दुई महिनापछि आज कोशी प्रदेशसभा बैठक बस्दै, कांग्रेस सत्तापक्षकै बेन्चमा बस्ने

हिमाल प्रेस १४ भदौ २०८१ ९:५७
14
SHARES
दुई महिनापछि आज कोशी प्रदेशसभा बैठक बस्दै, कांग्रेस सत्तापक्षकै बेन्चमा बस्ने कोशी प्रदेशसभा। फाइल तस्बिर।

इटहरी- दुई महिनापछि कोशी प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ। केन्द्रको सत्तासमीकरण फेरबदल हुँदा कोशीमा पनि यसको प्रभाव परेको थियो।

केन्द्रमा कांग्रेस-एमाले गठबन्धनको सरकार छ। काेशीमा आन्तरिक भागबन्डा नमिल्दा कांग्रेस सरकारमा नगएकाे हाे। आजकाे बैठकमा भने कांग्रेस सत्तपक्षकै बेन्चमा बस्ने भएको छ।

कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले मन्त्रीको नाम पठाउन नसके पनि पूर्वसहमति अनुसार सत्तापक्षकै बेन्चमा बस्ने जानकारी दिए। सरकारबाट बाहिरिएको नेकपा माओवादी केन्द्र भने प्रतिपक्षको बेन्चमा बस्ने भएको छ।

कांग्रेसले चारवटा मन्त्रालय लिएर प्रदेश सरकारमा सहभागी हुने सहमति एमालेसँग गरेको थियो। गत साउन १२ गते सहमति गरेर कांग्रेसले  दुई दिनभित्रमा मन्त्रीको नाम टुंगो लगाउने बताएको थियो। आन्तरिक भागबन्डा मिलाउन नसक्दा प्रदेशमा मन्त्रालय फुटाउन पनि कांग्रेसले दबाब दिएको थियो।

तीन विधेयक टेबुल हुने

आजकाे बैठकमा तीनवटा विधेयक टेबुल हुने भएको छ। प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार दर्ता भएका विधेयक संसदमा टेबल गरिने भएको हो।

जसमा प्रदेश निजामती ऐन, २०७९ लाई संशाेधन गर्न बनेको विधेयक, केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको प्रदेशसभाका सचिव पराजुलीले बताए ।

प्रकाशित: १४ भदौ २०८१ ९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 5 =