पत्रकारसमेत रहेका लेखक मोहन मैनालीको ‘मुकाम रणमैदान’ पुस्तकले २०८० सालको मदन पुरस्कार पाएको छ। शुक्रबार बसेको मदन पुरस्कार गुठीको साधारणसभा बैठकले ‘मुकाम रणमैदान’ कृतिका लागि मैनालीलाई पुरस्कार दिने निर्णय गरेको हो। मैनालीका ‘उपल्लो थलो’, ‘नदेखेको देश’, ‘मान्ठा डराएको जुग’, ‘आकाशमुखी’ (अनुवाद) लगायतका पुस्तक प्रकाशित छन्। पत्रकारिता र लेखनबाहेक उनको अर्को क्षेत्र हो वृत्तचित्र निर्माण। मैनाली बनाएको ‘जोगीमाराका ज्युँदाहरू’ वृत्तचित्र चर्चित छ। मदन पुरस्कार घोषणापछि मैनालीसँग सन्तोष अधिकारीले गरेको संक्षिप्त कुराकानी :
तपाईंको कृतिसहित पाँचवटा कृति पुरस्कारका लागि सम्भावित सूचीमा छानिएका थिए। त्यति बेला कस्तो लागेको थियो?
पुस्तक लेखेर बजारमा जाँदासम्म के होला? कसो होला? पाठकले कसरी लिन्छन् होला भन्ने लागेको थियो। त्यसमा मलाई राम्रै गरेछु भन्ने लाग्यो। पछि प्रतिष्ठित पुरस्कारको पाउने सम्भावना भएका पुस्तकको सूचीमा पर्दा एकक्षण धेरै खुसी लाग्यो। त्यसपछि चाहिँ म धेरै खुसी भएँ भने मात्तिन्छु भन्ने लाग्यो। सर्ट लिस्टमा परेका पाँचै पुस्तक मदन पुरस्कारका लागि उत्तिकै दाबी गर्ने हैसियतका हुन् भन्ने सम्झिएँ। अनि धेरै आशा गरिनँ। आशा धेरै राख्दा पछि आफैँलाई खल्लो लाग्छ भन्ने बेलैमा सोचेर अघि बढेको थिएँ।
अहिले त पुरस्कार नै घोषणा भइसकेको छ। तपाईँको पुस्तकले पुरस्कार पाउँदा कस्तो लागिरहेको छ?
उत्कृष्ट पाँचमा पर्दा उत्साह थियो तर आशा राखेको थिइनँ। अहिले मेरै कृतिले पुरस्कार पाउने घोषणा हुँदा त असाध्यै खुसी छु। मिहिनेत गरेको थिएँ। सोहीअनुसार भयो भन्ने लागेको छ। पुस्तक तयार गर्दा भोगेका दु:ख, कष्ट, थकाइ सबै बिर्सायो। ममा अझै धेरै ऊर्जा सिञ्चित भएको महसुस भएको छ।
खासमा यो कृतिमा छ चाहिँ के?
यसमा नेपाल-अंग्रेज युद्धका विभिन्न सन्दर्भहरूलाई उतारिएको छ। त्यहाँ लड्नेहरूले केके गरेर लडे? भोग्नेले केके दु:ख भोगे? जस्ता प्रश्नको उत्तर उक्त पुस्तकमा पाइन्छ। यो सबै कुरा जो लडेका थिए उनीहरूले कसरी यसको बयान गरेका छन् भन्ने पनि उल्लेख गरेको छु।
पुस्तक तयार गर्न कति समय लाग्यो?
मैले पुस्तकको तयारी २०७८ को सुरुवातदेखि नै गरेको थिएँ। २०८० मा यो तयार भएको हो। इतिहासको विषय भएकाले खोजअनुसन्धान र तथ्यहरू प्रामाणिक बनाउन धेरै समय लाग्यो। नेपाल-अंग्रेज युद्धबारे यसअघि नआएका कुरालाई बाहिर ल्याउन त्यति सजिलो थिएन।
यस्तो खालको पुस्तक लेखौँ भन्ने किन लाग्यो?
सबैलाई चासो हुने तर सहजै यसबारे जानकारी नपाइने भएकाले पनि मैले यो खोज्नुपर्छ भनेर लागेँ। यथार्थ कम सुनिएको तर धेरै चर्चा भएको विषय पनि पर्यो। जसले युद्ध लडे उनीहरूको कुरा ल्याउँदा त दस्तावेज बन्छ भन्ने लागेर संकलन गरेँ। अनि लेखेँ।