मंगलसेन आक्रमणमा राज्य पक्षले ठूलो क्षति बेहोर्नुपरेको थियो। माओवादीले सेनाको ब्यारेकमाथि धावा बोलेर ठूलो संख्यामा सुरक्षाकर्मी मारेपछि सरकार माओवादीविरुद्ध सेना परिचालनको नयाँ रणनीति अपनाउँदै थियो। उसले सेनाको नेतृत्वमा सशस्त्र र जनपद प्रहरी दुवैलाई राखेर युनिफाइड कमान्ड बनाउने निधो गर्यो। उता माओवादीचाहिँ कहिले सेना त कहिले सशस्त्र अनि कहिले जनपद प्रहरीलाई आफ्नो निसाना बनाइरहेको थियो।
मंगलसेनलगत्तै २०५८ फागुन ६ गते माओवादीले सल्यानको शीतलपाटीमा आक्रमण गरेर ३० प्रहरीको ज्यान लियो भने त्यसै वर्षको चैत २७ गते दाङको सतबरियास्थित सशस्त्र प्रहरी ब्यारेकमा हमला गर्यो; जहाँ ३७ सुरक्षाकर्मी मारिए भने थुप्रै हताहत भए। यी दुवै आक्रमणमा छापामारहरूले प्रशस्त हतियारसमेत लुटेर लगेका थिए।
२०५८ मंसिरपछि ब्यारेक÷सदरमुकामलाई लक्षित गर्दै आएको माओवादीले २०५९ को सुरुदेखि नै आक्रमणको पारो झनै बढाउन थाल्यो। रोल्पाको गाममा सरकारले युनिफाइड कमान्डको बेस राखेको थियो। जुन चार सातामै माओवादीको भीषण आक्रमणमा पर्न गयो।
२०५८ चैतको अन्तिम साता रोल्पाको गाम र थवाङमा युनिफाइड कमान्डको पोस्ट खडा गरिँदै गर्दा सुरक्षा फौज र बन्दोबस्तीका सामग्री लिएर पुगेको थिएँ। संयुक्त सुरक्षा फौज राख्ने निर्णयअनुसार त्यस बेला गोरखबहादुर गणबाट सेनानी नीलकण्ठ खड्काको कमान्डमा एक सय ८६ जना सुरक्षा फौज लगिएको थियो। सेनाका ७८, जनपद प्रहरीका ६१ र सशस्त्र प्रहरीका ४७ गरी उक्त संख्याको फौजलाई पटकपटक ओसारिएको थियो। मैले चाहिँ प्रहरी टोलीलाई पुर्याएको थिएँ।
एकै दिन थवाङ र गाममा ६०-६० जना प्रहरीको समूह पुर्याएको थिएँ। त्यो बेसमा सेना र प्रहरीका अतिरिक्त कृषि, भेटेरिनरी, हुलाक, वनलगायत सरकारी कार्यालयका कर्मचारी पनि थिए। सबैलाई गाभेर युनिफाइड कमान्डको अवधारणाअनुरूप उक्त बेस स्थापना भएको थियो। माओवादी भने उक्त बेसलाई ’अमेरिकी किल्ला’ भनेर आलोचना गर्दथ्यो। अमेरिकी मोडलमा बनाइएको भनेर उनीहरूले यस्तो नाम दिएका थिए। बेसका वरिपरि सेन्ट्री पोस्ट, बंकर, अन्डरग्राउन्ड ट्रेन्चहरू बनाइएका थिए। अस्थायी भनिए पनि बडो मजबुतीका साथ बेसक्याम्प खडा गरिएको थियो। संयुक्त फौजको उक्त आधार शिविर रहेको क्षेत्रलाई पूर्व, उत्तर र पश्चिम हुँदै गाजा खोलाले तथा पूर्व-दक्षिण र पश्चिम हुँदै गाम खोलाले छुट्याएको छ। गाजा खोलाको बाहिरी भागमा भित्री गाम र गाम खोलाको भित्री भागमा बाहिरी गाम भन्ने गाउँहरू पर्छन्।
दुई खोलाबीचको पाखोमा आधार शिविर खडा गरिएको थियो। जमिनको बनावट पूर्ववाट पश्चिमतर्फ भिरालो पर्दै गएको तथा पश्चिमी र दक्षिणी भागमा कान्ला परेको छ। गाम, थवाङजस्ता रोल्पाली गाउँहरूमा माओवादीको प्रभाव निकै देखिन्थ्यो। त्यहाँ सरकारको उपस्थिति कम तर माओवादी ’जनसरकार’को उपस्थिति ज्यादा हुन्थ्यो। त्यसै हुनाले सरकारले स्थानीय जनतालाई आफ्नो उपस्थितिको आभास दिलाउन सुरक्षा फौजसँगै कर्मचारीहरू पनि लगेर राखेको थियो। यसअघि ती गाउँहरूमा प्रहरी चौकी नभएका होइनन् तर ’जनयुद्ध’को प्रभाव बढ्दै गएपछि सरकार चौकीहरू हटाउन बाध्य हुन पुगेको थियो।
सेनाको नेतृत्वमा माओवादीविरुद्ध युनिफाइड कमान्ड परिचालन भइसकेपछि सरकारले गाम, थवाङजस्ता माओवादी गाउँहरूमा अस्थायी आधार शिविर राखेको थियो।
त्यही गाम आधार शिविरमा माओवादीले २०५९ वैशाख २४ गते आक्रमण गर्यो। त्यसको चार दिनअघिदेखि रोल्पा र प्युठानको सीमामा पर्ने लिस्ने लेकमा सुरक्षा फौजले अपरेसन चलाएको थियो। त्यस क्रममा त्यहाँ सुरक्षा फौज र माओवादीबीच भिडन्तसमेत भएको थियो। माओवादीले प्युठानको सदरमुकाम खलंगामा आक्रमण गर्ने योजना
बनाइरहेको र त्यसका लागि लिस्ने लेकमा तालिम गरिरहेको सूचना पाएपछि रोल्पा र प्युठानबाट सुरक्षा फौज लिस्नेतर्फ ‘लङ रुट पेट्रोल’ मा गएको थियो। त्यसक्रममा लिस्ने लेकमा भिडन्त हुन पुग्यो। थप मद्दत पुर्याउनका लागि बुटवल, दाङ, रोल्पा र नेपालगन्जबाट सुरक्षा फौजलाई ‘एयर लिफ्ट’ गर्न त्यस बेला हेलिकप्टर प्रयोग गरिएको थियो।
त्यस क्षेत्रमा भिडन्त भइरहेको खबर आए पनि केकति क्षति भयो भन्ने यकिन विवरण कसैसँग थिएन। सरकारले चाहिँ सयौँको संख्यामा माओवादीहरू मारिएको र तालिम केन्द्र ध्वस्त बनाएको खबर सम्प्रेषण गरिरहेको थियो। लिस्ने भिडन्तको पृष्ठभूमिमा माओवादीले गामको युनिफाइड कमान्डको अस्थायी शिविरमा हमला बोलेको थियो। सरकारले सुरुमा दाबी गरेजस्तो लिस्नेमा सयौँ माओवादी लडाकु मारिएका थिएनन्। मात्रै पाँच जनाको ज्यान गएको दाबी माओवादी पक्षको थियो।
प्युठानको सदरमुकाम हमला गर्न तम्तयार तिनै छापामारहरूले अन्ततः गामको अस्थायी शिविरमा वैशाख २४ गते आक्रमण गरे। लिस्ने लेकको माओवादी तालिम केन्द्र ध्वस्त पारेको खबर सरकारले प्रसारणमा ल्याउँदै गर्दा ६५ जना सैनिक गस्तीमा निस्किएका बेला गाममाथि माओवादीले निसाना साँध्यो।
दोहोरो भिडन्त झन्डै ४ घन्टासम्म चलेको थियो। बेसक्याम्प माओवादीको कब्जामा पुगेको खबर आयो भने बिहान ३ बजेपछि त सञ्चार सम्पर्कसमेत टुटिसकेको थियो। राति भागेर जंगलमा लुकेका सुरक्षाकर्मीलाई भोलिपल्ट बिहान माओवादी छापामारले लखेटीलखेटी मारे भन्नेसम्मको हल्ला सुनियो। गाममा घाइते सुरक्षाकर्मीहरूको अवस्था नाजुक हुँदै जाँदा पनि उद्धार हुन सकिरहेको थिएन। सेनाको हेलिकप्टर थप सहयोग लिएर २५ गते बिहान गाम जान खोजेको थियो तर माओवादी लडाकुहरूले लामो दूरीसम्म प्रहार गर्न सक्ने हतियारबाट फायरिङ गरेपछि अवतरण गर्न नसकेर त्यसै फर्किनुपरेको थियो। उक्त हेलिकप्टरमा गएका सुरक्षाकर्मीले गाम बेसक्याम्ममा धुवाँको मुस्लोबाहेक अरू केही देख्न सकेनन्।
सुरक्षा अधिकारीहरूले २५ गते बिहान गाम जानुपर्यो भनेर मलाई आग्रह गरे। त्यस बिहानै म सिम्रिक एयरको ९ एन-एडीपी-एमआई-१ लिएर लिवाङ उत्रिएँ। लिवाङमा केही सुरक्षा फौज राखेपछि सल्यान आएँ र त्यहाँबाट पनि थप सुरक्षाटोली लिएर गामका लागि उडेँ। गामको डाँडापारिको खेतमा सुरक्षा फौज उतारेँ। गस्तीमा निस्केका ६५ जना सुरक्षाकर्मी त्यही भेटिए तर बेसक्याम्प जान सकिएन। रोल्पा पुगिसकेपछि सल्यानबाट आर्मीको हेलिकप्टरमा सुरक्षा फौज ओसार्ने काम गरियो। त्यहाँका गणपति प्रमुख सेनानी शमशेर ठकुराठीको अन्यत्र पोस्टिङ भइसकेको थियो र नयाँ गणपतिले जिम्मेवारी सम्हालिसकेका थिए।
सल्यानबाट लिवाङ अवतरण गर्दै गर्दा हेलिप्याडमा अनौठो दृश्य देखियो। अवतरण गर्न लागेको हाम्रो हेलिकप्टरलाई एक जना सिपाहीले र अर्कोले उसलाई समाइरहेको देखियो। पछि बुझ्दा बन्दुक समाउने सिपाहीको नम्बरी सहकर्मीले लिस्ने लेकको लडाइँमा ज्यान गुमाएको रहेछ। ऊचाहिँ झाडीमा लुकेर बाँचेको रहेछ। उसको साथीमाथि बर्बरताका साथ आक्रमण भइरहँदा हेलिकप्टर बेलैमा आएको भए ऊ बाँच्ने थियो भन्ने उसको भनाइ रहेछ।
भोलिपल्ट निकै कोसिस गर्दा पनि गाममा न त गस्तीमा निस्केका सुरक्षा फौज पुग्न सक्यो न त हेलिकप्टर नै जान सक्यो। सेनाले जोखिम छ भन्दै गाम जाने अनुमति नै दिएन। गामसँगको सम्पर्क विच्छेद भएकाले के कति हताहत भएको भन्ने यकिन जानकारीसमेत थिएन। २६ गते बिहानै प्रहरीको सञ्चार सेटबाट मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका डीआईजी कृष्ण बस्नेतलाई सम्पर्क गरेँ र व्यक्तिगत जोखिममा गाम जान्छु भनेर जानकारी गराएँ। घाइतेहरूलाई बचाउन सकिन्छ कि भनेर
मैले उक्त जोखिम मोलेको थिएँ। २६ गते दिउँसो बिना सुरक्षा फौज प्रहरीका एक अधिकृतमात्र लिएर मेरो क्रिउ गाम बेसक्याम्पका लागि लिवाङबाट उड्यो। गामको आकाशमा पुग्दा तल माओवादी हुन् या सुरक्षा फौज चिन्न सकिएन। बेस पूर्ण रूपमा तहसनहस भइसकेको देखिन्थ्यो। खण्डहर बनिसकेको बेसभन्दा अलि पर बारीमा हेलिकप्टर अवतरण गरेँ। सुरक्षा फौजका जवानहरूले हेलिकप्टरमा अबिरजात्रा गरे। मलाई पनि अबिर दलिदिए। हामी त्यहाँ पुग्दा माओवादी लडाकुहरू बाटो लागिसकेका रहेछन्। बाँकी थिए त केवल यत्रतत्र छरिएका लास, घाइतेहरूको चीत्कार अनि बाँचेका केही सुरक्षाकर्मीको मलिन अनुहार। अत्यन्तै हृदयविदारक अवस्था थियो, त्यहाँ।
दुई दिनदेखि लडेर लखतरान भएका प्रहरीहरू घाइते बोक्ने अवस्थामा थिएनन्। प्रहरीका एक सई लोप्साङ लामा (लिमा) र हेलिकप्टर क्रिउले नै घाइते र लासहरू बोकेर हेलिकप्टरमा राख्यो। लिमाले सेटबाट लिवाङमा हामीले सुरक्षित अवतरण गरेको जानकारी दिँदै थप घाइते लिन सेनाको हेलिकप्टर पठाइदिन अनुरोध गर्यौँ। हामी भने
हेलिकप्टरमा अटेजति घाइते लिएर नेपालगन्ज फर्कियौँ। यसरी झन्डै ३६ घन्टादेखि उपचारको प्रतीक्षा र जीवन-मरणको दोसाँधमा पुगेका सुरक्षा फौजलाई उद्धार गरिएको थियो। त्यसपछि पनि पटकपटक गाम पुग्दै घाइते र लास ओसारिरह्यौँ। त्यस घटनामा सयभन्दा बढी सुरक्षाकर्मी र कर्मचारीहरू मारिएका थिए।
वैशाखको गर्मीमा क्षतविक्षत र दुर्गन्धित बनिसकेका लासहरू विभिन्न ठाउँमा दुई-तीन दिन लगाएर पुर्याउनुपर्दा क्रिउका कतिपय सदस्य बिरामीसमेत परेका थिए। यसैबीच, वैशाख २४ गते नै संखुवासभाको चैनपुरमाथि पनि माओवादीले हमला गर्यो। तर त्यो आक्रमणचाहिँ सफल हुन सकेन।
[यो सामग्री क्याप्टेन रामेश्वर थापाको ‘बारुदमाथि उड्दा’ पुस्तकको अंग्रेजी संस्करण ‘इन टु द फायर’ बाट लिइएको हो। पुस्तक शनिबार सार्वजनिक हुँदैछ।]