संविधान र एमालेले माओवादी ‘जनयुद्ध’ चिन्दैन : योगेश भट्टराई [अन्तर्वार्ता]

किरण पौडेल १३ भदौ २०८१ १३:२८
1.7k
SHARES
संविधान र एमालेले माओवादी ‘जनयुद्ध’ चिन्दैन : योगेश भट्टराई [अन्तर्वार्ता]

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले बुधबार प्रतिनिधिसभामा माओवादीको तत्कालीन जनयुद्धलाई ‘हिंसा’ भनेपछि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद आक्रामक बने। भट्टराईले ‘१० वर्षे हिंसा नभएको भए’ लोडसेडिङ २०६५ सालतिरै अन्त्य हुने बताएका थिए। विद्युत् व्यापारमा समेत माओवादीको ‘हिंसात्मक’ राजनीतिले असर गरेको उनको भनाइ थियो।

भट्टराईले माओवादी सशस्त्र द्वन्द्वलाई ‘हिंसा’ भनेको भन्दै माओवादी सांसदले नियमापत्ति गरे। भट्टराईले हिंसा भएको दाबी गरिरहे। संसद्‌मा आरोपप्रत्यारोप चलिरहेपछि सभामुख देवराज घिमिरेले ‘हिंसा’ शब्दमाथि छानबिन गर्न रुलिङ गरे। यसपछि पनि सामाजिक सञ्जालमा माओवादी कार्यकर्ता भट्टराईप्रति आक्रामक बनिरहेका छन्। जनयुद्धलाई ‘हिंसा’ भन्नुको कारणबारे भट्टराईसँग किरण पौडेलले गरेको संक्षिप्त कुराकानी :

तपाईँले माओवादीलाई ‘हिंसाबाट आएको’ भन्ने शब्द तपाईँले प्रयोग गरेपछि माओवादी एकाएक आक्रामक बनेका छन्। किन यस्तो शब्द प्रयोग गर्नुभयो?

यो विषय कोट्याउन आवश्यक छ जस्तो मलाई लाग्दैन। हाम्रो (नेकपा एमाले) को आधिकारिक डकुमेन्टमा माओवादीको जनयुद्धलाई हिंसा नै लेखिएको छ। यति मात्र होइन, संविधानमा पनि जनयुद्ध शब्दको प्रयोग भएकै छैन। कांग्रेस–एमालेले अहिलेसम्म जनयुद्ध शब्दलाई आधिकारिक डकुमेन्टमा लेखेका छैनन्। मैले हाम्रो डकुमेन्टमा भएको शब्द संसद्मा राखेको हुँ। यो पहिलैदेखि भनिँदै आएको विषय हो। अहिले साथीहरू (माओवादी) आक्रामक हुनुको अर्थ छैन।

‘हिंसा’ शब्द अहिल्यै उठाउनुको कारण के हो?

यो विषय कतिबेला उठाउने भन्ने कुरै होइन। हामीले हाम्रो डकुमेन्टमा लेखेका कुरा जतिबेला पनि उठाउन सक्छौँ। मैले मात्र होइन, प्रचण्डजीले पनि कतिपय ठाउँमा हामी सशस्त्र हिंसाबाट आएको भन्नुभएको छ। उहाँले भन्दा सही हुने र हामीले भन्दा गलत भन्ने हुँदैन। प्रचण्डजीले त संघर्ष दुई खालको हुन्छ भन्नुभएको छ, एउटा हिंसा र अर्को शान्ति। उहाँले हामी सशस्त्र हिंसाबाट आएको कुरा गर्नुभएको छ। के माओवादी शान्त संघर्षबाट आएको हो त? होइन नि। यसका लागि त साथीहरूले स्वीकार्नुपर्‍यो नि।

आफूलाई सहज हुँदा त्यही हिंसा गर्ने दल माओवादीसँग सहकार्र्य, एकता र गठबन्धन गरेको होइन तपाईँहरूले?

हो, हामीले माओवादीलाई स्वीकारेका हौँ। के स्पष्ट हुनुपर्छ भने हामीले शान्ति प्रक्रियापछाडिको माओवादी स्वीकारेका हौँ। मैले भनेको छु नि, १० वर्षे हिंसाको माओवादी। हो, योचाहिँ हामी अस्वीकार गर्छौँ। यो ढाकेर ढाकिने चिज होइन। अहिले पो माओवादी रूपान्तरण भयो।

तपाईँले भनेजस्तै हिजो हाम्रो माओवादीसँग एकता भयो। के त्यो माओवादी र जनयुद्धको माओवादी एउटै प्रवृत्तिको थियो त? थिएन नि। हामीले त शान्ति प्रक्रियामा सामेल माओवादीसँग एकता गरेका हौँ नि।

हिजोको माओवादी र आजको माओवादी भन्नुको मतलब?

जब हिजो माओवादी द्वन्द्वमा थियो, त्यो हिजोको माओवादी हो। जो बन्दुक देखाउँथ्यो र हिंसात्मक गतिविधिमा लागेको थियो। आजको माओवादी त्यस्तो होइन नि। हामीसँगै आएको माओवादी हो। मैले हिजोको माओवादीलाई ‘हिंसात्मक’ भनेको हुँ। आजको माओवादी हिंसाबाटै आएको हो भन्ने कुरा त हामीले आज मात्र होइन हिजै पनि भनेका हौँ। जब शान्तिप्रक्रियाको बाटो हुँदै संविधान निर्माणमा माओवादी आयो ‘त्यो रूपान्तरित माओवादी हो।’

माओवादी सशस्त्र हिंसाबाट आयो भन्नुको मतलब जनयुद्ध गलत थियो भन्न खोज्नुभएको हो?

गलत हो नि। होला आजको परिवर्तनमा माओवादीको पनि भूमिका होला। तर हिजो जसरी माओवादीले हिंसा गरेको थियो। त्यो त गलत हो भन्ने प्रस्ट छ यति भन्दाभन्दै अहिलेको माओवादीलाई म गलत भन्दिनँ नि। किनभने अहिलेको माओवादी त हामीजस्तै त हो।

हिजो माओवादीका साथीहरूले हामीलाई ‘संसदीय राजनीतिको दलदलमा भासिएको’ भनेर आरोप लगाउँथे। खोइ हामी आक्रामक बनेनौँ त। यस्ता आरोप लाग्छन्। यसलाई ‘क्रिटिकल्ली’ ल्याउन सक्नुपर्‍यो नि। किन आक्रामक हुने? अस्ति प्रचण्डको भाषणपछि पनि हामी आक्रामक भएनौँ।

प्रतिपक्षी माओवादीप्रति तपाईँ अलिक आक्रामक बन्नुको कारण?

तपाईँले अस्तिको प्रचण्डजीको भाषण सुन्नु न। त्यहाँ कति कुरा आएका छन्। त्यो भाषण त मेरो भन्दा ५० गुणा आक्रामक छ नि। उहाँ जतिको नेताले त्यस्तो बोल्न मिल्थ्यो? प्रतिपक्षी पनि चाहिँदैन। लेखा समिति पनि चाहिँदैन भन्नुको तात्पर्य के हो? उहाँले त सबैथोक गुमाइसकेँ भन्ने आशयको कुरा उठाउनुभयो।

उहाँका लागि त प्रतिपक्षी दलको नेता त अवसर हो नि। तर उहाँ सबै गुमाएको कुरा गर्दै हुनुहुन्छ। एक किसिमले भन्ने हो भने प्रचण्डजीमा पराजित मानसिकता थियो। अब फेरि यो अवस्थामा आइन्छ–आइँदैन भन्नेमा पीडा भएको जस्तो उहाँमा झल्किन्थ्यो। यसैका सन्दर्भमा थोरै मैले जबाफ दिएको हुँ। यसलाई आक्रामक बनाउनु आवश्यक छैन।

अहिले यो तपाईंको भाषणको भाषा र केपी ओलीको भाषा मिलेको देखिन्छ। तपाईं अहिले ओली निकट हुनका लागि उहाँकै भाषा प्रयोग गर्दै हुनुहुन्छ भन्ने आरोप छ नि?

म मेरो अध्यक्षको निकट छु नि। मैले कसैसँग नजिक हुन किन गाली नै गर्नुपर्थ्यो र! मैले त हाम्रो एमालेको डकुमेन्टमा जे छ त्यही शब्द प्रयोग गरेको हुँ नि। माओवादी साथीहरूले यो बुझ्नुहोस् कि, माओवादीले हिंसाकै बाटो रोजेको रोजै गरेको भए कहाँ पुग्थ्यो? विनाशमा पुग्थ्यो नि। माओवादी जब शान्तिप्रक्रियामा आयो तब त स्वीकार्य बन्यो। यो बुझ्नुपर्‍यो नि।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + one =