भारतबाट आयात हुँदा नेपाली मह विस्थापित, किसानले गराए कृषिमन्त्रीकाे ध्यानाकर्षण

हिमाल प्रेस १४ भदौ २०८१ ६:३६
14
SHARES
भारतबाट आयात हुँदा नेपाली मह विस्थापित, किसानले गराए कृषिमन्त्रीकाे ध्यानाकर्षण

चितवन- किसानले स्थानीय रूपमा उत्पादन भएको महको बजारीकरण गरिदिन माग गरेका छन्। बिहीबार कृषिमन्त्री रामनाथ अधिकारीलाई भेटेर किसानहरूले महको उत्पादन र बजारीकरणमा देखिएको समस्या समाधान गरिदिन माग गरेका हुन्।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसहित काठमाडौँ पुगेका किसानले यही अवस्था रहिरहे किसान पलायन हुन बाध्य हुने बताएका छन्।

नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिव पौडेलले किसानको मह बिक्री नभएर डम्पिङ हुने अवस्थामा आएको बताए। उनले भने,‘यहाँका किसानले उत्पादन गरेको मह बिक्री भएको छैन, भारतबाट आउने मह ल्याउन छाडिएको छैन, यस्तो अवस्थामा किसान कसरी टिक्न सक्छन्।’

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले कृषिमन्त्री अधिकारीलाई नेपालमा उत्पादित महलाई पहिलो प्राथमिकता दिन आग्रह गरिएकाे बताए। कालिकामा आवश्यक पर्नेभन्दा धेरै बढी मह उत्पादन भइरहेकाले निर्यातको राम्रो ठाउँ खोजीदिन मन्त्री अधिकारीसमक्ष नगरप्रमुख रेग्मीले अनुरोध गरे।

‘किसानले मेहनत र लगानी गरेर उत्पादन गरेको महले बजार पाउन नसक्दा सोचेभन्दा उत्पादन बढाउन सकेका छैनन्। बजार सुनिश्चित हुने हो भने उत्पादन अझै बढाउन सकिन्छ’, नगरप्रमुख रेग्मीले भने,‘उत्पादित महले बजार नपाउँदा किसान निराश हुनुपर्ने अवस्था सृजना हुँदै गएको छ।’

नेपालमा उत्पादित महको बजार बढाउनका लागि भारतबाट आउने मह रोक्नुपर्नेमा उनले जोड दिए। चितवनको कालिका नगरपालिकासहित जिल्लामा मह उत्पादन निकै राम्रो भइरहेकाले अब उत्पादनभन्दा पनि बजारीकरणको चिन्ता बढ्दै गएको उनले बताए।

प्रकाशित: १४ भदौ २०८१ ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =