वृद्धवृद्धाको वेदना र सम्बन्धको डोरी ‘काँचो धागो’

सुस्मिता बजगाईं १३ भदौ २०८१ १७:००
270
SHARES
वृद्धवृद्धाको वेदना र सम्बन्धको डोरी ‘काँचो धागो’

काठमाडौँ– पाँगो माटोले लिपेको आँगन। दाहिनेतिर छ मौलो र देब्रेतिर बत्ती राख्ने ठाउँ। ढुंगा छापेजस्तो देखिने बलेसी र पिँढी चढ्ने खुट्किला। रातो र कमेरो माटोले लिपेको ढुंगेघर। आडैमा छ शिव मन्दिर। यो दृश्य हो टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको नाटक ‘काँचो धागो’ को। आशान्त शर्माको परिकल्पना तथा निर्देशनमा मञ्चन भइरहेको नाटकका लेखक हुन् मुक्ति पौडेल। यो पौडेलले लखेको पहिलो नाटक हो।

नाटकको कथा सामान्य छ। बाैरादी गाउँपालिकाको कपासे डाँडामा जागिरे बुहारीको सहारामा थातथलो कुरेर बसिरहेकी छिन् ८४ वर्षीया लाउर्नी आमा। उनी कहिले बत्ती कातेर र त कहिले टपरी बुनेर समय बिताउँछिन्। अनि कहिले घरमा आइरहने एक्ले बाँदर (दिलु) सँग मनको वेदना पोख्छिन्। ठान्छिन् त्यो बाँदरसँग उनको पुरानो सम्बन्ध छ। यही कथामा अगाडि बढेको छ नाटक।

गण्डकी क्षेत्रको कुनै गाउँमा भएको घटनालाई आधार बनाएर मञ्चन गरिएको नाटकभित्र बाैरादी गाउँपालिका र कपासे डाँडाको परिवेश छन्। मकैमा सुत्ला लाग्ने समयमा लाग्ने बाँदरको आतंकलाई नाटकमा समावेश गरिएको छ। यसै परिवेशमा जोडिन्छ लाउर्नी आमा र उनको घरमा आइरहने एक्ले बाँदरको सम्बन्ध। जुन कथाले पुनर्जन्म हुन्छ भन्ने धार्मिक तथा सामाजिक मान्यतालाई स्थापित गराउन खोजेको छ। साँच्चिकै मानिसले जुनी फेर्छ त? यसको उत्तर थाहा पाउन भने नाटक हेर्नुपर्छ।

बाँदरको आतंक बढ्दै गएपछि पालिकाले प्रत्येक घरमा एउटा बन्दुक दिन्छ। एउटा बाँदर मारेपछि गाउँबाट भाग्छ भन्ने विश्वास पालिकाको छ। गाउँका ठुला (सागर दाहाल) बाँदर मार्न तम्सिएको दृश्य कलात्मक छ।

मानव जीवनलाई बिम्बका माध्यमबाट शीर्षकीकरण गरिएको नाटक मञ्चन लोकभाकामा दोहोरी गाउँदै नाचिरहेको प्रसंगबाट सुरु हुन्छ। अन्त्यमा पनि त्यस्तै संयोजन छ। ग्रामीण परिवेशले नाटकलाई मौलिक बनाएको छ।

रातभरि दोहोरी गाएर विवाह गर्ने प्रचलन जोडेर नाटकमा एकातिर सामाजिक मान्यतालाई देखाइएको छ। अर्कोतिर एक्लिएका वुद्धवृद्धा बाआमाको वेदनाले नाटक सामयिक बनेको छ।

सन्तान सहरकेन्द्रित र परदेश पलायन भइरहँदा गाउँमा वृद्ध बाआमा कसरी बसिरहेका छन् भन्ने मर्मस्पर्शी दृश्यले दर्शकको मन छुन्छ। नाटकको पात्र चिनाउन निर्देशकले उनीहरूको चरित्रलाई अगाडि सारेका छन्। दुई छोराकी आमा लाउर्नीको परिवारमा सातजना छन्। कान्छो छोराको परिवार अमेरिका बस्छ। जेठो  छोरा र नातिनी सहरमा। उनका पति दिलु (दिलप्रसाद) भने लाहुरमै सहिद भएका छन्। ढोकामा माला लगाएर झुन्ड्याइएको तस्बिरले त्यही संकेत गर्छ।

गलामा माला, चौबन्दी चोली, कम्मरमा पटुकी र लुंगीको भेषमा प्रस्तुत भएकी नाटककी मुख्य पात्र लाउर्नी (आयुश्मा मगर) कै सिंगो जीवनको कथामा समर्पित छ। एक्लिएका वृद्धवृद्धाको मनोभावना केलाउने उनको प्रयास चाहे त्यो सन्तानलाई अँगाल्न नपाउँदा होस् या बाँदरसँग आफ्नो भावना पोखिरहँदाको मर्मस्पर्शी अभिनयले दर्शक आँखाबाट कुन बेला आँसु खस्छ पत्तो पाउँदैनन्। काखमा हुर्केका छोराछोरी र नातिनी भेट्ने र नातिसँग खेल्ने उनको धोको पूरा हुन पाएको छैन। भिडियो कलमा अनुहार हेरेर सन्तान कुरिरहेकी लाउर्नीको चाहना पूरा होलान् त? यस्तै रहस्यमय कथा प्रस्तुत गरिएको नाटकले मानवीय जीवन काँचो धागोजस्तै रहेको यथार्थ प्रस्तुत गरेको छ।

बाँदरको भूमिकामा छन् लेखक आफैँ मुक्ति पौडेल। बाँदरकै रंगको वेषभूषा, मुहारको आकृति, उसले गर्ने क्रियालाप र हाउभाउमार्फत वास्तविकता देखाउने उनको अभिनय प्रशंसायोग्य छ।

बाँदरबाटै मानवको उत्पत्ति भएको भन्ने तथ्यसहित मानव र बाँदरको सम्बन्धलाई मानवेतर पात्रमार्फत स्थापित गरिएको छ। मानिसको मृत्युपछि उसले कसरी जुनी फेर्छ भन्ने हाम्रो परम्परावादी मान्यतालाई नाटकमा देखाउन खोजिएको छ।

प्रकृति, वातावरण, जीवनजन्तु र मानवीय संवेदना, भावना, स्वभाव र चाहना एक अर्कामा अन्तरसम्बन्धित छ भन्ने यथार्थलाई निर्देशकले आमजनमानसमा बुझाउन खोजेका छन्।

पश्चिम नेपालको लवज, नेपथ्यबाट गुञ्जिरहेको बाँदरहरुको चिच्याहट, ठुला (सागर दाहाल), सबिता (मीरा खड्का), गन्धर्व (कविर काफ्का)लगायत सहायक पात्रको अभिनय, समयानुकूल प्रकाश, नृत्य र संगीतको मिश्रणले नाटकलाई आस्वाद्य बनाएको छ।

नाटकको कथावस्तु र मञ्चमा उभिएको घरले गाउँको सुनसान परिवेशको चित्रण गरेको छ। साथै जागिरको सिलसिलामा लाहुर जाने र उतै सहिद हुने ग्रामीण परिवारको कथा मार्मिक छ।

युवा विदेश पलायन भइरहेको अहिलेको अवस्थामा गाउँमा एक्लिएका बाआमाको कथामार्फत पहाडी भेगको वर्तमान अवस्था अर्थात् युगीन सन्दर्भलाई नाटकले देखाएको छ। देशको विद्यमान अवस्था र समाजको ययार्थ घटनालाई अभिनयमार्फत सरल संवादशैलीमा प्रस्तुत गर्ने निर्देशक शर्माको प्रयास समय सान्दर्भिक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast