अहिलेको अवस्थामा निःशुल्क शिक्षा सम्भव छैन : प्रधानाध्यापक दुलाल [भिडियोसहित]

हिमाल प्रेस १३ भदौ २०८१ १५:३३
554
SHARES
अहिलेको अवस्थामा निःशुल्क शिक्षा सम्भव छैन : प्रधानाध्यापक दुलाल [भिडियोसहित]

काठमाडाैँ- ललितपुरको महालक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक नीलप्रसाद दुलालले  शुल्कबिना गुणस्तरीय शिक्षा सम्भव नहुने बताएका छन्। माैलिक हककाे रूपमा संविधानमा निःशुल्क शिक्षाकाे व्यवस्था भए पनि राज्यकाे लगानी पर्याप्त नहुँदा विद्यार्थी शुल्क तिर्न बाध्य छन्। विद्यार्थीसँग शुल्क लिएर पढाउँदा सामुदायिक विद्यालकाे नतिजामा सुधार भएकाे कतिपय प्रधानाध्यापककाे तर्क छ।

प्रधानाध्यापक दुलालले राज्यले भन्दैमा निःशुल्क शिक्षा सम्भव नहुने बताए। उनले हिमालप्रेससँगको कुराकानीमा  भने, ‘विद्यार्थीसँग शुल्क लिनैपर्ने बाध्यता छ। जबसम्म निःशुल्क शिक्षाको नारा मात्रै लगाउँछौँ तबसम्म शिक्षा गुणस्तरीय हुँदैन। केही पैसा तिरेपछि अभिभावकलाई माया पनि हुन्छ।’

उनले सामुदायिक विद्यालयमा  विषयगत शिक्षकको अभाव रहेकाे पनि बताए। ‘शिक्षक विद्यार्थी अनुपात मिलाएर कहाँ विद्यार्थी संख्या बढी छ त्यहाँ शिक्षक दरबन्दी बढाउने, विद्यार्थी घटे शिक्षक घटाउने, विद्यार्थी बढी भए शिक्षक थप्नुपर्ने प्रक्रिया शिक्षा ऐनमा व्यवस्था भयो भने ठिक हुन्छ’, दुलालले भने।

प्रधानाध्यापक दुलालले प्रारम्भिक बालविकास शिक्षक अत्यन्त न्यून पारिश्रमिकमा काम गरिरहेकाे बताउँदै केन्द्र सरकारले तलब बढाउनुपर्ने बताए। ‍‘उहाँहरूले मासिक १७ हजार तलब पाउनुहुन्छ। यो अत्यन्त न्यून हो। देशभर नै ईसीडी शिक्षकलाई समस्या छ। यसलाई सरकारले समाधान गर्नुपर्छ। नयाँ शिक्षा ऐनमा अन्य शिक्षकसरह सुविधा पाउने व्यवस्था गर्नुपर्छ,’ उनले भने।

उनले विद्यालय कर्मचारीलाई पनि राज्यले नहेरेकाे बताउँदै आफ्नाे विद्यालयमा कर्मचारी अभाव भएकाे बताए। उनले भने, ‘विद्यालय कर्मचारीहरूको अर्कै पीडा छ। कर्मचारीलाई हामीले निजी स्रोतमा राख्नुपरेको छ। सरकारले निःशुल्क शिक्षा भन्छ। हामीलाई कर्मचारीले पुग्दैन। सरसफाइ गर्न खर्च छैन। हामीले आईएलोको नियमअनुसार विद्यालय कर्मचारीलाई सेवासुविधा दिन सकेका छैनौँ।’

निवर्तमान शिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गरेपछि आत‌ंकित बनेका शिक्षकले विद्यालय समयबाहिर राजनीति गर्न पाउने तर्क गरेका छन्। यसबारे प्रधानाध्यापक दुलाल भने विद्यालय समयबाहिर राजनीति गर्न पाउनुपर्ने बताए।  ‘मानिसले कुनै न कुनै राजनीतिक विचार बोकेको हुन्छ। ऊ कतै लाग्न पाउँदैन भन्ने गलत छ। अध्ययनअध्यापनलाई व्यवस्थित गर्दै विद्यार्थीलाई कुनै समस्यामा नपारीकन राजनीतिमा लाग्नु गलत होइन। विद्यालय समयभन्दाबाहिर शिक्षकले राजनीति गर्न पाउनुपर्छ’, उनले भने।

दुलालले शिक्षकलाई बढुवामा र सेवासुविधामा विभेद गरिएकाे बताए। उनले निजामती कर्मचारीसरह सेवासुविधा दिनुपर्ने बताए। उनले भने, ‘निजामती कर्मचारी विदेश भ्रमणमा पनि जान पाउनुहुन्छ। शिक्षकलाई त्यो सुविधा छैन। शिक्षक पनि विदेश घुमेर आउँदा केही नयाँपन देख्थ्यो होला। त्यस्तो व्यवस्थापन राम्रो भइदिए हुन्थ्यो।’

प्रधानाध्यापक दुलालले विज्ञान र गणितको शिक्षक अभाव भएकाे भन्दै यसतर्फ सरकारले साेच्नुपर्ने बताए। ‘गणित र विज्ञान शिक्षक पाउन गाह्रो  छ।  १२ कक्षा उत्तीर्ण गरेपछि विद्यार्थी यहाँ बस्न चाहँदैनन्। त्यसलाई कसरी बसाउने? निजामतीमा पनि जनशक्ति कम हुने स्थिति छ। सबै कुरा बुझेर सरकारले काम गर्न सक्यो भने भविष्य राम्रो हुन्छ’, उनले भने।

दुलालले शिक्षकसँग सरकारले गरेका सहमति कार्यान्वयन गर्न अनुराेध गरे। उनले पेसागत संघसंगठनकै कारण शिक्षकले पेन्सन, ग्रेडवृद्धि, पोसाकलगायत सेवासुविधा पाएकाे बताए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =