढ्दै गयो। पानी होइन भन्ने लाग्यो’, कंसाकार सम्झिन्छिन्। उनी घरतिर कुदिन्। ‘कराउँदै घर गएँ। अरूले पनि अत्यासलाग्दो तरिकाले हेर्नुभयो,’ उनले भनिन्, ‘बुवाले चाल पाइहाल्नुभएछ, अनुहारमा एसिड छ्यापिएको थियो।’  कंसाकारको शरीरको एसिड बगाउन पानी हालियो। ‘धेरै पानी हाल्दा पनि एसिड बगेन। पोल्न छाडेन’, कंसाकार सुनाउँछिन्।

अस्पताल परिवर्तन भइरह्यो, पीडा घटेन

तत्काल उनलाई हेटौँडा सामुदायिक अस्पताल लगियो। अस्पतालले उनको अनुहारमा क्रिम लगाइदियो। ‘क्रिम लगाएपछि झनै समस्या भयो। पखालेको भए अनुहार कम बिग्रिन्थ्यो कि जस्तो लाग्छ’, उनले भनिन्।

सामुदायिक अस्पतालको उपचारले उनलाई छोएन। उनलाई आँखा अस्पताल लगियो। सामुदायिक अस्पतालले लगाएको क्रिम पखालियो। थप उपाचारचाहिँ हुन सकेन। उपचार सम्भव नभएपछि काठमाडौँका लागि रिफर गरियो। त्यसपछि कंसाकारको उपचार काठमाडौँको बीएन्डबी अस्पतालमा सुरु भयो। थप उपचार त्यहाँ पनि सम्भव देखिएन।

अस्पताल परिवर्तन भइरह्यो। पीडामा मल्हम लागेन। चिकित्सककै सल्लाहमा नेपाल मेडिकल कलेजमा उपचार सुरु भयो। मुहारमा जलेको छाला निकालियो भने प्लास्टिक सर्जरी गरियो। तीन महिनामा पाँचपल्ट शल्यक्रिया गरेको उनी बताउँछिन्।

‘प्लास्टिक सर्जरी गरेर छाला तान्ने काम भयो,’ कंसाकार भन्छिन्, ‘कस्मेटिक सर्जरी गर्नुपर्ने कुरा आयो। नेपालमा सम्भव भएन। फेरि पर्‍यो फसाद! अब कहाँ जाने? दिल्लीमा उपचार हुन्छ भन्ने थाहा भयो।’

दिल्ली जाने/नजाने अन्योल थियो। उनका ठूलोबुवाको साथी तमिलनाडुमा बस्दा रहेछन्। ‘त्यतै जाने निधो भयो’, उनी भन्छिन्। तमिलनाडुकै देवदास अस्पतालमा उनको उपचार सुरु भयो। उनी अहिले पनि बेलाबेलामा त्यहीँ उपचार गर्न पुग्छिन्। घटना भएको १० वर्ष बितेको छ। ‘मेरो अनुहारमा अप्रेसन त कति भयो/भयो,’ उनी भन्छिन्, ‘अनुहार पहिलाजस्तो बनाउन सकिएन।’

जसले कंसाकारलाई पीडामा पुर्‍यायो

कंसाकारका फुपूका छोराको साथी पर्ने एक व्यक्ति बजारमा आएका थिए। बजारमा आउजाउ भइरहने भएकाले त्यति ख्याल गरिनँ। एक दिन त्यो व्यक्तिले आफूलाई प्रेमप्रस्ताव राखेको कंसाकार बताउँछिन्।

उनले भनिन्, ‘उसले प्रस्ताव राखेपछि मैले घरमा कुरा गर्नुपर्छ भनेँ। उसले निरन्तर दबाब दिइरह्यो।’ बुझ्दै जाँदा भारतको महाराजगन्जस्थित अमरपुर–६ स्थायी ठेगाना भएको त्यो व्यक्तिको नाम दिलीपराज केसरी रहेछ। एसिड छाप्नुअघि पनि केसरी पसलमा आउजाउ गरिरहन्थे।

‘मलाई टर्चर दिइरह्यो। एक दिन बुवाले उसलाई सम्झाउनु भा’थ्यो,’ कंसाकार सम्झिन्छिन्, ‘अबदेखि यताउता नआउनू मात्रै भन्नुभएको थियो। गाली गरेको पनि होइन’, उनले भनिन्।

वैशाख ९ गते दिउँसो पसलमा उनीमात्र थिइन्। त्यसै बेला केसरी पसलमा आए। सुरुमा कंसाकारले उसलाई पसल नआउन भनिन्। ‘एउटी केटी मात्र भएको ठाउँमा केटा आउँदा समाजले राम्रो नजरले हेर्दैन भनेर मैले नआउन भनेँ,’ उनी भन्छिन्, ‘उसले महको बट्टाजस्तोमा केही ल्याएको रहेछ। केही सामान होला भन्ने लाग्यो।’

त्यो बट्टा खोलेर दिलीपराजले कंसाकारलाई छ्यापिदिए। त्यो चिज एसिड रहेछ। घटना दुई सेकेन्डजतिको थियो। केसरी त्यहाँबाट भागे। फरार रहेपछि पनि उनमा अनेक पीडा आइलागे। कंसाकारसँग मागिन्थ्यो, ‘त्यो व्यक्ति किन फरार भयो?’

घटना भएको ६ वर्षपछि केसरीलाई २०७७ सालमा बाराको जितपुर सिमराको भलाइमा लुकेको अवस्थामा पक्राउ परे। केसरी पक्राउ परेपछि कंसाकार पनि प्रहरी चौकी पुगिन्। ‘जब म त्यहाँ (प्रहरी चौकी) पुगेँ, उसले मलाई घुरेर हेरिरहेको थियो। मैले सहनै सकिनँ,’ कंसाकारले भनिन्।

उदासियो जीवन

जुन दिन शरीरमा एसिड बर्सियो, त्यही दिनदेखि कंसाकारको जीवन मोडियो, पढाइ बिथोलियो अनि कक्षा १२ बाट अघि बढ्नै सकेन। पसलमा ताल्चा लाग्यो। भारतमा उपचार हुने भएपछि अभिभावक त्यसैमा खटिए। उपचारका लागि खर्च बढिरह्यो। ‘हाम्रो घरमा सबै थोकको समस्या एकैपटक आयो। काठमाडौँ आएर उपचार गर्नुपर्थ्यो। आउँदाजाँदाको खर्च नै एक पटकको ५ हजारभन्दा बढी हुन्थ्यो। त्यत्रो पैसा कहाँबाट ल्याउनु? उपचारको त छुट्टै भइहाल्यो’, कंसाकार भन्छिन्।

एकातिर उपचारले विद्यालय जान सम्भव थिएन, अर्कातिर अनुहार देखेर समाजले प्रश्न गर्थ्यो। ‘करोडभन्दामाथि त उपचार खर्च लाग्यो। हाम्रो परिवारले धान्न सक्ने कुरै भएन’, उनी भन्छिन्, ‘कहिलेकाहीँ त कोठाबाट बाहिर ननिस्कियूँ। समाजलाई अनुहार नदेखाऊँ। के गर्ने? समाजमै बसेपछि नदेख्ने कुरै भएन।’

उपचार प्रक्रिया सकिएपछि कंसाकारमाथि पनि दायित्व थपियो। परिवारको खर्च टार्न र उपचारमा मद्दत जुटाउन उनी जागिरका लागि अनगिन्ती संस्था पुगिन्। ‘म काम खोज्न जुनजुन कार्यालयमा पुग्थेँ त्यहाँबाट कहिल्यै सकारात्मक जबाफ आएन,’ भावुक हुँदै कंसाकारले भनिन्, ‘मेरो अनुहारमा समस्या थियो हातले गर्ने काम पनि पाइनँ।’
कंसाकार लामो समय बेराजगार बसिन्। परिवारकै माध्यमबाट बाँचिन्। ‘मलाई परिवारले कहिल्यै एक्ल्याएन’, कंसाकार भन्छिन्।

यसपछि उनी अभियन्ता बनिन्

कंसाकारमाथि एसिड प्रहारलगत्तै यस्ता अन्य घटना पनि भए। अधिकांश घटनाका पीडित बन्थे युवती। एसिड प्रहारको कारण उही हुन्थ्यो, प्रेम प्रस्ताव अस्वीकर गरेको वा भनेको नमानेको। पीडा कंसाकारकै जस्तो। टीभी र रेडियोमा देखिने र सुनिने यस्ता घटनाले कंसाकारको मन रुन्थ्यो। उनलाई झनै कमजोर बनाउँथ्यो। त्यस्तै घटना भयो २०७१ साल फागुनमा काठमाडौँको वसन्तपुरमा। दुई किशोरीमाथि एसिड प्रहार भयो। त्यसपछि भने कंसाकारको चेत खुल्यो।

‘हरेक दिन समस्या आउँछ। यसलाई डटेर अघि बढ्नुपर्छ भन्ने लाग्यो,’ कंसाकार भन्छिन्। अनुहारमा लुगाले ढाकेर हिँड्दै आएकी कंसाकार बाहिर हिँड्दा अनुहार नछोप्ने निचोडमा पुगिन्। त्यतिमात्रै होइन एसिड प्रहारका घटनाविरुद्ध लड्ने संकल्प गरेको उनी स्मरण गर्छिन्।

‘समाजसँग नडराउने पक्षमा पुगेँ। वसन्तपुरमा भएको कार्यक्रममा तेजाबलगायतका प्रज्वलनशील पदार्थ जथाभावी बेच्न रोक लगाउनुपर्ने र पीडकलाई कडा कारबाही हुनुपर्ने विषयमा आवाज उठाएँ’, विन्दबासिनीले भनिन्। उनले अन्य पीडितका लागि न्यायका लागि आवाज उठाउन थालिन्।

अभियन्ताका रूपमा स्थापित हुन थालेपछि उनले कुमारी बैंकमा काम पनि पाइन्। ‘हिम्मत नहारे मात्र हाम्रो समाजमा बाँचिने रहेछ,’ कंसाकार भन्छिन्, ‘घरभित्रै बसेको भएको भए अहिले पनि गुमनाम हुन्थेँ म।’

समाजलाई दिन नसकेको उत्तर

जलनको पीडा उनीसँग थियो। समाजले भने उनलाई पीडकझैँ हेर्थ्यो। एक किसिमले त कंसाकारको जीवन ओरोलो गतिमा थियो। उनमाथि प्रश्न थिए, ‘तिम्रो कमजोरी बिना कसरी एसिड प्रहार भयो? किन तिम्रो पीडक पक्राउ परेन?’ लामो समय उनले यी प्रश्नको उत्तर दिन सकिनन्। किनभने उनीसँग जबाफ थिएन। कंसाकारको गुनासो छ, ‘एसिड मलाई प्रहार भयो समाजले पनि मलाई नै दोषी देख्यो।’

कंसाकारले ‘मेरो दोष थिएन’ भनिरहिन्। समाज किन पत्याउँथ्यो र! अनि अर्को प्रश्नको जबाफ भने उनले घुमाउरो शब्द दिन्थिइन्, ‘यो देश राजा मारिएको देश हो। हत्यारा नभेटिएको देश हो, तर म त सर्वसाधारण हुँ। दोषी पक्राउ नपर्नु सामान्य कुरा हो।’ कहिलेकाहीँ त उनी राज्य व्यवस्थाप्रति निराश हुन्थिन्। दोषी पक्राउ नपरेकोमा मर्माहत हुन्थिन्। दोषी पक्राउपछि समाजले एउटा प्रश्न ठोस जबाफ पायो। ‘समाजलाई जबाफ दिन सजिलो रहेनछ’, उनले भनिन्।

रविको एक कल फोनले राजनीतिमा

कंसाकारको लक्ष्य राजनीति थिएन। परिवारलाई भरथेग कसरी गर्न सकिन्छ भन्ने धाउन्नमौ थिइन् उनी। पहिले व्यापार गर्ने सोच राख्थिन्। बाध्यतामा परेर बैंकको जागिरे भएको उनले सुनाइन्।

२०७९ मा रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेको सुनेकी थिइन्। देश चुनावमा धकेलिँदै थियो। कंसाकार उपचारका लागि भारतमा थिइन्। सामाजिक अभियन्ता उज्ज्वलविक्रम थापाले फोन गरे। ‘रास्वपाले समानुपातिक सांसदका लागि दरखास्त मागेको छ। तिमी पनि देऊ’, थापालाई उधृत गर्दै कंसाकारले भनिन्।

कंसाकारलाई दरखास्त दिन मन थिएन। घरमा सल्लाह गर्ने जबाफ फर्काइन्। उज्ज्वलले धेरै सम्झाए। जलनसम्बन्धी काम गर्दा उज्ज्वलसँग कंसाकारको चिनजान भएको थियो। उज्ज्वलले फोन गरेको १५ मिनेटमा रवि लामिछानेले फोन गरे।

रविसँग पनि उनको चिनजान थियो। ‘एकपटक दसैँको समयमा रवि दाइले हामीलाई टीभी कार्यक्रममा बोलाउनुभा’थ्यो,’ कंसाकार भन्छिन्, ‘रवि दाइको प्रस्ताव अस्वीकार गर्नै सकिनँ।’ उनले समानुपातिक सूचीको फाराम भरेर पठाइन्। भारतबाट फर्किएपछि उनी राजनीतिमा सक्रिय हुनुपर्‍यो। बैंकको जागिर पनि छाड्नुपर्ने भयो।

असजिलो बन्यो संसद् प्रवेश

कंसाकारको राजनीति प्रवेश सहज थियो। संसद् प्रवेश भने असजिलो बन्यो। उनी रास्वपाको समानुपातिकतर्फ तेस्रो नम्बरमा परिन्। कंसाकारको क्लस्टरको पहिलोमा सुमना श्रेष्ठ र दोस्रोमा ढाकाकुमार श्रेष्ठ थिए। सोही क्लस्टरबाट दुईजना मात्र सांसद हुन पाउँथे। दुईजना सांसद बने। अब फेरि उनको जीवन कष्टकर बन्यो। बैंकको जागिर पनि गइसकेको थियो।

प्रतिनिधिसभा सदस्यको शपथ लिँदै विन्दबासिनी कंसाकार।

‘ममाथि आर्थिक समस्या आइलाग्यो। फेरि जागिर खोज्न लागेँ’, कंसाकार सम्झिन्छिन्। २०७९ चैतमा ढाकाकुमारले व्यापारी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भयो।

मन्त्री बन्नका लागि दुई करोड चाहिने भन्दै प्रसाईंसँग पैसा मागेको विवरण सार्वजनिक भएपछि ढाकाकुमारको सांसद पद रास्वपाले खोस्यो। २०७९ चैत २९ को रास्वपा केन्द्रीय समिति बैठकले ढाकाकुमारलाई हटाएपछि कंसाकारको संसद् प्रवेश निश्चित बन्यो। उल्झन भने टरेन। रास्वपाका सांसदले समेत असन्तुष्ट देखिए। २०८० वैशाख २५ मा निर्वाचन आयोगले कंसाकारलाई सांसद बनाउने रास्वपाको निर्णय सदर गर्‍यो। त्यसपछि भने कंसाकारको सांसद बाटो रोकिएन।

अनि जुटिन् एसिडविरुद्धको ‘कानुन’ निर्माण

जेठ १५ मा कंसाकारले शपथ लिइन्। उनको संसद् प्रवेशको औपचारिक ढोका खुल्यो। २०८० जेठ ३२ गते पहिलो पटक संसद्मा बोलिन्। त्यसबेला पनि उनले जलनसम्बन्धी नै कुरा उठाएकी थिइन्।

विन्दबासिनीले संसद्‌मा जलनका कुरा नउठ्ने गरेकोमा चित्त दुखाइन्। जलन विधेयक पीडितमैत्री बनाउन थप अध्ययन गर्न थालिन् भने रास्वपाका अन्यलाई समेत सो सोधखोजमा लगाइन्। उनीसहित रास्वपाका नेता अधिवक्ताको साथले विधेयक बनेको छ। ‘मलाई कानुन निर्माणमा पनि सबैको साथ छ,’ कंसाकार भन्छिन्,’पार्टीकै नेता र वकिलहरूको पनि साथ पाएँ।’ उनी अब विधेयकलाई कानुन निर्माण गर्न लागेकी छन्।

‘अहिलेसम्म नेपालमा कानुन छैन। ममाथि तेजाब हान्नेलाई पनि ज्यान मार्ने कसुरमा मुद्दा हालिएको छ,’ कंसाकार भन्छिन्, ‘तेजाबका जति घटना आउँछन्, त्यसप्रति कसैको गम्भीरता छैन।’ यसैले आफैँ विधेयक निर्माणमा लागेको कंसाकारको भनाइ छ। विधेयक रास्वपा सरकारमै रहँदा लैजाने तयारी थियो। गृहकार्य पुगेन।

साउन २९ मा रास्वपाले विधेयक दर्ता गरेको हो। विधेयकमा जलन पीडितका लागि राहत कोषको स्थापना गर्ने प्रस्ताव छ। सरकारबाट वार्षिक रूपमा १० करोड रुपैयाँ अनिवार्य गरिने प्रावधान छ। ‘अहिलेसम्म मैले पनि क्षतिपूर्ति पाएकी छैन। कसले दिने पनि निश्चित छैन’, कंसाकार भन्छिन्।

विधेयकको प्रस्तावअनुसार जलन कोषमा नेपाल सरकारबाहेक नेपाल विद्युत् प्राधिकरण र नेपाल आयल निगमले राज्यलाई तिरेको करको १ प्रतिशत, जलनशील पदार्थको उत्पादन गर्ने कम्पनी तथा संघसंस्थाले राज्यलाई तिरेको करको ०.५ प्रतिशत, मदिरा तथा सुर्तीजन्य पदार्थको करबाट उठेको ०.५ प्रतिशत कोषमा योगदान गर्नुपर्ने उल्लेख छ।

जलनका घटना वा दुर्घटनाका पीडितहरूलाई उपचारका लागि प्रत्येक जिल्लाका अस्पताल आकस्मिक उपचारको व्यवस्था गर्नुपर्ने उल्लेख छ। यसका लागि प्रादेशिक अस्पताल र केन्द्रमा सरकारी र निजी क्षेत्रको स्वामित्वमा रहेका १०० शय्याभन्दा बढीका अस्पताल र मेडिकल कलेजहरूले आकस्मिक सेवासहित कम्तीमा २ प्रतिशत शय्याको व्यवस्था गर्नुपर्ने प्रस्ताव छ।

कसैको शरीर अंगभंग पारेमा वा अशक्त अपांग बनाएमा कसुरको मात्राअनुसार पाँच वर्षदेखि १० वर्षसम्म कैद र तीन लाख रुपैयाँ जरिवाना गरिने प्रस्ताव विधेयकमा गरिएको छ।

पीडकले कसैलाई मध्यम अपांग बनाएमा २ वर्षदेखि ५ वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिबाना, सामान्य अपांग भएमा १ वर्षदेखि ३ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिबाना र लापरबाहीपूर्वक काम गर्दा कसैको ज्यान गए १ वर्षदेखि ३ वर्ष सम्म कैद वा १ लाख रुपैयाँसम्म जरिबाना गरिने प्रस्ताव छ।

‘राजनीति २४ घण्टे काम रहेछ’

राजनीतिमा प्रवेशअघि कंसाकारलाई राजनीतिक ज्ञान कम थियो। उनी देशको विकास नगरेकोमा नेताप्रति दोष देख्थिन्। आफू राजनीतिमा आएपछि उनले हेर्ने दृष्टि फेरिएको छ।

‘अरू पेसाचाहिँ १० बजेबाट ५ बजेसम्म, दिउँसो वा निश्चित समयमा हुन्छ,’ कंसाकार भन्छिन्, ‘राजनीतिमा भने २४ घण्टै खट्नुपर्ने रहेछ। खट्न सकिएन भने जनतामा वितृष्णा पैदा हुँदो रहेछ।’

कंसाकार अबको राजनीतिको विगतको जस्तो नहुने दाबी गर्छिन्। ‘अब हामीले कुरा होइन। काम गर्नुपर्छ,’ उनी थप्छिन्, ‘देशमै पढ्ने/काम गर्ने अवस्था आउनुपर्छ। रोग लाग्दासमेत उपचारका लागि जानुपर्ने अवस्था नओस्। यही चाहन्छौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =