पोर्चुगल- युरोपेली मुलुक पोर्चुगलमा ‘पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ।
पोखरा फुटबल क्लब (पोखरा एफसी) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर ८ तारिखका दिन पोखरा गोल्डकप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको हो।
बडादसैँ र दीपावलीका अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ। पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा पोर्चुगलसहित युरोपेली मुलुकमा रहेका नेपाली खेलाडीको सहभागिता रहने बताइएको छ।
नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष अस्बिनजङ्ग ठकुरीले बताए।
प्रतियोगिताका विजेताले उपाधिसहित नगद तीन हजार युरो र खसी हात पार्ने छभने उपविजेताले एक हजार पाँच सय युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै विधागततर्फ तीन विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ५०–५० युरो र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
लिस्बनस्थित भिटोरिया दी क्लबको खेलमैदानमा हुने प्रतियोगितामा २० टिम बढीको सहभागिता रहने खेल संयोजक प्रजेश गुरुङले बताए। प्रतियोगिताबाट बचत भएको रकमले दुःख र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने क्लबको योजना रहेको उनकाे भनाइ छ।