सुर्खेत- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्। पार्टीको कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न सुर्खेत आएका प्रचण्डले शुक्रबार विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो चेतावनी दिएका हुन्।
उनले पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रस्ट रहेको उल्लेख गर्दै अघिल्लो सरकारले अघि बढाएको भ्रष्टाचारमाथिको छानबिनलाई सामसुस पार्ने खेल भइरहेको आरोप लगाए। प्रचण्डले यसविरुद्ध सदन र सडकबाट आवाज घनिभूत गराउने बताए। अध्यक्ष प्रचण्डले भने, ‘अहिले सदनबाट सरकारलाई सचेत रहन आग्रह मात्र गरिएको हो। नसच्चिए सदन र सडक दुवै ठाउँबाट आन्दोलन अघि बढाउनेछौँ।’
संसारको संसदीय इतिहासमा सरकार पहिलो र दोस्रो दल मिलेर नबनेको उल्लेख गर्दै उनले गलत कुरालाई चोख्याउनका लागि गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने बताए। भदौ ११ मा आफूले संसदमा गरेको सम्बोधनले उत्तेजना र आवेग नभई सरकारका गलत कामको भण्डाफोर गरेको प्रचण्डको दाबी छ। उनले गलत कामको विरोध गर्न सय दिन नै पर्खनुपर्छ भन्ने कतै नभएको प्रस्ट पारे।
अहिले सदनमा चलिरहेको ‘हिंसा’ सम्बन्धी विवादका सम्बन्धमा पत्रकारले सोधेको प्रश्नमा अध्यक्ष प्रचण्डले भने, ‘‘एमालेका साथीहरुले त्यसरी नबोलेको भए हुन्थ्यो, कुनै समयमा जनयुद्ध र यसका उपलब्धिलाई उहाँहरुले राम्रोसँग व्याख्या गर्नुभएकै हो। अझ जसले हिंसा भन्ने शब्द प्रयोग गर्नुभयो, उहाँले जनयुद्धको प्रशंसा नै गर्नुहुन्थ्यो। विस्तृत शान्ति सम्झौतादेखि संविधानमा उल्लेख गरिएका शब्दको मर्मभन्दा बाहिर जाने गरी त्यस्ता अभिव्यक्ति नदिन म सम्बन्धित साथीहरुलाई सचेत गराउन चाहन्छु।’
सबै खालका परिवर्तन माओवादीकै एजेन्डा भएकाले यसलाई जोगाउने कुरा पनि माओवादीकै भूमिका बढी भएको उनको भनाइ छ। साथै उनले माओवादीको महत्त्व र भूमिकालाई कमजोर गर्ने गरी अभिव्यक्ति नदिन सबैलाई आग्रह गरे।
माओवादी फुटछ भन्ने हल्ला निराधार भएको स्पष्ट पार्दै प्रचण्डले पछिल्ला बैठकहरुमा भइरहेका खुला र स्पष्ट बहसले सबै आशंका अन्त्य गरेको बताए। उनले भने, ‘पार्टी फुट्छ कि भनेर जो हल्ला फैलाइएको थियो, हाम्रो पार्टीले त्यसलाई सर्वसम्मत रूपमा खारेज गरेको छ। ‘केही मानिसले डिजाइनअनुसार यस्तो हल्ला फैलाएका हुन्। सबै प्रदेशमा पुग्दा यो भ्रम पूर्ण रुपमा अन्त्य भइसक्नेछ’, प्रचण्डले भने।