आयल निगमको डिपोमै कर्मचारी बर्माको हत्या

हिमाल प्रेस १४ भदौ २०८१ १५:३४
38
SHARES
आयल निगमको डिपोमै कर्मचारी बर्माको हत्या

जनकपुरधाम- धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा कार्यरत एक कर्मचारीकाे हत्या भएकाे छ। डिपाेमा कार्यरत सिरहा नगरपालिका- ३ बस्ने अन्दाजी ४० वर्षीय राकेशकुमार बर्माकाे हत्या भएकाे जिल्ला प्रहरी कार्यालय धनुषााका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए।

बर्माकाे हत्यामा संलग्न रहेकाे आराेपमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा धनुषाकाे धनुषाधाम- ४ बस्ने प्रकाश यादव रहेकाे अवाले बताए। पक्राउ परेका यादव पनि बर्मासँगै निगमकाे डिपाेमा कार्यरत कर्मचारी हुन्। घटनामा संलग्न अन्य व्यक्तिहरूकाे खाेजी भइरहेकाे उनले जानकारी दिए।

बर्मा र यादवलगायतका कर्मचारीबीच शुक्रबार बिहान कार्यालयमा विवाद भएकाे थियाे। विवादका क्रममा यादवलगायतका व्यक्तिहरूकाे कुटपिटबाट बर्माकाे मृत्यु भएकाे डीएसपी अवाले जानकारी दिए। उनले भने, ‘बिहान १० बजेकाे घटना हाे। उनीहरूबीच केही विषयमा विवाद भएकाे थियाे। सहकर्मीहरूकाे कुटपिटबाट उनकाे मृत्यु भएकाे बुझिएकाे छ।’

झगडाकाे कारण खुल्न नसकेकाे प्रहरीले जनाएको छ।  यस विषयमा पक्राउ परेका यादवसँग साेधपुछ गरिरहेकाे अवाले बताए। मृतककाे शरीर र अनुहारमा चाेट हेर्दा कडा वस्तुले प्रहार गरेकाे देखिएकाे उनले बताए। उनका अनुसार यसअघि पनि उनीहरूबीच पटक-पटक विवाद हुने गरेकाे थियाे।

मृतककाे शव घटनास्थलमै रहेकाे र परिवारका सदस्य आइसकेपछि पाेस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइने उनले बताए। बर्मा विगत ४ वर्षदेखि महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा करारमा कार्यरत थिए।

प्रकाशित: १४ भदौ २०८१ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =