पदाधिकारी चयनले भाँडभैलो, फेरि फु्ट्ने बाटोमा गएको हो जसपा नेपाल?

हिमाल प्रेस १३ भदौ २०८१ १७:४२
32
SHARES
पदाधिकारी चयनले भाँडभैलो, फेरि फु्ट्ने बाटोमा गएको हो जसपा नेपाल? उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनका बेला चुनाव टारेर आफैंले पदाधिकारी मनोनित गर्ने विकल्प रोजे। जेठ २८–३१ गतेसम्म जनकपुरधाममा चलेको महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यका लागि आकांक्षी नेताहरू मनोनयन दर्ता गरिसके पनि अन्तिम समयमा आएर मतदान प्रक्रियालाई टार्न लगाइएको थियो।

अधिकांश आकांक्षी उम्मेदवारहरू चुनावी प्रक्रियाबाटै अगाडि बढ्नुपर्ने बताइरहे पनि अध्यक्ष उपेन्द्रले भने त्यसमा जोखिम देखेका थिए। महाधिवेशनकै पूर्वसन्ध्यामा पार्टी विभाजनको पीडा भोगेका उनले चुनावी प्रक्रियामा गएर थप जोखिम मोल्न चाहेका थिएनन्।

पदाधिकारी चयन गर्न सहमतिका लागि अधिकतम प्रयास गरे पनि सफल हुन नसक्दा प्रतिस्पर्धामा उत्रिएका आकांक्षीका साथै महाधिवेशन प्रतिनिधिहरूले टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष उपेन्द्रलाई दिएको थियो।

आकांक्षी उम्मेदवार र महाधिवेशन प्रतिनिधिहरूले पदाधिकारी टुङ्गो लगाउन सर्वसम्मतिबाट अध्यक्ष उपेन्द्रलाई जिम्मेवारी दिए पनि यसका लागि भूमिका भने उनले आफैं खेलेका थिए।

उपेन्द्रलाई डर थियो- चुनावी प्रक्रियामा जाँदा पदाधिकारीमा मधेशको मात्रै प्रतिनिधित्व हुने। पहाडबाट प्रतिनिधित्व गर्ने नेताहरू चुनावमा पराजित हुने।

पदाधिकारीमा मधेशको प्रतिनिधित्व भइदिँदा पहाडका नेताहरू बिच्किएर पार्टी छोडेर हिँड्ने अर्को डर थियो, उपेन्द्रलाई। यो जोखिमलाई टार्नकै लागि उनले चुनावी प्रक्रियामा नगएर पदाधिकारी चयन गर्ने अधिकार आफैंलाई प्रत्यायोजन गर्न लगाए। अधिकार प्रत्यायोजन गर्न लगाए पनि पदाधिकारी चयन गर्न उपेन्द्रलाई त्यति सहज थिएन। एउटा नेतालाई पदाधिकारी तोक्दा अर्को बिच्किनसक्ने जोखिम उनले राम्ररी बुझेका थिए।

यो जोखिमलाई टार्नकै लागि उपेन्द्रले तत्काल केन्द्रीय समितिका पदाधिकारी चयन गरेनन्। महाधिवेशन सकिएको साढे दुई महिनापछि मात्रै उनले पदाधिकारीको टुङ्गो लगाए।

१० भाद्रमा उपेन्द्रले २० जना पदाधिकारी, १० जना केन्द्रीय कार्यकारिणी समिति सदस्य, २७ जना केन्द्रीय सदस्यसहित केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगको टुङ्गो लगाए।

महाधिवेशनबाट अधिकार प्रत्यायोजन गर्न लगाएर अध्यक्ष उपेन्द्र आफैंले पदाधिकारी मनोनित गरे पनि अहिले ‘ब्याक फायर’ भएको छ। नवप्रवेशीले महत्वपूर्ण जिम्मेवारी पाउँदा पुराना नेताहरू पदाधिकारीको सूचीमा नअटाएपछि जसपा नेपाल ‘विग्रह’ को अवस्थाबाट गुज्रिइरहेको छ, अहिले।

माओवादी छोडेर हालसालै जसपा नेपाल प्रवेश गरेका रामकुमार शर्माले महासचिवको जिम्मेवारी पाएपछि जसपा नेपालभित्र असन्तुष्टि चुलिएको हो। त्यस्तै नेताहरूको वरियता क्रमका कारण पनि कतिपय नेताहरूले आपत्ति जनाएका छन्।

महाधिवेशनका बेला महासचिवका लागि दुई महासचिवका लागि मधेश प्रदेशका सांसद मनिषकुमार सुमन, माओवादी छोडेर आएका शर्माका साथै प्रतिनिधिसभा सदस्य दीपक कार्की र मधेसका पूर्वअर्थमन्त्री विजयकुमार यादवले मनोनयन दर्ता गराएका थिए। तर, अध्यक्ष उपेन्द्रले पदाधिकारी चयन गर्दा यी सबैमध्ये शर्मामात्रै महासचिवको सूचीमा अटाए।

त्यस्तै मधेशका पहिलो मुख्यमन्त्री लालबाबु राउतलाई पनि उनले महासचिव बनाएका छन्। महाधिवेशनका बेला राउतले सहअध्यक्षका लागि मनोनयन दर्ता गराए पनि महासचिवमा चित्त बुझाउनु परेको छ।

महासचिवका लागि आकांक्षी देखिएका सुमन भने पुनः पार्टी प्रवक्ताकै जिम्मेवारी पाएका छन्। पार्टीको वरियतामा पनि उनी १० औँ स्थानमा छन्। महाधिवेशनअघि माओवादी छोडेर आएर महासचिवको जिम्मेवारी पाएका शर्मालाई भने आठौँ वरियतामा राखिएको छ।

त्यतिमात्रै होइन मधेशका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादव पार्टी जिम्मेवारीमा रित्तै भएका छन्। उपाध्यक्षका लागि आकांक्षी देखिएका उनी केन्द्रीय समिति सदस्यमा सीमित हुनु परेको छ। विधानअनुसार पाँच जना उपाध्यक्ष हुने व्यवस्था भए पनि निर्वतमान मुख्यमन्त्री यादव त्यो सूचीमा अटाएनन्।

पदाधिकारी मनोनित गर्ने अध्यक्ष उपेन्द्रको यो निर्णयप्रति जसपा नेपालका नेता अशोक यादवले चर्को असन्तुष्टि जनाएका छन्। उनले महाधिवेशनमा घोषणा गरिएको निर्वाचन षडयन्त्रपूर्वक रोकेर एकल अधिकार प्रयोग गरी मधेशका ‘क्रान्तिकारी योद्धा’ हरूलाई बाइपास गरिएको आरोप लगाएका छन्।

पार्टीभित्र आफ्नो वरिपरी गणेश परिक्रमा गर्नेहरूलाई पदाधिकारीमा राखेर पार्टी कब्जा गर्ने गरी निर्णय भएको उनले बताएका छन्।

‘…पार्टीभित्र आफ्नो वरिपरी गणेश परिक्रमा गर्नेहरूलाई पदाधिकारीमा राखेर पार्टी कब्जा गर्ने नीति स्वरूप पार्टी नेतृत्वले अपरिपक्व निर्णय लिएको छ, यस निर्णयको विरूद्ध पार्टीभित्र संघर्ष निश्चित रूपमा हुन्छ,’ उनी भन्छन्,‘उपेन्द्र यादव कुनै भगवान होइनन्, जसरी पटक–पटक मधेशका क्रान्तिकारी नेताहरूलाई समाप्त पार्ने षडयन्त्र गरेका छन्, त्यसरी नै कुनै दिन मधेशबाटै उठेको आन्दोलनले उनलाई गर्न सक्छ, समयमा सचेत हुन आवश्यक छ।’

पदाधिकारी चयन गर्ने अध्यक्ष उपेन्द्रको निर्णयप्रति पूर्वकार्यकारिणी सदस्य एवंं प्रचारविभाग प्रमुख पूर्ण बस्नेत पनि असन्तुष्ट छन्। ‘गद्दारी’ गर्नेलाई झनै ठूलो पद दिइएको उनको भनाइ छ।

‘पार्टी परित्याग गर्छु भन्दै धम्क्याउँदै हिँड्ने लाक्पा शेर्पा सचिव, यो पार्टी काम लाग्दैन तपाईं (जुद्ध ढाक्रेलाई) घोषणापत्र लेख्नुस् म विधान लेख्छु भनेर लागेका राजकुमार राई सचिव, एमालेमा पदको बार्गेनिङ गर्दै हिँडेका विद्युत बज्राचार्य उपाध्यक्ष, जसपा नेपाल फुटाएर जसपा पार्टी बनाउने मुख्य परिकल्पनाकार र योजनाकार रकम चेम्जोङ सह–अध्यक्ष। जसपा नेपालमा जति ठूलो गद्दारी, त्यति ठूलो पद!,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्।

त्यस्तै जसपा नेपालकै अर्को नेता प्रभुराम श्रेष्ठले परिस्थितिले जसपा नेपाल पार्टी छाड्ने अवस्थामा पुर्‍याएको टिप्पणी गरेका छन्। पदाधिकारी चयन भएपछि पार्टीभित्र असन्तुष्टिका स्वरहरू उठेको जसपा नेपालका नेताहरू पनि स्वीकार गर्छन्। नवनियुक्त महासचिव शर्मा पदाधिकारी नियुक्त भइसकेपछि त्यसमा पर्न नसकेकाबाट असन्तुष्टि पोखिनु स्वाभाविक रहेको बताउँछन्।

‘यो असन्तुष्टि स्वाभाविकै हो, शतप्रतिशत कसैलाई सन्तुष्ट गर्न सकिँदैन,’ उनी भन्छन्,‘३१ जनामा सबैलाई समेट्नुपर्ने थियो। मधेशको मात्रै भए सबै समेटिन्थे। देशभरबाट समेट्नुपर्ने थियो, त्यसमा पनि आदिवासी, जनजाति, दलित, महिला सबैलाई हेर्नुपर्ने थियो।’

पार्टी अध्यक्ष उन्द्रले गरेको कार्यविभाजनबाट १० प्रतिशत असन्तुष्ट भए पनि ९० प्रतिशत खुसी नै रहेको उनको दाबी छ। ‘१० प्रतिशत असन्तुष्ट हुनुहुन्छ, त्यसमध्ये ५ प्रतिशत एडजस्ट भइहाल्नु हुन्छ, बाँकीका बारेमा भन्न सकिन्न,’ शर्माले भने।

महाधिवेशनका बेला चुनाव भएर पदाधिकारी निर्वाचित भइदिएको भए पार्टीले थप क्षति बेहोर्नुपर्ने उनको विश्लेषण छ। शर्मा भन्छन्,‘चुनाव भइदिएको भए झनै क्षति हुन्थ्यो। कार्यसमिति समावेशी हुँदैन थियो होला, आउनुपर्ने मान्छे बाहिरिन्थ्यो होला। अध्यक्षजीले धेरै विचार पुर्‍याएर पदाधिकारी छान्नु भएको छ, अहिले पार्टी क्षतिबाट जोगिएको छ।’

जसपा नेपालका अध्यक्ष उपेन्द्रसँग सहकार्य गरेका नेताहरू सँगै धेरै टिक्न नसकेको प्रशस्तै उदाहरणहरू छन्। विजयकुमार गच्छदार, जेपी गुप्ता, महन्थ ठाकुर, बाबुराम भट्टराईलगायतका नेताहरूले विगतमा उपेन्द्रसँग सहकार्य गरे पनि सहकार्यको यात्रा धेरै दिन चल्नसकेन। समयक्रमसँगै एकपछि अर्को गरी ती सबै नेताहरूले उपेन्द्रको साथ छोडिदिए। त्यसैको श्रृंखला हुन्, अशोक राई, प्रदीप यादव, रेणु यादव, इस्तियाक राईहरू।

पार्टी महाधिवेशनको तयारी चलिरहँदा अशोक राईहरू अलग भएर जनता समाजवादी पार्टी (जसपा) बनाए। जसपा नेपालका अध्यक्ष उपेन्द्रको ‘स्वेच्छाचारी’ स्वभावका कारण उनीसँग अरू नेताहरू टिक्न नसकेको आरोप लाग्दै आएको छ।

जसपा नेपालबाट टुक्रिएर बनेको जसपाका महासचिव इस्तियाक राई ‘उपेन्द्र यादवको पछिल्लो स्वेच्छाचारी प्रहारले यो रोग अब निको नहुने गरी फैलिइसकेको प्रस्ट भएको’ टिप्पणी गरेका छन्।

संगठन मजबुत पार्ने योगदानकर्ताहरूको अपमान गर्ने जसपा नेपालको नियति नै बनिसकेको बताउँदै उनले उपेन्द्र यादव नेता रहँदासम्म त्यहाँ संघर्ष, पद्धति र विधि–प्रक्रियाले कुनै स्थान पाउने सम्भावना नरहेको सामाजिक सञ्जालमा लेखेका छन्।

‘हामीलाई कस्तो उकुसमुकुमा पारिएको थियो र सिध्याउनै भनेर कसरी जालझेल रचिएको थियो भन्ने आधारहरू अहिले जसपा नेपालका कैयौँ साथीहरूले आफ्ना असन्तुष्टिमार्फत अभिव्यक्त गरिरहनु भएको छ,’ उनी भन्छन्,‘हामी फरि पनि भन्छौं, उपेन्द्र यादवको निरंकुशताका अगाडि कसैको संघर्ष र सामथ्र्यको सुनुवाइ हुने गुन्जाइस छैन।’

महासचिव राईले जसपा नेपालमा असन्तुष्ट बनेका नेताहरूलाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन्। ‘अधिकार प्राप्तिको आन्दोलनमा प्राण उत्सर्ग गर्ने सहिद र तिनका परिवारहरूको समेत सम्मान नगर्ने, बरू उल्टो उनीहरूलाई भजाएर निरन्तर आफ्नो स्वार्थसिद्धिमा लागेका उपेन्द्र र उनको पार्टीको पतन अवश्यम्भावी छ,’ राईले भनेका छन्।

प्रकाशित: १३ भदौ २०८१ १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =